राजनीति

लुम्बिनी प्रदेश: सत्ता समीकरणमा हलचल

दलहरूको दाउपेचले अस्थिर प्रदेश सरकार

नेपाली कांग्रेसले प्रदेश तहमा सत्ता समीकरण फेरबदल गर्ने तयारी गरेपछि लुम्बिनी प्रदेशको वर्तमान सत्ता समीकरण पनि अन्योलमा परेको छ। कांग्रेस शीर्ष तहबाट यो प्रदेश सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ।

एमाले नेतृत्वको प्रदेश सरकारमा कांग्रेसका पाँचजना मन्त्री छन्। बिहीबार कांग्रेसका सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको थियो तर बिहीबार सत्ता गठबन्धनको संकट टरेको छ। कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा नबुझाएपछि सत्ता गठबन्धनमा बिहीबार केही बदलाब  हुन सकेन।

बिहीबार कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलको बैठक बोलाउने तयारी गरिएको थियो तर बैठक बस्न सकेन। ‘बिहीबार सरकारमा रहेका मन्त्रीहरूको फिर्ता तथा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न संसदीय दलको बैठक बस्ने भनिएको थियो’, एक सांसदले भने, ‘तर बैठक बस्न सकेन, सरकारका बारेमा के गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भने नेताहरूका बिचमा भइरहेको छ।’

बिहीबार संसदीय दलको बैठक बस्ने भनिए पनि बस्न नसकेपछि यसबारे छलफल शुक्रबार गर्ने तयारी कांग्रेसको छ। शुक्रबार दलको बैठक बसेर ठोस निर्णय लिने तयारीमा कांग्रेस रहेको स्रोत बताउँछ। बैठक बस्न नसकेपछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका थिए, तर उक्त छलफलमा सबै मन्त्री उपस्थित नभएपछि छलफलले टुंगो लगाउन सकेन।

उक्त छलफलमा कांग्रेसबाट सरकारमा सहभागी आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने र सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना मात्रै सहभागी भएका थिए।

सहरी तथा खानेपानीमन्त्री रोज राणा र वनमन्त्री देवकरणप्रसाद कलवार छलफलमा अनुपस्थित रहे। ‘सरकारमा सहभागी सबै मन्त्री पनि उपस्थित हुनुभएन’, ती सांसदले भने, ‘यसर्थ पनि छलफलले सार्थकता पाउन सकेन।’

यता सरकारको नेतृत्व रहेको नेकपा एमाले भने कांग्रेसको निर्णयलाई कुरेर बसेको छ। कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएर सरकारबाट फिर्ता भए एमालेले सत्ता नेतृत्व जोगाउन थप रणनीति बनाउने तयारी गरेको छ। ‘अहिल्यै कांग्रेससँगको गठबन्धन तोडेर फरक रणनीतिमा लाग्ने मनसायमा मुख्यमन्त्री हुनु हुन्न’, मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘कांग्रेसले लिने निर्णयका आधारमा पार्टीले आफ्नो रणनीति तय गर्नेछ।’

सरकारबाट बाहिरिने तयारी गरेको कांग्रेसले यो प्रदेशमा सरकारमा सहभागी हुने वा प्रतिपक्षको भूमिकामा रहने भन्ने निक्र्योलसमेत गर्न सकेको छैन। उसले सरकारमा आफ्नो नेतृत्व लिएर एमालेसँगै गठबन्धनमा रहने वा नेकपासँग सत्ता साझेदार गर्ने भन्ने यकिन गर्न नसकेका कारण पनि कांग्रेसभित्र अन्योल बढेको छ। ‘पार्टीले सरकारबाट फिर्ता हुनुको कारण र आगामी रणनीति निर्क्याेल गरे सहज हुने थियो’, सरकारमा सहभागी एक मन्त्रीले भने।

प्रकाशित: १ श्रावण २०८३ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App