राजनीति

अनेरास्ववियु महाधिवेशन: लाग्यो 'वी वान्ट इलेक्सन'को नारा, पार्टीले एकलौटी गर्न खोजेको आरोप

नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रियामा मातृपार्टी हाबी भएपछि नाराबाजी भएको छ।

विद्यार्थीहरूले निर्वाचन प्रक्रियामा जान चाहे पनि मातृपार्टी एमालेले आफूखुसी एकलौटी अध्यक्ष चयन गर्न खोजेको भन्दै उनीहरू नाराबाजीमा उत्रिएका हुन्। 

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सुरु भएको बन्दसत्रमा नाराबाजी भएपछि थप प्रक्रिया अगाडि बढ्न सकेको छैन। पार्टीका दबाबका बीच विद्यार्थीहरूले लोकतान्त्रिक पद्धतिअनुरूप निर्वाचनबाटै आफ्नो नेतृत्व चुन्न पाउनुपर्ने माग गरेका छन्।

सङ्गठनमा ५ जना नेतृत्वका आकाङ्क्षी छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै पार्टीले सुजन कडरिया अध्यक्ष, प्रकाश पौडेल उपाध्यक्ष र अन्जना शिवाकोटी, महासचिवमा दिपक धामीलगायतको नाम सार्वजनिक गरिएको थियो। 

नाराबाजी सुरु भएपछि प्रक्रियामा अवरुद्ध भएको कीर्तिपुरका इन्चार्ज प्रशान्त भण्डारीले बताए।  ‘अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा अरु आकाङ्क्षीले असहमति जनाउँदै हलभित्र 'वी वान्ट इलेक्सन' भन्दै नाराबाजी गरिररहेका छन्,’ इन्चार्ज भण्डारीले भने, ‘निर्वाचन प्रक्रियामा जाने अध्यक्षको आकाङ्क्षीहरू दिपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अन्जना शिवाकोटी र कडरियाले आाकाङ्क्षा राखेका छन्।’

प्रकाशित: २७ जेष्ठ २०८२ १४:०८ मंगलबार

#Aneraswaviyu #NagarikNews #SujanKadariya