प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको पहिलो व्यहोरा पढेर सुनाउने छन्।
यस्तै आजको बैठकमा सहरी विकास मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र खानेपानी मन्त्रीले उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य बहादुर थापाले समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र सार्वजनिक सेवा प्रशासरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ आजको बैठकमा पेस गर्नेछन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् भने आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी पनि प्रस्ताव गर्नेछन्।
प्रकाशित: १८ भाद्र २०८१ ०७:१८ मंगलबार



