मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र धवलशम्शेर राणाबिच दरार उत्पन्न भएको छ। नयाँ पार्टी निर्माणका लागि एकै ठाउँमा उभिएका उनीहरु पार्टी दर्ता नहुँदै फुटेका हुन्।
सभापतिमा राणा र सर्वोच्च नेतामा प्रसाईं हुनेगरी दुई पक्षले जय नेपाल पार्टी गठन गर्ने सहमति गरेका थिए। पार्टीमा वरीयता र बाँडफाँडमा कुरा नमिल्दा उनीहरु पार्टी दर्ता अगावै फुटेका हुन्।
शुक्रबार धवलशम्शेर छुट्टै दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका छन् भने प्रसाईंले कलंकीस्थित शिखर पार्टी प्यालेसमा कार्यक्रम राखेर आफ्नो धारणा राख्दै छन्।
प्रसाईंले पनि फेसबुकमा स्टाटस लेख्दै अर्कै पार्टी बनाउने संकेत गरेका छन्। उनले वैदिक सनातनी हिन्दु अधिराज्यसहित देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि नयाँ पार्टी खोल्ने बताए।
उनले लेखेका छन्, ‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ। केही समय धैर्य गर्नुहोला। तपाईँ हाम्रो पार्टी छिट्टै खुल्नेछ।’
प्रकाशित: २९ श्रावण २०८३ १२:४४ शुक्रबार



