राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले दशैंपछि नेपालमा विदेशी सेना उत्रिने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
प्रसाईँले भने, ‘लगभग दशैं छेकोमा यहाँ विदेशी सेना उत्रिँदै छ। अनि दलाई लामा पनि यहाँ जन्मन्छन्। त्यही विदेशी सेनाले दलाई लामालाई प्रोटेक्ट गर्छ। अनि त्यतिखेर त्यसपछाडि परिस्थिति हेर्नुहोला। त्यो परिस्थितिबाट जोगाउने कि नजोगाउने?’
उनले आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण वा आधार भने सार्वजनिक गरेका छैनन्।
कार्यक्रममा प्रसाईँले सहकारी तथा लघुवित्त ऋणका कारण सर्वसाधारणले भोगिरहेका समस्यालाई लिएर आफूले अभियान सञ्चालन गरिरहेको पनि बताए। झापामा तीन युवतीले आत्महत्या गरेको घटनाको उल्लेख गर्दै उनले आर्थिक अभाव र ऋणको चापका कारण नागरिकहरू चरम निराशामा पुगेको दाबी गरे।
उनले सहकारी तथा लघुवित्त पीडितको समस्या समाधानका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
प्रसाईँले जनताको आवाज उठाएकै कारण आफूलाई सरकारले पटक–पटक पक्राउ गरेको दाबी पनि गरे।
प्रकाशित: १ श्रावण २०८३ १९:०७ शुक्रबार



