राजनीति

बाबुराम भन्छन्: विश्वसँग जोडिएर जान ‘जेनजी’का माग सम्बोधन गर्नुपर्छ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणासभामा डा भट्टराईले विश्वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।  

उनले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताए । यो पार्टीका अगुवा नेता रहेका डा भट्टराईले नयाँ दलमा आफू अभिभावक भएर बस्ने र कार्यकारी भूमिकामा रहनेलाई सहयोग तथा सुझाव दिने प्रतिबद्धता जनाए ।  

पूर्वमन्त्री राम कार्कीले चुनाव हुँदा वा नहुँदा पनि नवगठित पार्टीको अभियान चलिरहने बताउनुभयो । शिक्षा, यातायात, कृषिलगायत सबै नीतिलाई नयाँ दलले परिवर्तन गर्न चाहेको बताए ।  

नेता कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई सुझाव दिए । मार्कसिज्म भनेको आफैँप्रति आलोचक हुनु हो भन्दै उनले यस्तो गुण नहुनेहरू माक्र्सवादी हुन नसक्ने जिकिर गरे ।  

कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले दलको प्रतिबद्धता पत्र सुनाएका थिए । प्रतिबद्धता पत्रमा देशको कार्यकारी प्रमुख मातहत राष्ट्रिय विकास प्राधिकरण गठन गरिने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाइने, बोली र व्यवहारमा एकरुपता हुनेलगायत विषय समेटिएको बताए ।  

 

प्रकाशित: ७ मंसिर २०८२ १८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App