प्रधानमन्त्री सुशीला कार्कीले हालैको निर्वाचन परिणामले देशमा युवाको प्रभाव र परिवर्तनको चाहना स्पष्ट देखिएको टिप्पणी गरेकी छन्। उनका अनुसार अहिले देखिएको मतपरिणाम युवाको लहर र जेन–जि आन्दोलनको असरको रूपमा बुझ्न सकिन्छ।
प्रधानमन्त्री कार्कीले चुनावी परिणाम आफूले सोचेभन्दा फरक आएको बताइन्। विशेषगरी केपी शर्मा ओली पराजित हुन सक्छन् भन्ने कल्पना नगरेको उनको भनाइ थियो। “ओलीजीको ३०–४० वर्ष राजनीति गरेको ठाउँ, उहाँका इष्टमित्र र आधार क्षेत्र भएकाले उहाँ हार्नुहोला भन्ने मैले सोचेको पनि थिइनँ,” उनले भने।
अन्तिम भेटमा आफूले ओलीलाई राजनीति कस्तो हुन्छ भन्ने उदाहरण दिँदै परिवारकै सदस्यहरू कांग्रेस भए पनि अन्ततः भोट दिने बेलामा आफ्नै पार्टीलाई मत हाल्ने गरेको अनुभव सुनाएको पनि उनले उल्लेख गरे। “त्यस्तो होला भन्ने मलाई पनि लागेको थियो,” उनले भनिन्। प्रधानमन्त्री कार्कीले जनताले दिएको मतलाई सबै दलले सम्मान गर्नुपर्नेमा जोड दिँदै रास्वपालाई प्राप्त मतको सम्मान हुनुपर्ने र अन्य दलले पाएको मतलाई पनि नयाँ दलले सम्मान गर्नुपर्ने धारणा राखिन्।
“राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ। तर निर्वाचनपछि जित्नेले अल्पमतलाई पनि बेवास्ता गर्नु हुँदैन,” उनले भनिन्। रासससँगको कुराकानीमा उनले पुराना पार्टीलाई नयाँ शक्तिले सम्मान गर्नुपर्ने र सत्तापक्षले गल्ती गरेमा प्रतिपक्षले त्यसको आलोचना गर्नुपर्ने पनि बताउँदै राजनीति अन्ततः सामाजिक सेवाको माध्यम भएको उल्लेख गरिन्।
भारतमा इन्दिरा गान्धी पराजित भएर पनि पछि पुनः जितेको प्रसंग स्मरण गर्दै उनले भनिन्, “नेपालका परिपक्व नेताहरूलाई पनि जनताले सजिलै बिर्सिँदैनन्।”
उनका अनुसार अहिले एउटा राजनीतिक लहर देखिएको भए पनि भविष्यमा अर्को लहर आउन सक्ने सम्भावना पनि रहन्छ।
यो पनि पढ्नुहोस्
‘पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन’प्रकाशित: १ चैत्र २०८२ १५:५५ आइतबार



