महेश श्रेष्ठको नेतृत्वमा भर्खरै सर्वसम्मत चुनिएको गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई परराष्ट्र मन्त्रालयले मान्यता दिएको छ। हायात रिजेन्सी होटेलमा आइतबार सम्पन्न अधिवेशनबाट चुनिएको श्रेष्ठ नेतृत्वको टिमलाई परराष्ट्र मन्त्रालयले वैधता दिएको हो। यस्तै परराष्ट्र मन्त्रालयले यसअघि महाधिवेशन सार्न सर्वोच्च अदालतमा दिएको निवेदन पनि फिर्ता लिन निवेदन पठाएको छ।
यसैबिच मंगलबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिसँग सहकार्य गर्ने प्रतिबद्धता पनि गरेकी छन्। परराष्ट्र मन्त्रालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री देउवाले छुटेको समूहलाई पनि यहीमार्फत गोलबद्ध हुन आह्वान गरिन् ।
उनले भनिन्,‘अहिले उच्चस्तरीय समितिले सम्पन्न गरेको अधिवेशनबाट निर्वाचित कार्यसमितिले सबैलाई समेट्न पहल गरोस्, त्यसमा हामी पनि सहयोग गर्छौँ।’
यसै गरी अदालतमा रहेका मुद्दाहरूमा पनि मन्त्रालयले प्रक्रियागत रूपमा किनारा लगाउँदै जाने उनले प्रतिबद्धता जनाइन् । मन्त्री देउवाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ एम्बास्डर भएको बताउँदै सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल पनि गरिन् ।
सो अवसरमा मन्त्रालयका सचिव अमृतबहादुर राईले निर्वाचित कार्यसमितिलाई बधाई दिँदै सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए । साथै उनले बृहत् एकताका लागि अहिलेको कार्यसमितिले पहल गर्ने आफूले विश्वास लिएको उल्लेख गरे।
प्रकाशित: २३ वैशाख २०८२ १८:११ मंगलबार