नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारबाट चलिरहेको छ। अध्यक्ष पुष्पकमल दाहालले ल्याएको विशेष महाधिवेशनको प्रस्तावबारे छलफल गर्न बसेको बैठकमा दाहाल पक्षीय नेताहरू प्रतिरक्षामा उत्रिँदा विपक्षी नेताहरू नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुद्दा चर्को रूपमा उठाइरहेका छन्।
यसैबिचमा बैठकमै अध्यक्ष दाहालको परिवारको महँगो र विलासी जीवनशैलीमाथि पनि नेताहरूले प्रश्न उठाएका छन्। केन्द्रीय सदस्य लक्ष्मण पन्तले सामाजिक सञ्जालमा दाहालको घडी र छोरी गंगा दाहालको ह्यान्डब्यागबारे उठिरहेको प्रश्न बैठकमै उठाएका छन्।
पन्तले लिखित रूपमै आफ्नो प्रश्न दर्ज गरेका छन्। ‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ,’ पन्तले भनेका छन्, ‘यदि मिडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मिडिया र नेपाली कांग्रेसका सांसद सुनिल शर्मा विरुद्धसमेत मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौँ।’
ती सामान उपहारका रूपमा प्राप्त भएको हुन् भने बिक्री गरेर प्राप्त रकम ‘घाइते योद्धाहरूको कोष’ मा जम्मा गर्न उनले प्रस्ताव गरेका छन्।
‘प्रधानमन्त्रीका रूपमा उपहार प्राप्त भएको हो भने त्यो सरकारी खजानामा जम्मा गरौँ । स्मरण होस् कि पाकिस्तानमा इमरान खानमाथि लागेका मुद्दाहरूमध्ये एउटा प्रमुख मुद्दा यो पनि रहेको छ कि उनले आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेका महँगा उपहार बेचेर निजी लाभ प्राप्त गरे,’ पन्तले भनेका छन्।
प्रकाशित: १० आश्विन २०८२ १४:०७ शुक्रबार