विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका लागि सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकतामा राखेको बताएका छन्।
धवलागिरि गाउँपालिका समाजले काठमाडौंमा आयोजना गरेको ‘समृद्ध म्याग्दीमा जनप्रतिनिधिहरूको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै पुनले नेपालमा आवश्यक औजार, उपकरण, सामग्री तथा वस्तु उत्पादन गरी रोजगारी सिर्जना र आयात घटाउन अनुसन्धानमा जोड दिइएको बताए।
ओझेलमा परेको अनुसन्धान र आविष्कारको क्षेत्रमा सरकारले प्राथमिकता दिएको बताउँदै पुनले देशलाई आवश्यक जनशक्ति उत्पादन गर्ने र दक्ष जनशक्तिलाई अवसरका लागि विदेश पलायन हुन नदिने गरी मन्त्रालयले कार्यक्रम अघि बढाएको बताए।
कार्यक्रममा धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौंमा बसोबास गर्ने म्याग्दीवासीबीच जिल्लाको समृद्धिका लागि गर्न सकिने कामबारे छलफल भएको थियो। पुनले कृषिको आधुनिकीकरण, जलविद्युत्, पर्यटन र पशुपालनमार्फत म्याग्दीको आर्थिक विकास गर्न सकिने बताए।
म्याग्दीमा प्रमुख सामाजिक समस्याका रूपमा रहेको मेलाजात्रालाई व्यवस्थित नगरेसम्म शिक्षा क्षेत्रमा सुधार गर्न कठिन हुने पुनले बताए। टोलटोलमा लगातार मेला आयोजना हुँदा किशोरकिशोरीको पढाइ प्रभावित भइरहेको भन्दै उनले विदेशबाट ठूलो रकम प्रायोजन लिएर गाउँमा हप्तौँसम्म मेला लगाउने प्रवृत्ति हटाउनुपर्ने बताए।
संघीय सरकारले चालु आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाको मुदीदेखि गुर्जा हुँदै ढोरपाटनको जलजला तथा अन्नपूर्ण गाउँपालिकाको दोवादेखि सोवाङ धुरी हुँदै रघुगंगा गाउँपालिकाको चिमखोला जोड्ने दुई नयाँ पदमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको पुनले जानकारी दिए।
त्यस्तै, बेनी–दरबाङ सडकको फापरखेत र बेनी–जोमसोम सडकको सिरुवारीमा पहिरो नियन्त्रणको काम वर्षा सकिएलगत्तै सुरु हुने उनले बताए। म्याग्दीका रणनीतिक महत्वका सडक आयोजनालाई संघीय सरकारले प्राथमिकता दिने उनको भनाइ थियो।
पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवंगत भएका म्याग्दीमा जन्मिएका पर्वतारोही निर्मल पुर्जासहित अन्य पर्वतारोहीको सम्मानमा सरकारले उचित निर्णय गर्ने पुनले बताए।
कार्यक्रममा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलगायतले म्याग्दीका विकास सम्भावना र आवश्यकताबारे मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: २३ श्रावण २०८३ २२:०२ शनिबार



