फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका सबै मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगी सकेका छन् ।
निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सामग्रीसहित उनीहरूलाई सोमबारदेखि नै सम्बन्धित कार्यक्षेत्रमा खटाइएको हो । मोरङका मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका ३ सय ६ वटा मतदानस्थल र ८ सय ८८ वटा मतदान केन्द्रमा टोली पुगिसकेको छ । कर्मचारीहरुले सम्बन्धित केन्द्रमा पुगेर निर्वाचनका लागि आवश्यक तयारी गर्ने छन् ।
आगामी बिहीबार मतदान हुने छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ५२ प्रकारका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ गएका छन् ।
निर्वाचनका लागि मोरङमा ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृत गुरुङका अनुसार जिल्लाभर ८ सय ८८ जना मतदान अधिकृत, ८ सय ८८ जना सहायक मतदान अधिकृत र ५ हजार ३ सय ४६ जना कर्मचारी खटाइएको छ ।
यसका साथै, निर्वाचनको अनुगमन र आकस्मिक व्यवस्थापनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा दुई–दुई जनाका दरले सहसचिव र उपसचिव स्तरका कर्मचारीको नेतृत्वमा १२ जनाको ‘घुम्ती टोली’ समेत परिचालन गरिएको छ ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा यस पटक कूल ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् । ६ वटा निर्वाचन क्षेत्रबाट १ सय १० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
मतदान केन्द्रमा पुगेका कर्मचारीहरूले अबको दुई दिन सर्वदलीय बैठक गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदान केन्द्र निर्माण गर्नेलगायतका अन्तिम तयारीका कामहरू गर्ने छन् । आगामी बिहीबार बिहानैदेखि देशभर एकैसाथ मतदान सुरु हुने कार्यक्रम छ ।
प्रकाशित: १८ फाल्गुन २०८२ २१:१० सोमबार



