नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन्। उनले सरकारले आलोचनाबाट बच्न यस्तो कदम चालेको आरोप लगाउँदै निर्णय तुरुन्त सच्याउन माग गरेका छन्।
बिहीबार सरकारले फेसबुक लगायतका दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेपछि आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै डा. कोइरालाले उक्त निर्णयलाई ‘घोर आपत्तिजनक’ भनेका हुन्।
उनले सरकार आफ्नो काममा असफल भएपछि जनताको आवाज दबाउनतर्फ लागेको टिप्पणी गरे। ‘जनचाहना र आफ्नै प्रतिबद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ,’ डा. कोइरालाले लेखेका छन्।
नेता कोइरालाले य; निर्णयले हजारौँ नेपालीको रोजीरोटी खोसिने भन्दै सरकारको विवेकमाथि पनि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा आधारित भएर स-साना व्यवसाय र उद्यम गरिरहेका नागरिकहरूमा पर्ने असरबारे सरकारले सोच्न नसकेको उनको भनाइ छ।
‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ?’ उनले प्रश्न गरेका छन्।
उनले प्रतिबन्धको सट्टा नियमनको बाटो अपनाउन सरकारलाई आग्रह गरे। ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु,’ डा. कोइरालाले भनेका छन्।
प्रकाशित: १९ भाद्र २०८२ २०:०९ बिहीबार



