राजनीति

सरकारका प्रवक्ता भन्छन्: एमालेले दल दर्ता गरिसक्यो, अब निर्वाचन हुनेमा शंका रहेन

सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री जगदीश खरेलले अब निर्वाचन हुनेमा आशंका नरहेको दाबी गरेका छन्। मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेपछि पत्रकारले सोधेको प्रश्नको उत्तरमा मन्त्री खरेलले यस्तो दाबी गरेका हुन्। 

नेकपा एमाले लक्षित गर्दै उनले भने, ‘जुन राजनीतिक दलले निर्वाचनमा आउँदैन कि भनेको थियो, त्यो पनि आजको दिनबाट निर्वाचन आयोगमा दल दर्ता भइसक्यो।’ अब राजनीतिक दलबाट निर्वाचनको वातावरण बनिसकेको उनले बताए। 

निर्वाचन आयोगले पनि धमाधम आफ्नो काम अगाडि बढाएको उनले बताए। ‘राजनीतिक दलहरूले महत्त्वपूर्ण प्रायः सबै राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भइसकेका छन्,’ उनले भने, ‘निर्वाचन प्रयोजनका लागि दलहरूले दल दर्ता गरिसके, हामी निर्वाचनको विरोधी होइन भनेका छन्, सुरक्षाको वातावरण बनाऊ भनिरहेका छन्।’ दलहरूले गाउँ–टोलदेखि जिल्ला हुँदै निर्वाचनलक्षित गतिविधि सुरु गरिसकेको पनि उनले दाबी गरे। ‘त्यसैले अब निर्वाचनबारे आशंका रहेन,’ मन्त्री खरेलले भने। 

आठ लाख मतदाता नामावली पनि दर्ता भइसकेकाले जनता पनि निर्वाचनमा होमिइसकेको उनले दाबी गरे। ‘सुरक्षा योजना तयारी भइसकेको छ। निर्वाचन सुरक्षा योजना बनाएर सुरक्षा निकायले पठाइसके। त्यसैले चुनावको वातावरण झन् स्पष्ट र प्रगाढ हुँदै गयो,’ उनले भने।  

प्रकाशित: ९ मंसिर २०८२ १५:३२ मंगलबार