अन्य

कुकुरको समस्या नसुनेको भन्दै जब अधिकारीकै टेबलमा छोडियो पाँच कुकुर...

छाडा कुकुरको समस्या समाधान गर्न प्रशासनले चासो नदिएको भन्दै भारतमा एक नेताले रोचक तरिकाले विरोध जनाएका छन्। 

शिव सेना (युबीटी) युवा सेना जिल्ला प्रमुख विक्रम रन्धावेले मंगलबार निफाड नगर पञ्चायतका प्रमुख अधिकारी धीरज भामरेको कार्यालयमै चारदेखि पाँच वटा छाडा कुकुर छाडेका हुन्। 

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा रन्धावे झोला बोकेर निफाड नगर पञ्चायत प्रमुखको कार्यालयमा पुगेको देखिन्छ। केही क्षणपछि उनले झोला खोलेर अधिकारीको टेबलमा कुकुरहरू छाडे। अचानक कुकुर छाडिएपछि कुर्सीमा बसेका धीरज केही पछाडि सरे।

एउटा कुकुर झोलाभित्र थुनिँदा डराएको देखिन्छ। त्यो टाढा गएर अर्को टेबलको कुनामा बसेको थियो भने अर्को कुकुर कार्यालयभित्र यताउता हिँडेको थियो। त्यसपछि रन्धावे र निफाड नगर पञ्चायत प्रमुखबिच कुराकानी भएको देखिन्छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रन्धावेले प्रशासनले छाडा कुकुरको समस्या समाधान गर्न नसकेको विरोधमा प्रमुख अधिकारीको टेबल वरिपरि नोटबाट बनेको माला पनि राखेका थिए। उनले नगर पञ्चायत क्षेत्रभित्र ४०० भन्दा बढी छाडा कुकुर रहेको र हरेक महिना १०० भन्दा बढी बासिन्दा कुकुरको टोकाइबाट घाइते हुने दाबी गरेका छन्।

उनले पटक-पटक गुनासो गर्दा पनि छाडा कुकुर समात्ने र नसबन्दी गर्ने प्रभावकारी व्यवस्था नगरिएको आरोप लगाए। उनले भने, ‘यस समस्याले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र मोटरसाइकल चालकलाई असर गरेको छ।’

रन्धावेले नगर पञ्चायतले छाडा कुकुरको संख्या नियन्त्रण गर्न ठोस कदम नचाले नागरिकको उपस्थितिमा फेरि कुकुरलाई प्रमुख अधिकारीको कार्यालयभित्र छाड्ने चेतावनी दिएका छन्।

लामो समयदेखि स्थानीय बासिन्दाले भोग्दै आएको समस्या देखाउन कार्यालयभित्र कुकुर छाडिएको उनले बताए।

प्रकाशित: २ आश्विन २०८३ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App