राजनीति

१८ अस्थायी स्थलबाट नागरिकले आश्रय र राहत पाइरहेका छन् : प्रधानमन्त्री

 

१८ अस्थायी आश्रयस्थलबाट २ हजार २८१ नागरिकले आश्रय र राहत पाइरहेका छन् ः प्रधानमन्त्री  

 

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि सरकारले तत्कालै खोज तथा उद्धार, उपचार र राहतका लागि विभिन्न संयन्त्र परिचालन गरेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकमा पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीपछिको सरकारी कामकारबाही र हालसम्मको अवस्थाबारे सदनलाई जानकारी गराएका हुन्।

प्रधानमन्त्रीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि परिचालन गरिएको थियो। निजी हेलिकोप्टरलाई समेत स्ट्यान्डबाइमा राखिएको र नेपाली सेनाको मनसुन कमान्ड पोस्टको आकस्मिक बैठकमार्फत प्रभावित क्षेत्रमा खोज तथा उद्धार एवं स्रोत परिचालन गर्ने निर्णय गरिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्च एन्ड रेस्क्यु तथा इमर्जेन्सी रेस्पोन्स टोलीलाई तयारी अवस्थामा राखिएको तथा विभिन्न जिल्लाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई खोज, उद्धार, उपचार तथा राहतका लागि परिचालन गरिएको शाहले बताए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारलाई उच्च प्राथमिकता दिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको थियो। थप हेलिकोप्टर र ड्रोन टोली परिचालन गर्नसमेत सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्रीले जानकारी दिए।

त्यसैगरी मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारलाई तीव्र बनाउने निर्णय गरेको थियो। सरकारले प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रधानमन्त्री शाहले बताए।

बाढीमा मृत्यु भएकाका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने, घाइते तथा बिचल्लीमा परेका नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने र त्यसका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गर्ने निर्णय गरिएको उनले बताए।

घाइतेको निःशुल्क उपचार, घरबास गुमाएका नागरिकलाई सुरक्षित स्थानमा सारेर खाने–बस्ने व्यवस्था तथा अवरुद्ध विद्युत्, दूरसञ्चार, सडक र खानेपानीलगायत अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाइएको शाहले जानकारी दिए।

साथै प्रधानमन्त्री शाहका अनुसार बाढीपछि हालसम्म १ हजार १२६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये केहीलाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार गरिएको र धेरै जना उपचारपछि डिस्चार्ज भइसकेको उनले बताए । सम्पर्कविहीन व्यक्तिको खोजी कार्य भने जारी रहेको उनको भनाइ छ।

उद्धारका क्रममा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको शाहले बताए।

राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा बेड छुट्याएर राखिएको तथा अन्य ठूला अस्पताललाई पनि तयारी अवस्थामा रहन आग्रह गरिएको उनले जानकारी दिए। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठन र नेपाल रेडक्रस लगायतको सहकार्यमा मेडिकल टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले बताए।

आपत्कालीन स्वास्थ्य सेवामा औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटीलगायत संस्थासँग समन्वय गरिएको प्रधानमन्त्रीले जानकारी दिए।

१८ अस्थायी आश्रयस्थलमा २ हजार २८१ प्रभावित

बाढीपछि १८ वटा अस्थायी आश्रयस्थलमा २ हजार २८१ जना प्रभावित नागरिकले आश्रय तथा राहत पाइरहेको प्रधानमन्त्री शाहले बताए। रसुवाका प्रभावित नागरिकका लागि नुवाकोटमा समेत आश्रय तथा राहतको व्यवस्था गरिएको उनले जानकारी दिए।

घटना भएको दिन नै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम, नुवाकोटको नेपाली सेनाको ब्यारेक तथा बैरेनी ब्यारेकमा राहत सामग्री राखी प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको शाहले बताए।

प्रकाशित: १७ भाद्र २०८३ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App