नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आगामी दिशा र सुधारका विषयमा कार्यकर्ता तथा सुभेच्छुकहरूसँग सुझाव मागेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गर्दै उनले पार्टीभित्र आवश्यक नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारबारे सुझाव दिन सबैलाई आग्रह गरेका हुन्।
महामन्त्री पौडेलले हालै सम्पन्न आम निर्वाचन २०८२ को परिणामपछि पार्टीले गम्भीर समीक्षा गर्दै भावी रणनीति तय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, पुष महिनामा सम्पन्न विशेष महाधिवेशनले दिएको कार्यदिशालाई समेत आत्मसात गर्दै अब नियमित महाधिवेशन छिट्टै आयोजना गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “आम निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। विशेष महाधिवेशनले दिएका निर्देशनलाई समेत ध्यानमा राख्दै अब पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रीय कार्य समितिको बैठक बस्दैछ।”
यही सन्दर्भमा उनले कांग्रेसभित्र सुधारका लागि आवश्यक नीतिगत, संगठनात्मक र व्यवहारिक पक्षबारे सुझाव दिन समर्थक तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्। प्राप्त सुझावलाई पार्टीले गम्भीर रूपमा अध्ययन गरी आवश्यक निर्णयमा समावेश गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
पार्टीको भावी रणनीति निर्माण र संगठन सुदृढीकरणका लागि सुझाव पठाउन इच्छुकहरूले कांग्रेसको आधिकारिक इमेल info@nepalicongressparty.org.np वा अन्य सम्पर्क माध्यममार्फत आफ्नो धारणा पठाउन सक्ने जनाइएको छ।
नेपाली कांग्रेसले हालैको निर्वाचनको समीक्षा गर्दै संगठनात्मक सुधार र आगामी राजनीतिक रणनीति तय गर्ने तयारी गरिरहेको छ।
प्रकाशित: १ चैत्र २०८२ १९:११ आइतबार



