राजनीति

विपद्को अनुभवबाट नेपालको भूगोलअनुकूल विकास मोडेल आवश्यक छ : पुष्पकमल दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले नेपालमा भएका बाढी, पहिरो र भूकम्पका घटनाबाट नेपालको भूगोलअनुकूल विकास मोडेल आवश्यक रहेको बताएका छन्। 

प्रतिनिधिसभामा बोल्दै ठूलो पहिरोका कारण भोटेकोशी थुनिँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन र भौतिक सम्पत्तिको सुरक्षाबारे ठूलो त्रास उत्पन्न भएको स्मरण गरे। आफूले सदनमा नेतृत्वदायी भूमिकामा रहेर केन्द्रदेखि स्थानीय तहसम्म, राजनीतिक दलदेखि नागरिक समाज र सुरक्षा निकायदेखि आम नागरिकसम्मलाई सहमति र विश्वासका आधारमा संकट सामना गर्ने प्रयास विगतमा गरेको बताए। 

उनले मनाङमा आएको भयानक बाढीको प्रत्यक्ष अवलोकन गरेको र मनाङ पुग्दा ८०–९० वर्षका स्थानीय वृद्धवृद्धाले आफूहरूले ५०–६० वर्षको अवधिमा त्यस्तो बाढी कहिल्यै नदेखेको बताएको स्मरण गरे। 

उनले बजाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प तथा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको समेत प्रत्यक्ष अनुभव गरेको बताए। जाजरकोटमा भूकम्प गएपछि आफू तत्कालीन प्रधानमन्त्रीको हैसियतमा झिसमिसेमै घटनास्थल पुगेको र सेना, प्रहरी तथा राजनीतिक दलका नेतासहितको टोली लिएर उद्धार तथा राहतमा प्रत्यक्ष सहभागी भएको उनले बताए। 

दाहालले विपद्का यी घटनाको प्रत्यक्ष अनुभवपछि नेपालको भूगोल र भूगर्भबारे विज्ञहरूसँग पटक–पटक छलफल गरेको बताउँदै नेपालमा बस्ती बसाउन योग्य र अयोग्य भूभाग पहिचान गर्ने तथा विकास निर्माणका लागि कस्तो मोडालिटी अपनाउने भन्ने विषयमा आफूले गहिरो अध्ययन र अन्तरक्रिया गरेको उनको भनाइ छ। 

‘यो सबै क्रममा मैले नेपालको भूगोलको अध्ययन गर्ने यहाँका भूगर्भविद्हरूसँग पटक–पटक अन्तरक्रिया गरेर नेपालको भूगोलको गहिरो अध्ययन अनुसन्धान गरेँ,’ उनले भने, ‘नेपालका बस्ती बसाउन लायक भूगोल कुन हुन्, कुन होइनन् र विकास निर्माणका निम्ति हामीले कस्तो मोडालिटी अपनाउनुपर्ने हो भन्ने विषयमा पनि धेरै अन्तरसंवाद र अन्तरक्रिया गरेपछि केही मूलभूत विषयमा म निष्कर्षमा पुगेको थिएँ।’  

उनले आफू तेस्रो पटक प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा नेपालको हिमालय पर्वत शृंखलाको विषयलाई विश्वमञ्चमा गम्भीरतापूर्वक उठाएको बताए। नेपालमा जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिम बढ्दै गएको अवस्थामा हिमालय क्षेत्रको संरक्षण र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई अन्तर्राष्ट्रिय मुद्दाका रूपमा अघि बढाउनुपर्नेमा उनले बताए।  

प्रकाशित: १७ भाद्र २०८३ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App