नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार वर्षको छोटो अवधिमा प्राप्त गरेको जनसमर्थन लोभलाग्दो रहेको बताएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाको साङ्गठनिक सफलताको प्रशंसा गरे।
सभापति थापाले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई शुभकामना व्यक्त गरे।
थापाले विगतका जनमतहरू अहङ्कारका कारण दुर्घटनामा परेको स्मरण गराउँदै रास्वपालाई सचेत रहन आग्रह गरे। उनले भने, ‘विगतमा जनमतको जगमा अहङ्कार पलाउँदा ठूला-ठूला दुर्घटनाहरू भए, जसले मुलुकको धेरै समय खेर गयो। रास्वपालाई प्राप्त जनमतको कदर होस् र यो दुर्घटनामा नपरोस् भन्ने मेरो चाहना छ।’
राजनीतिक दलहरूका बीचमा दुश्मनको जस्तो व्यवहार हुन नहुनेमा जोड दिँदै थापाले स्वस्थ प्रतिस्पर्धाको वकालत गरे। ‘हामी प्रतिस्पर्धी हौँ, दुश्मन होइनौँ,’ उनले भने, ‘कांग्रेस आफू सफा हुन चाहन्छ, तर अरूलाई फोहोर देखाएर मात्र आफू सफा देखिने बाटो हामी रोज्दैनौं।’
संसदमा कांग्रेसको भूमिका रचनात्मक हुने बताउँदै थापाले रास्वपा नेतृत्वको सरकार वा गतिविधिलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए। उनले भने, ‘हामी संसदमा सरकारको गलत काममा औँला पनि ठड्याउँछौँ र राम्रो काम गर्दा थपडी पनि बजाउँछौं। कांग्रेसले आफ्नो जिम्मेवारी संसदमै निभाउनेछ।’
प्रकाशित: ७ असार २०८३ १७:३२ आइतबार


-600x400.jpg)
