अन्य

दुई महिनामा ६१ किलो अवैध सुन

काठमाडौं- प्रहरीले २ महिना अवधिमा भन्सार छलेर काठमाडौं भिœयाइँदै गरेको ६१ किलो अवैध सुन फेला पारेको छ। महानगरीय प्रहरी अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो, थानकोट वृत्त र भक्तपुर प्रहरीले अवैध सुनसहित कारोबारी पक्रेको हो।महाशाखाले शनिबार ४ किलो अवैध सुनसहित २ जनालाई पक्रेको छ। योसहित फेला परेको सुन ६१ किलो पुगेको हो। यसअघि अपराध महाशाखाले स्कुटरमा राखिएको १५ र दरबारमार्गमा २ किलो सुन फेला पारेको थियो। महानगरीय प्रहरी वृत्त थानकोटले मंसिरमा सार्वजनिक बसमा ५ किलो सुनसहित एक कारोबारी पक्रेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंसिरमै बौद्धको एक किराना पसलबाट २ किलो सुन फेला पारेको थियो। पुस पहिलो साता भक्तपुर प्रहरीले स्याउको कन्टेनरमा लुकाएर ल्याएको २३ किलो सुन फेला पारेको थियो।

शनिबार महाशाखाको टोलीले भक्तपुरको एक घरमा छापा मारेर सुनसहित प्रविन तिमल्सिना र देउता तिमल्सिनालाई पक्रेको हो। महाशाखाका अनुसार चीनको तातोपानी नाकाबाट तस्करले भन्सार छली अवैध सुन काठमाडौं उपत्यकामा ल्याएको सूचनाका आधारमा शनिबार भक्तपुर मध्यपुर ठिमी–१७ मा रहेको प्रविन तिमिल्सिनाको घरमा छापा मारेको थियो।

महाशाखाले उनको घरबाट २ किलो सुन फेला पारेपछि भक्तपुरको दुवाकोट–१ मा रहेको देउता तिमिल्सिनाको घरमा छापा मारी थप २ किलो सुन फेला पारेको थियो। अनुसन्धान क्रममा भन्सार छली सुन निकासी गरी ल्याउने काममा अन्यको संलग्नता खुलेकाले अनुसन्धान भइरहेको महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले जानकारी दिए।

प्रहरीले अवैध सुनसँगै कारोबारमा संलग्नलाई पक्रे पनि मुख्य कारोबारी भने पक्राउ गर्न सकेको छैन। पक्राउ पर्ने अधिकांश सुनका भरिया मात्र हुन्। प्रहरीले अवैध सुन नियन्त्रणमा सक्रियता देखाए पनि बजारमा अवैध सुन पुग्ने क्रम रोकिएको छैन।

प्रकाशित: २७ पुस २०७१ २२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App