निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मंगलबारसम्म नौ राजनीतिक दल र एक हजार २१३ जना प्रत्यक्ष उम्मेदवारले बैंक खाता खोलेका छन्।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जनाले मात्र निर्वाचन प्रचारप्रसारका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका हुन्।
निर्वाचनमा भाग लिएका ६८ राजनीतिक दलमध्ये हालसम्म नौ दलले मात्र खाता खोलेका छन्। खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।
निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूले लिने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न, निर्वाचन कानुनले तोकेको खर्च सीमा पालना गराउन तथा प्रभावकारी अनुगमन सुनिश्चित गर्न बैंक खाता खोल्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार आयोगमा दर्ता भई समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिएका सबै दल, दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन प्रचारप्रसारसम्बन्धी आम्दानी–खर्च कारोबार अनिवार्य रूपमा सोही खातामार्फत गर्नुपर्ने व्यवस्था छ।
प्रकाशित: १२ फाल्गुन २०८२ १२:२९ मंगलबार



