नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले यस बजेटले जनअपेक्षा सरकारले सम्बोधन गर्न नसकेको बताएका छन्।
प्रतिनिधिसभामा आज बजेटमाथिको छलफलका क्रममा बोल्दै महरले अर्थमन्त्रीप्रति लक्षित गर्दै विद्वान व्यक्तिबाट शालीनता र नम्रताको अपेक्षा गरिए पनि व्यवहार त्यसअनुसार नदेखिएको बताए। ‘विद्वान अर्थमन्त्रीबाट शालीनता र नम्रताको अपेक्षा थियो, तर उहाँको शैली प्रतिपक्षलाई अपमान गर्ने र हेप्ने खालको देखियो, जसले उहाँकै विद्वत्तामाथि प्रश्न उठाएको छ,’ उनले भने।
महरले प्रस्तुत बजेटलाई कम्युनिस्ट मूल्य र मान्यताविपरीत रहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पर्याप्त प्राथमिकतामा नपरेको बताए। ‘यो कम्युनिस्ट चरित्रको बजेट होइन। कम्युनिस्टको बजेट भएको भए शिक्षा र स्वास्थ्यमा कर लगाइँदैनथ्यो र कृषि क्षेत्रको बजेट घटाइँदैनथ्यो,’ उनले भने।
उनले अर्थमन्त्रीले आफू अध्ययन गरेको बूढानीलकण्ठ विद्यालयका लागि १५ करोड रुपैयाँ विनियोजन गर्दा देशभरका ४३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीका समस्यालाई बेवास्ता गरेको बताए।
त्यस्तै, कृषि प्रधान देशमा कृषि क्षेत्रको बजेट अघिल्लो वर्षको तुलनामा घटाएर ४६ अर्ब रुपैयाँमा सीमित गरिएको र अनुदानका कार्यक्रमहरू पनि सीमित वर्गलाई लाभ हुने गरी बजेट आएको उनले बताए।
प्रकाशित: २ असार २०८३ १६:१९ मंगलबार



