राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले बलात्कार तथा हत्याका घटना, सर्वोच्च अदालतको सुरक्षा र सडक तथा पुलको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद पूजा चौधरीले तीन वर्षीया बालिकाको बलात्कार तथा हत्या घटनामा संलग्न व्यक्तिलाई बाल सुधार गृहमा पठाउनु र अन्यलाई धरौटीमा छाड्नु न्यायोचित नभएको बताइन्। उनले आपराधिक मनोवृत्ति भएका व्यक्तिलाई समाजमा खुला रूपमा छाड्न नहुने भन्दै घटनाका दोषीलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरिन्।
सांसद रुक्मिणी कोइरालाले पछिल्लो समय देशका विभिन्न भागमा महिला हिंसा तथा बलात्कारका घटना दोहोरिरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइन्। उनले यस्ता घटना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिन्।
सांसद विष्णुबहादुर विश्वकर्माले भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोडको घटनाप्रति असन्तुष्टि जनाउँदै अदालतको सुरक्षा व्यवस्था चुस्त बनाउन माग गरे। उनले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरे।
त्यस्तै, सांसद कृष्णप्रसाद अधिकारीले बाटो, घाटो, पुल तथा सडकको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। रसुवाका विभिन्न गाउँपालिकामा सडक तथा यातायातको अभावका कारण स्थानीयले सास्ती भोगिरहेको उल्लेख गर्दै उनले तत्काल सडक मार्ग सुचारु गर्न माग गरे।
उनले सडक मार्ग अवरुद्ध हुँदा आवश्यक खाद्य सामग्री, औषधि लगायत उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको भन्दै प्रभावित क्षेत्रमा सहज आपूर्ति व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरे।
प्रकाशित: २ आश्विन २०८३ १३:४९ शुक्रबार



