प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो छोटो कार्यकालमा न्यायालयको गरिमा उच्च बनाउन निरन्तर प्रयास गरेको बताएका छन्।
गृह जिल्ला उदयपुरको सदरमुकाम गाईघाटमा बिहीबार नेपाल बार एसोसिएसनले आयोजना गरेको मेलमिलापकर्ताहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आफ्नो कार्यकाल गर्व गर्न लायक रहेको दाबी गरेका हुन्।
न्याय क्षेत्रको यात्रामा आफूले सधैँ सुशासन, पारदर्शिता र निष्पक्ष न्याय वितरणमा जोड दिएको उनले स्मरण गरेका छन्।
सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि न्यायालयलाई सशक्त, न्यायमैत्री, सर्वसुलभ र वस्तुपरक बनाउने प्रयास गरेको उनले औंल्याए। उनले थपे, ‘न्यायालय स्वच्छ र न्यायमूर्तिहरूको व्यवहार स्वस्थ भए मात्र समाजबाट अपराध र विकृति नियन्त्रण गर्न सकिन्छ।’
अन्तरक्रियामा प्रधानन्यायाधीश राउतले अदालत, बार, कानुन व्यवसायी र मेलमिलापकर्ताबीचको सहकार्य र समन्वय अत्यावश्यक रहेको प्रस्ट पारे।
समयमै मध्यस्थता नहुँदा मुद्दामामिला लम्बिएर सामाजिक तथा आर्थिक क्षति हुनुका साथै समाजमा हिंसा बढ्ने भएकाले मेलमिलापमा जोड दिनुपर्ने उनले बताए।
कार्यक्रममा सहभागी अधिवक्ता देवराज कोइरालाका अनुसार प्रधानन्यायाधीश राउतले कानुनी राज्यको वकालत गर्दै कम क्षतिमा पीडितलाई न्याय दिलाउने विषयमा केन्द्रित हुन सरोकारवालालाई आग्रह गरेका थिए।
आफू अहिले सेवाको अन्त्यतिर आइपुगेको बताउँदै उनले न्यायालय सुधार र निष्पक्ष न्याय वितरणमा सँगालेको अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न व्यावहारिक पहल गरिरहेको बताए।
गत असोज २० गते प्रधानन्यायाधीशको शपथ लिएका राउत ६५ वर्षे उमेर हदका कारण सेवा निवृत्त हुँदै छन्।
जागिरको उत्तरार्धमा गृह जिल्लाको न्यायिक यथार्थ बुझ्न उदयपुर आइपुगेका उनी बिहीबार दिउँसो कटारी नगरपालिकास्थित एक विद्यालयको वार्षिकोत्सवमा समेत सहभागी भएका थिए।
जिल्ला सुरक्षा स्रोतका अनुसार शुक्रबार उनी कटारीकै त्रिवेणी माध्यमिक विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका छ।
कटारी-१० सोरुङछविसेमा जन्मिएका राउतले जागिरको सिलसिलामा देशका विभिन्न भाग र काठमाडौंमा रहे पनि आफ्नो जन्मस्थानको विकास निर्माण र सामाजिक सेवामा विशेष ध्यान दिँदै आएका छन्।
प्रकाशित: २८ फाल्गुन २०८२ २२:०५ बिहीबार