राजनीति

आइजीपीमाथि फेरि खनिए खगेन्द्र, भने- प्रहरी हेर्डक्वार्टर बिचौलियाको कब्जामा पुग्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको हेडक्वार्टर निश्चित बिचौलियाको कब्जामा पुगेको आरोप लगाएका छन्।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरीको स्रोत-साधन खरिदमा अनियमितता भइरहेको भन्दै प्रहरी नेतृत्वमाथि प्रश्न उठाएका हुन्।

समितिको यसअघिको बैठकले १५ दिनभित्र खरिदसम्बन्धी सम्पूर्ण कागजात बुझाउन निर्देशन दिएको थियो। तर, ती कागजात नबुझाई उल्टै प्रहरीले फेरि करोडौंको नयाँ टेन्डर आह्वान गरेको भन्दै सांसद सुनारले समिति सभापतिको ध्यानाकर्षण गराए।

उनले खरिद प्रक्रियामा भएका बदमासीको हिसाबकिताब समितिले खोज्नुपर्ने माग राखे। आफूले उठाएका प्रश्नबाट कसैको मानमर्दन भएको भए अदालत जान उनले चुनौती दिएका छन्।

खरिद प्रक्रियाको अनियमिततामा आफूले उठाएका प्रश्नमा आफू अडिग रहेको सुनाउँदै सुनारले भने, ‘कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टी अदालत छ, गएर मुद्दा हाल्नुहोला। म जुनसुकै कठघरामा उभिएर जवाफ दिन तयार छु।’

आफ्नो बोल्ने शैलीलाई लिएर उठेका प्रश्नको पनि उनले जवाफ फर्काए। भ्रष्टाचारको छानबिन भैलो खेलेको शैलीमा नरम रूपमा हुन नसक्ने भन्दै उनले आफ्ना प्रश्न सधैँ निर्मम र गहिरो हुने दाबी गरे।

समितिमा एक सांसदले अर्कोलाई धम्क्याउने वा घेराबन्दी गर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ छ।

जनताबाट निर्वाचित सांसदको हैसियतले आफूले सार्वभौम अधिकार प्रयोग गरेर भ्रष्टाचारविरुद्ध बोल्ने सुनारले बताए। ‘मेरो वक्ता शैली अस्वाभाविक र अमर्यादित लाग्यो भने सभापतिले आजै घर पठाइदिनुहोला, म दैलेखको नाइट बस चढ्न तयार छु,’ उनले बैठकमा भने, ‘तर, यो ठाउँमा बस्ने बेलासम्म मेरो प्रश्न निर्मम हुन्छ। कसैको चाकडी गर्न म यहाँ आएको होइन।’

प्रकाशित: ४ भाद्र २०८३ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App