राजनीति

सीके राउत भन्छन्- हाम्रा प्रधानमन्त्री अलग हि लेभलका बन्दा हे

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र व्यक्तित्वको खुलेर प्रशंसा गरेका छन्।

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाहलाई ‘अलग लेभलका बन्दा’ (बेग्लै स्तरको मान्छे) बताएका हुन्।

डा. राउतले प्रधानमन्त्री शाहको प्रशंसा गर्दै भने, ‘हाम्रा प्रधानमन्त्री स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस हुनुहुन्छ। उहाँ युवा हुनुहुन्छ र सबैको लोकप्रिय हुनुहुन्छ।’

उनले विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री शाहले पुरानो सोचभन्दा माथि उठेर समस्याको समाधान खोज्ने क्षमता राखेको बताए।

रास्वपाको महाधिवेशनलाई उनले क्रान्तिको महोत्सव भने। डा. राउतले सभापति रवि लामिछानेको त्याग र तपस्याको मुक्तकण्ठले प्रशंसा गरे।

उनले सभापति लामिछानेसँगको पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘रविजीसँग मेरो चिनजान २०७४ सालमा सप्तरीको बाढीका बेला भएको हो। उहाँ जनतासँग सिधा कुरा गर्ने र म जनताको सेवा गर्ने मान्छेका रूपमा त्यहीँ भेटिएका थियौं। उनको त्यागका लागि एकपटक जोडले ताली बजाइदिनुस्।’

डा. राउतले आफू पनि ३३ वर्षको उमेरमा अमेरिकाको सबै सुख छाडेर देश बनाउने सपना लिएर फर्किएको बताए। पुल्चोक क्याम्पसदेखि क्याम्ब्रिज विश्वविद्यालयसम्मको अध्ययनका क्रममा आफूले सधैँ देशकै लागि सोचेको बताउँदै उनले रास्वपाले पाएको जनविश्वासलाई सही ढंगले सदुपयोग गर्न आग्रह गरे।

उनले भने, ‘हामीले किसान आन्दोलन गर्‍यौं, राइट टु रिकल र नो भोटको एजेन्डा ल्यायौं, तर त्यो सौभाग्य आज तपाईंहरूले पाउनुभएको छ।’

प्रकाशित: ७ असार २०८३ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App