
भारतीय बजारबाट राजस्व छलेर अवैध कपडा भिœयाउँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवालको नेतृत्वमा खटिएको गस्तीटोलीले गौर–चन्द्रनिगाहपुरसँग जोडिएको वीरेन्द्र राजमार्ग सडकको गरुडा ५ स्थित झाँझपुल नजिकबाट बीआर ०५ जी ७३११ नम्बरको भारतीय महिन्द्र कम्पनिको पिकअपमा लोड भएको १५ पोका कपडा बरामद गरेको छ।
सडकमा प्रहरीको गस्तीटोलिले चेकजाच गरिरहेको देखेपछि तस्कर तथा गाडी चालक सडकमै मालसहितको पिकअप छाडेर फरार भएको रौतहटका प्रहरी उपरीक्षक गणेश रेग्मीले बताएका छन। सिमापारी भारतीय बजारबाट मालसामानको अबैध कारोबार सञ्चालन गर्दै आएका तस्करहरुले चोर बाटो भएर नेपाल भिœयाइएका कपडाको पोकाले भरिएका भारतीय नम्बरको पिकअपसहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
उक्त जिपमा साना ठूलो गरी १५ पोकामा साडी, कुर्ता सुरुवाल, महिला एवं पुरुषहरु लगाउने कट्टु गंजी, सर्टपाइन्टसहितको कपडा रहेको जानकारी दिँदै प्रहरी निरीक्षक जयसवारले बरामद भएका कपडाको बजार मूल्य करिब ९ लाख रहेको तथा भारतीय जिपको मूल्य करिब ८ लाख गरी १७ लाख मूल्य बराबरको मूल्यांकन गरी आवश्यक कारवाहीका लागि मध्यमाञ्चल क्षेत्रीय राजस्व कार्यालय पथलैयामा बुझाएको प्रहरी उपरिक्षक रेग्मीले बताए। पछिल्ला केही समयदेखि अवैध काराबारी गर्ने व्यक्तिहरु मौलाउँदै जाँदा नेपाल प्रहरीले ठूलो सफलता हात पार्न सकेको उनले स्पष्ट पारे।
पक्राउ परेका समानहरु अबैध कारोवार गर्ने कोपवा पिपरियाका मोतिम मिया, गौरका संजय यादव र सिमापारीका केही व्यक्तिहरुको संलग्नता भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको रेग्मीले बताए ।
प्रकाशित: १४ फाल्गुन २०७२ ०२:३१ शुक्रबार



