राजनीति

बौद्धिक वर्गको सार्वजनिक आह्वान: राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरौँ

एआई तस्बिर

नागरिक समाजका अगुवा तथा बौद्धिक वर्गले सार्वजनिक आह्वान गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।  

सामाजिक सद्भाव, राष्ट्रिय एकता र सीमापार समन्वयको आवश्यकता शीर्षकमा एक प्रेस नोट जारी गर्दै नेपालीबीच एकता कायम हुनुपर्ने उल्लेख गरेका छन् ।  

प्रेस नोटमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा सहिष्णु राष्ट्रका रूपमा विश्वसामु परिचित रहँदै आएको छ। यो कायम हुन दिनुपर्छ ।’

सुनसरीमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रेस नोटमा भनिएको छ, ‘सुनसरीको देवानगञ्ज - ३ बाट हिन्दू - मुस्लिम समुदायबीच सुरु भएको विवाद अनपेक्षित रूपमा तराई-मधेशका केही जिल्लामा हिंसात्मक रूपमा फैलिनु अत्यन्त दुःखद र चिन्ताजनक विषय हो । यसबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ, जसले सम्पूर्ण नेपाली समाजलाई मर्माहत बनाएको छ। धनजनको क्षति भएकाप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै तथा मृतकहरूको चिरशान्तिको कामना गर्दै, सरकारले उचित क्षतिपूर्ति देओस् भन्ने माग गर्दछौँ।’

जारी प्रेस नोटको पूर्णपाठ हेर्नुहोस्

शताब्दीयौँदेखि नेपाल विभिन्न जाति, धर्म, भाषा र सम्प्रदायबीचको सहअस्तित्व, सहिष्णुता र आपसी सद्भावका आधारमा विकसित भएको मुलुकका रूपमा परिचित छ । बहुसंख्यक हिन्दू (सनातनी) धर्मावलम्बी रहेको यस देशको काखमा बौद्ध धर्मको उदय र विकास भएको हो। त्यसैगरी, मल्लकालदेखि नै नेपालमा बसोबास गर्दै आएका मुस्लिम समुदाय नेपाली समाजका अभिन्न अंगका रूपमा आपसी बन्धुत्व, सहकार्य र सम्मानका साथ जीवनयापन गर्दै आएका छन्। इसाई धर्मावलम्बीहरू पनि हाम्रै देशका बासिन्दा हुन् भन्ने बिर्सन सकिँदैन। यस्तैगरी, किरात धर्मावलम्बीहरूको उपस्थितिलाई बिर्सियो भने त मुलुककै इतिहासलाई बिर्सेको मानिनेछ। यिनै विशेषताका कारण नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा सहिष्णु राष्ट्रका रूपमा विश्वसामु परिचित रहँदै आएको छ ।

यस्तो पृष्ठभूमि भएको देशमा सुनसरी जिल्लाको देवानगञ्ज - ३ बाट हिन्दू - मुस्लिम समुदायबीच सुरु भएको विवाद अनपेक्षित रूपमा तराई-मधेशका केही जिल्लामा हिंसात्मक रूपमा फैलिनु अत्यन्त दुःखद र चिन्ताजनक विषय हो । यसबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ, जसले सम्पूर्ण नेपाली समाजलाई मर्माहत बनाएको छ। धनजनको क्षति भएकाप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै तथा मृतकहरूको चिरशान्तिको कामना गर्दै, सरकारले उचित क्षतिपूर्ति देओस् भन्ने माग समेत गर्दछौँ।

धार्मिक आधारमा हिंसात्मक अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण मात्र होइन, राज्यले सामाजिक विविधताको प्रभावकारी व्यवस्थापन गर्न नसक्नु, अन्तरसमुदाय तथा अन्तरधार्मिक समन्वयलाई पर्याप्त प्राथमिकता नदिनु तथा प्रारम्भिक घटनालाई समयमै नियन्त्रण गर्न नसक्नु पनि यसको प्रमुख कारण हो । देवानगञ्ज-३ मा उत्पन्न भएको सानो झिल्कोलाई समयमै नियन्त्रण गर्न नसक्दा त्यसले डढेलोको रूप लिँदै तराईका केही जिल्लामा हिंसात्मक स्वरूप ग्रहण गयो । तैपनि सरकार, विपक्षी दल, स्थानीय समुदाय, नागरिक समाज तथा गैरसरकारी संस्थाहरूको सक्रियताका कारण धार्मिक द्वन्द्व अन्य क्षेत्रमा व्यापक रूपमा फैलिन पाएन र प्रभावित क्षेत्रमा पनि विस्तारै शान्ति पुनःस्थापित हुँदै गएको देखिनु सम्पूर्ण नेपालीका लागि सन्तोषको विषय हुन पुगेको छ ।

हिंसाको ज्वाला निभेको देखिए पनि त्यसले छोडेका घाउ, अविश्वास र मनोवैज्ञानिक असर पूर्ण रूपमा समाप्त भइसकेका छन् भन्ने अवस्था छैन। साथै, प्रभावित क्षेत्रमा बाह्य तत्वको सम्भावित घुसपैठबारे उठाइएका प्रश्नहरू तत्कालका लागि मात्र होइन, दीर्घकालीन राष्ट्रिय सुरक्षाको दृष्टिले पनि गम्भीर रूपमा लिनुपर्ने विषय हुन् ।

सूचना प्रविधिको तीव्र विकास, आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ, सामाजिक सञ्जालको प्रभाव तथा बदलिँदो सामाजिक-सांस्कृतिक परिवेशले भविष्यमा यस्ता अन्तरविरोध र द्वन्द्वका सम्भावना अझ बढाउन सक्छन् । त्यसैले सरकारले राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र भू-राजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रको व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ । विशेष गरी दुवै छिमेकी राष्ट्रसँग आवश्यक समन्वय कायम गरी सीमापार हुने आवतजावतलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाइनु आजको आवश्यकता हो ।

यस सन्दर्भमा उत्तरी छिमेकी चीनसँग राहदानी, प्रवेशाज्ञा तथा सीमावर्ती नागरिकका लागि समेत नियन्त्रित आवतजावतको व्यवस्था रहेको यथार्थ स्मरणीय छ । यसको विपरीत दक्षिणी छिमेकी भारतसँगको खुला सीमा ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भाषिक र पारिवारिक सम्बन्धका कारण अत्यन्त सहज रहँदै आएको छ । यस खुला सीमाका अनेक सकारात्मक पक्ष भए तापनि बेलाबेलामा घट्ने अवाञ्छित घटनाले दुवै देशका सरकार तथा सुरक्षा निकायबीच चिन्ता, गुनासो र असन्तुष्टिको वातावरण सिर्जना गर्ने गरेको छ। हालैको घटनामा पनि कुनै तेस्रो मुलुकबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूको सम्भावित संलग्नताबारे विभिन्न आशंका व्यक्त भइरहेका छन् । यस्ता आशंकाको निष्पक्ष अनुसन्धान गरी तथ्य सार्वजनिक गर्नुका साथै भविष्यमा यस्ता गतिविधि हुन नदिन दक्षिणी सीमामा हुने आवतजावतलाई सहज, पारदर्शी, व्यावहारिक र प्रभावकारी ढंगले व्यवस्थापन गर्न सम्बद्ध पक्षसँग आग्रह गर्दछौं ।

लामो समयसम्म द्वन्द्व, राजनीतिक अस्थिरता र संक्रमणकालको अनुभवपछि नेपाली जनताले स्थायित्व, शान्ति र विकासको अपेक्षा गरेका थिए। यसै क्रममा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा वर्तमान सरकार गठन भएको छ । जनताले नयाँ नेतृत्वप्रति ठूलो विश्वास र अपेक्षा व्यक्त गरेका छन्। तर सरकार गठन भएको केही समयमै तराईका केही जिल्लामा देखिएको हिन्दू - मुस्लिम समुदायबीचको हिंसात्मक द्वन्द्वले पुनः मुलुक अशान्तितर्फ जाने हो कि भन्ने चिन्ता र त्रास आमनागरिकमा उत्पन्न गराएको छ ।

संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नु सकारात्मक कदम हो । तर धार्मिक तथा अन्तरधार्मिक तनाव उत्कर्षमा पुगेको अवस्थामा शासन व्यवस्था वा राजनीतिक बहसका विषयलाई प्राथमिकता दिनुभन्दा सम्पूर्ण नेपालीलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा सबै समुदायबीच विश्वास अभिवृद्धि गर्न आह्वान गर्नु अझ उपयुक्त हुने थियो भन्ने हाम्रो धारणा छ । साथै, सम्भावित द्वन्द्वको समयमै पूर्वानुमान गरी रोकथाम गर्न सक्ने संस्थागत संयन्त्रलाई थप सक्षम, चुस्त र उत्तरदायी बनाउन सरकारको विशेष ध्यान जान आवश्यक छ ।

अन्त्यमा, समाजमा धार्मिक, जातीय वा सामुदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नागरिकलाई हार्दिक अपिल गर्दछौं । सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक सम्मानको संरक्षण सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सबै धर्मगुरुको साझा दायित्व हो । त्यसैले सबै पक्षले आ-आफ्नो स्थानबाट संयुक्त रूपमा सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न अग्रसर हुनुपर्छ । साथै, हालै सामाजिक सद्भाव भंग गर्ने कार्यमा जो-कोही संलग्न भएको भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कठोर कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

अपिलकर्ता

प्राध्यापक

१. त्रिभुवन विश्वविद्यालय, भुगोल बिभागका पूर्व अध्यक्ष प्रा डा नरेन्द्रराज खनाल

२. त्रिभुवन विश्वविद्यालय, इतिहास बिभाग का पूर्व अध्यक्ष प्रा डा राजकुमार पोखरेल

३. त्रिभुवन विश्वविद्यालय, राजनीति शास्त्र विभागका पूर्व प्राध्यापक डा। लालबाबु यादव

४. त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र बिभागका प्राध्यापक चक्रबहादुर खडका

पत्रकार

५. वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ

६. वरिष्ठ पत्रकार तीर्थ कोइराला

७. वरिष्ठ पत्रकार निरोधराज पाण्डे

८. वरिष्ठ पत्रकार जीबराम भण्डारी

सामजिक अभियन्ता

९. नेपाल प्रज्ञा प्रतिष्ठानाका पूर्व उपकुलपति डा जगमान गुरुङ

१०. पूर्व सचिव श्यामप्रसाद अधिकारी

११. भरत बस्नेत

१२. मौसम बिद बिज्ञ डा। जनक नायभा

१३. नेपाल बायु सेवा निगमका पूर्व क्याप्टेन पी जे शाह ९ प्रचण्डजङ्ग शाह०

१४. पूर्वराजदूत डा रामभक्त ठाकुर

१५. पूर्वप्रशासक देवेन्द्रप्रसाद सिटौला

१६. अवकाशप्राप्त नायव प्रहरी महानिरीक्षक रमेशप्रसाद खरेल १७. अनिल योगी

पाकाहरुको चौतारी, पञ्चकुमारी श्रद्धा प्रतिष्ठान, मगरगाउँ, बानेश्वर

१८. काठमाण्डौं महानगर पलिकाका पूर्व उपमेयर बिदुरप्रसाद मैनाली

१९. प्राज्ञ तथा कृषि विशेषज्ञ डा केशबचन्द्र शर्मा

२०. पूर्व प्रशासक पुष्पप्रसाद लुइटेल

२१. कलाकर्मी द्वारिका शर्मा

२२. सामाजिक अभियन्ता उद्वबप्रसाद ढुंगाना

२३. इन्जिनियर धरा सापकोटा

२४. पूर्व प्रशासक अच्युतप्रसाद कोइराला

२५. नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी राधाकृष्ण पौडेल

२६. पूर्व प्रशासक कैलाश खरेल

सजग समुह (खुकुलो सञ्जाल)

२७. संयोजक तथा युवा समाजसेवी राजा थापा

२८. अवकाश प्राप्त रथी विवेककुमार शाह

२९. पूर्व प्रमुख जनसम्र्पक विभाग, देविराम शर्मा

३०. दूर सञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सुरेश पुडासैनी

३१. पूर्व प्रशासक कृषिराम लामिछाने

३२. पूर्व राजदूत भीम उदास

३३. सर्वाङ्गिण अध्ययन विकास केद्रका पूर्व कार्यकारी निर्देशक डा विष्णुदेव पन्त

३४. इन्जिनियर अरुण शर्मा

३५. पूर्व सहायक महालेखा परीक्षक तथा उपाध्यक्ष पाल्पाली संगम रामबाबु नेपाल

३६. दूरसंवेदन वैज्ञानिक डा। तिलक श्रेष्ठ

राष्ट्रिय मामिला सरोकार समुह (खुकुलो सञ्जाल)

३७. संयोजक तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रबिराज थापा

३८. राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा चन्द्रमणि अधिकारी

३९. पूर्व राजदूत तथा अवकाश प्राप्त सहयक रथी भरतबहादुर रायमाझी

४०. नदी बिज्ञान बिज्ञ तथा विध्युत महसुल का पूर्व अध्यक्ष डा जगत भुसाल

४१. अधिवक्ता आतिस कार्की

४२. अधिवक्ता तृप्ती घिमिरे

४३. वरिष्ठ पत्रकार ठमनाथ घिमिरे

४४. संयुक्त राष्ट्रसंघ सँग आवद्ध लेखा परीक्षण बिज्ञ ईस्वरीप्रसाद भट्टराई

४५. संयुक्त राष्ट्रसंघ सँग आबद्ध नापी सर्भे इन्जिनियर प्रभाकार शर्मा

४६. द्वारिकानाथ ढुंगेल (सजग समुह सँग पनि आवद्ध )

प्रकाशित: २० श्रावण २०८३ १७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App