राजनीति

रोस्ट्रममा उभिएर गृहमन्त्रीले भने- निर्मला प्रकरणबारे प्रश्न नसोध्नु, म उत्तर दिन चाहँदिन

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणबारे राष्ट्रिय सभामा सोधिएको प्रश्नको सोझो जवाफ दिनुको सट्टा गृहमन्त्री सुधन गुरुङले सांसदलाई नै प्रतिप्रश्न गरेका छन्।

बिहीबारको प्रश्नोत्तर कार्यक्रममा रोस्ट्रम उक्लिएका गृहमन्त्री गुरुङले निर्मलाको विषय संसद्मा पुनः नउठाउन सांसदहरूलाई आग्रह समेत गरे।

नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णु बहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको जघन्य हत्या प्रकरणमा सरकारले दोषी पत्ता लगाउन नसक्नुको कारणबारे गृहमन्त्रीसँग स्पष्टीकरण मागेका थिए। तर, गृहमन्त्री गुरुङले अनुसन्धानको प्रगति विवरण दिनुको साटो ‘तपाईंहरू सत्तामा हुँदा किन नगर्नुभएको ?’ भन्दै उल्टै प्रश्नकर्ता सांसदतर्फ प्रश्न सोधेका थिए।

सांसद विश्वकर्माले लामो समय बितिसक्दा पनि दोषी पत्ता नलाग्नु राज्यको असक्षमता वा उदासीनता के हो भन्दै सरकारको धारणा मागेका थिए। साथै, वर्तमान सरकार गठन भएको साढे चार महिना भइसक्दा पनि छानबिन समिति निष्कर्षमा नपुग्नु दुःखद भएको भन्दै निर्मलाले कहिले न्याय पाउँछिन् भनी प्रश्न गरेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले संसद्मा बारम्बार यो विषय उठाउनु भनेको पीडित आमाको घाउ कोट्याउनु सरह भएको टिप्पणी गरे। ‘तपाईंको कोही मान्छे बित्दा दिनका दिन सम्झाउँदा मनमा शान्ति हुन्छ र ?’ भन्दै गृहमन्त्रीले प्रश्न गरे, ‘यो सेन्सिटिभ विषयलाई संसद्‌मार्फत आमाको घाउ कोट्याइरहने कि सूक्ष्म अनुसन्धान गरेर रिजल्ट दिने ?’

गृहमन्त्री गुरुङले राष्ट्रिय सभा र प्रतिनिधि सभामा अब निर्मला पन्तको मुद्दा नउठाउन सांसदहरूसँग आग्रह गरे। उनले थप जानकारी चाहिएमा संसद्‌मा सार्वजनिक रूपमा प्रश्न उठाउनुको सट्टा व्यक्तिगत रूपमा आफूलाई भेटेर सोध्न सुझाएका थिए।

मन्त्रीको जवाफपछि सांसद विश्वकर्माले नियमावली अनुसार पूरक प्रश्न सोध्दै संसदीय प्रणालीमा प्रश्न सोध्न पाउनु सांसदको अधिकार र उत्तर दिनु मन्त्रीको बाध्यता भएको स्मरण गराएका थिए। तर, गृहमन्त्री गुरुङले पूरक प्रश्नको उत्तर दिन स्पष्ट रूपमा इन्कार गर्दै भने, ‘म यसको उत्तर दिन चाहँदिन।’

गृह मन्त्रालयले हत्या, हिंसा र बलात्कार जस्ता अपराधको चरणबद्ध तथा सूक्ष्म अनुसन्धान गरिरहेको र शान्ति सुरक्षा कायम गर्न सरकार निरन्तर लागिपरेको दाबी भने गृहमन्त्रीले संसद्‌मा गरेका छन्।

प्रकाशित: २१ श्रावण २०८३ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App