अन्य

नागरिक संवाददाता शिशिरलाई राज्यमन्त्रीविरुद्ध नलेख्न धम्की

काठमाडौं- नागरिक दैनिकका संवाददाता प्रकटकुमार शिशिरलाई दुई अपरिचित युवाले काठमाडौंको जयनेपाल हलअगाडि शनिबार साढे ११ बजे श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको विरोधमा समाचार नलेख्न धम्की दिएका छन्।

हाफ रातो टिसर्ट र खैरो फुल टिसर्ट लगाएका युवाले जयनेपाल हलअगाडि 'त प्रकट होइनस्?' भनेर सोधेपछि 'टेकबहादुर दाइको विरोधमा समाचार नलेख नत्र नराम्रो हुन्छ' भन्दै धम्की दिएर कमलपोखरीतर्फ लागेका थिए।

'मैले मेरो श्रीमतीलाई नक्साल नारायणचौरमा पुराएर पैदलै फर्कदा जयनेपाल हलअगाडि आएका २ युवाले मन्त्रीको विरोधमा समाचार नलेख्न धम्की दिँदै कमलपोखरीतिर गए,' उनले नागरकिन्यसजसँग भने।

'मैले तुरुन्त सहकर्मी सुजन ओलीलाई बाइक लिएर लिन बोलाएपछि अफिस आए, सम्पादकलाई जानकारी गराएरपछि पुलिसलाई रिपोर्ट गरिएको छ,' उनले भने।

यसअघि गत बिहीबार आफूलाई मन्त्रीको प्रेस सल्लाहकार बताउने मधु लम्सालले फोनमा मन्त्री गुरुङको समाचार नलेख्न धम्की दिएका थिए। 'तिम्रो सबै व्यक्तिगत विवरण मसँग छ, तिम्रो परिवार कहाँ-कहाँ बस्छ भन्ने पनि थाहा छ, त्यसैले मन्त्रीको विरोधमा समाचार नलेख्दा राम्रो हुन्छ,' उनले धम्काउँदै भनेका थिए।

'मन्त्रीकै लगानीमा पनि पत्रिका र अनलाइन सञ्चालन छन्', तिम्रो विरोधमा पनि समाचार आउँदैछ', उनले धम्क्याउँदै भनेका थिए।

नागरिक दैनिकमा श्रम तथा रोजगार मन्त्रालयले तयारी विनै निःशुल्क टिकट र भिसाको निर्णय, आफन्तलाई कोटा बाँड्न निःशुल्क टिकट र भिसा, शून्य लागतलाई प्रधानमन्त्रीले रोकेलगायतका विषयमा समाचार प्रकाशित भएको थियो। ती समाचारप्रति असन्तुष्ट भएर लम्सालले पटकपटक टेलिफोन गर्दै आएका थिए।

प्रकाशित: ५ असार २०७२ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App