पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा फर्किने घोषणा गर्ने भनिएको कार्यक्रम अहिले चलिरहेको छ। मदन भण्डारीको जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभा गृहमा अहिले कार्यक्रम गरिरहेको छ।
यही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रमुख अतिथिका रूपमा सहभागी थिए। ओली र पूर्व राष्ट्रपति भण्डारी दुवै यो कार्यक्रममा वक्ता छन्।
अहिलेसम्म प्रधानमन्त्री ओलीले आफ्नो भाषण अगाडि नै गरेर हिँडेका छन्। साँझ स्पेन प्रस्थान गर्ने कार्यक्रमलाई देखाएर ओलीले भण्डारीको भाषण नै नसुनी हिँडेका छन्।
‘अहिले पाँच बजे एयरपोर्ट पुग्नुपर्ने छ। सम्माननीय पूर्व राष्ट्रपति ज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईँ राम्रो बोल्नुहुन्छ भन्ने मलाई थाहा छ। उहिल्यै देखि सुन्दै आएको ।’ आज मात्रै सुन्नुपर्ने अवस्था भए बस्नुपर्ने हुने भए पनि त्यसो नभएको उनले बताए।
‘अब आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएकै हो। त्यस कारण सुन्दै आएको छु राम्रै छ,’ ओलीले भने।
यस्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि राम्रै बोल्नुभएकाले बोल्नु नपर्ने उनले बताए। उनले भने, ‘ईश्वर कमरेड सधैँ राम्रो बोल्नुहुन्छ। त्यसो भएर मलाई थाहा छ। के बोल्नुहुन्छ। त्यसो भएर मैले सुन्न बस्नुपर्दैन। समय नभएर हतार भएकाले इजाजत मागेको थिएँ।’
अहिले एमालेभित्रको राजनीतिमा वरिष्ठ उपाध्यक्ष पोखरेल पनि ओलीविरुद्ध खुलेका पात्र हुन्।
प्रकाशित: १४ असार २०८२ १६:२२ शनिबार



