राजनीति

भारतीय राजदूत श्रीवास्तव दिल्लीमा

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक मिति तय नहुँदै नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव दिल्ली पुगेका छन् ।  

प्रधानमन्त्री  ओलीको भारत भ्रमणको तयारी स्वरूप राजदूत श्रीवास्तव दिल्ली गएको बताइएको छ । यद्यपी उनले नेपालमा भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत जानकारी गराइने भारतीय राजदूतावास स्रोतले जनाएको छ ।  

‘प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र नेपालस्थित विभिन्न मन्त्रालयहरुले गरेको तयारीको विषयमा जानकारी दिन उहाँ दिल्ली जानु भएको हो’, दूतावास स्रोतले भन्यो । यद्यपी प्रधानमन्त्री ओलीको भारत भ्रमणको समयतालिका अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक भएको छैन ।  

प्रधानमन्त्री ओली भदौ १३ गते चीन भ्रमणमा जाँदैछन् । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेका हुन् ।  

सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ । यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँनेछन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गर्दैछन् भने भारतीय प्रधानमन्त्री मोदसँग पनि साइडलाइन वार्ता गर्नेछन् ।  

भारत र चीनले नेपालको भूमि लिपुलेक पासबाट व्यापार सुरु गर्ने सहमतिविरुद्ध नेपालमा विभिन्न राजनीतिक दलहरुले भारत र चीन दुवैको विरोध गरिरहेका छन् । लिपुलेक पासबाट व्यापार पुनः सुरु गर्ने भारत र चीनको सहमतिप्रति असहमति जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पनि पठाइसकेको छ ।

प्रकाशित: ८ भाद्र २०८२ १५:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App