नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई परिवर्तनकारी शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीको दोस्रो विशेष केन्द्रीय महाधिवेशनको बन्द सत्रमा सोमबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले भनेका छन्, 'बदलिएको समयको कांग्रेसका लागि: बदल्नुपर्ने देशका लागि' भन्ने नाराका साथ आयोजित यो महाधिवेशनमा थापाले जेनजी विद्रोहलाई आधार मानेर पार्टीको नीति, नेतृत्व र संरचनामा आमूल परिवर्तनको आवश्यकता औँल्याएका छन्।
महाधिवेशनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भनेका छन्, ‘नेपालको राजनीतिमा जेनजी विद्रोहले एउटा नयाँ मोड ल्याएको छ। यो विद्रोह युवाहरूको आक्रोश मात्र होइन, देशको आर्थिक विकास, सुशासन र जवाफदेहिताको माग हो।’ उनले पार्टीको इतिहास स्मरण गर्दै २००७ सालको जनक्रान्तिदेखि २०६२/६३ को आन्दोलनसम्म कांग्रेसले नेतृत्व गरेको परिवर्तनहरूको चर्चा गरेका छन्।
प्रस्तावमा विशेष महाधिवेशनको वैधानिकता र आवश्यकताबारे विस्तृत व्याख्या गरिएको छ। पार्टी विधानको धारा १७ अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको मागमा यो महाधिवेशन बोलाउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘यो महाधिवेशन पार्टीभित्रको परिवर्तनको वैधानिक आधार हो। हामीले जनताको विश्वास बढाउने र देशलाई सही दिशामा डोर्याउने जिम्मेवारी बोक्नुपर्छ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकालाई गौरवका रूपमा उल्लेख गर्दै पनि डेलिभरीमा भएको असफलताले जनतामा निराशा फैलिएको स्वीकार गरेका छन्।
साथै, सत्ता सञ्चालनमा भएका कमजोरीहरू, भागबन्डा राजनीति र दलहरूबिचको कारोबारले जनतामा राजनीतिप्रति वितृष्णा बढेको उनको टिप्पणी रहेको छ।
























प्रकाशित: २८ पुस २०८२ १३:४२ सोमबार



