राजनीति

‘रास्वपा सपना देखाउन मात्र होइन, परिणाम दिन पनि जान्दछ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सपना बाँड्ने समूह मात्र नभई ठोस परिणाम दिन सक्षम राजनीतिक शक्ति भएको दाबी गरेका छन्।

चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताले प्रश्न सोध्ने मात्र नभई मुलुकका समस्याको समाधान दिन सक्ने सामर्थ्य राख्ने बताए।

पार्टी स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा बोल्दै अर्थमन्त्री वाग्लेले रास्वपा आन्दोलनको चरण पार गर्दै अब संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण भएको बताए।

उनले भने, ‘हामीले प्रमाणित गर्नुछ कि नयाँ पुस्ताले केवल विरोध गर्न मात्र जान्दैन, शासन पनि चलाउन सक्छ र सपना देखाउन मात्र होइन, परिणाम दिन पनि जान्दछ।’

डा. वाग्लेले नेपाली राजनीतिमा लामो समयदेखि सञ्चित निराशा र आक्रोशलाई चिर्न रास्वपाको उदय भएको उल्लेख गरे। इमानदार मानिसका लागि राजनीति कठिन बनाइएको र पहुँचवालाको मात्रै हालिमुहाली चल्ने गलत प्रोत्साहन संरचनाका कारण मुलुक पछाडि परेको उनको तर्क थियो।

‘हाम्रो उद्देश्य केवल सरकार फेर्नु मात्र होइन, समग्र राजनीतिक संस्कार नै परिवर्तन गर्नु हो,’ उनले भने, ‘हामी भागबन्डाको राजनीति अन्त्य गरेर योग्यता प्रणालीमा आधारित शासनतर्फ अघि बढ्न चाहन्छौं।’

प्रकाशित: ७ असार २०८३ १६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App