प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ठूला नदीहरूलाई जलमार्गको रूपमा विकास गरी समुद्रसम्म सीधा पहुँच स्थापना गर्न सकिने महत्वाकांक्षी योजना सुनाएका छन्।
उनले कोशी, गण्डकी र कर्णाली जस्ता नदीहरूलाई प्रयोग गरेर पानीजहाजमार्फत नेपाललाई समुद्रसँग जोड्ने सपना साकार पार्न सकिनेमा जोड दिए।
कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकासका लागि परम्परागत सोचभन्दा माथि उठेर नयाँ र ठूला परियोजनाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
‘हामीले कुनै नयाँ कुरा गर्यौं भने, जस्तै रेल चलाउँछौं भन्यो भने, ‘ए हावा कुरा हो, रेल कहाँ चल्छ नेपालमा ?’ भन्छन्,’ ओलीले आलोचकहरूप्रति व्यङ्ग्य गर्दै भने। उनले अहिले जनकपुरमा रेल चलिरहेको उदाहरण दिँदै दृढ इच्छाशक्ति भए असम्भव केही नभएको बताए।
‘त्यसैगरी, हामी नदीको बाटोबाट समुद्रसम्म पुग्न सक्छौँ,’ उनले थपे, ‘हाम्रा नदीहरू कोशी, गण्डकी, कर्णालीबाट गंगामा पुग्न सकिन्छ। गंगामा पुगेपछि यी सबै नदी मिसिएको विशाल गंगाबाट हामी कलकत्ता जान सक्छौँ र त्यहाँबाट गहिरो समुद्रतर्फ जान सक्छौँ।’
उनले जलमार्गको विकासले नेपालको व्यापार तथा पारवहनलाई सस्तो र सहज बनाउने विश्वास व्यक्त गरे। ‘पानीजहाजका काम छिटो र सस्तोमा गर्न सकिन्छ,’ उनले सुनाए।
प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि जलस्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताउँदै सुनकोशी-मरिन र भेरी-बबई डाइभर्सनजस्ता ठूला आयोजनाहरूले तराईमा सिँचाइ र विद्युत् उत्पादनमा क्रान्ति ल्याउने दाबी गरे।
उनले यस्ता विकासका सपना साकार पार्न सबैलाई एकजुट हुन आग्रह गर्दै देश विकासका लागि आफू र आफ्नो सरकार प्रतिबद्ध रहेको बताए।
प्रकाशित: १३ श्रावण २०८२ १८:४४ मंगलबार