छुट्टिएन स्कटल्यान्ड
स्कटल्यान्ड बेलायतबाट अलग हुनुपर्छ अथवा बेलायतमै रहनुपर्छ भन्नेमा दशकौँदेखि जारी विवादको छिनोफानो गर्न गत वर्ष १८ सेप्टेम्बरमा जनमतसंग्रह गरियो। जनमतसंग्रहमा बहुसंख्यक स्कटिस जनताले बेलायतसँगै मिलेर बस्ने चाहना व्यक्त गरेपछि लामो समयदेखि स्कटल्यान्डमा उठिरहेको विखण्डनको स्वर लोकतान्त्रिक तवरबाटै गत वर्ष साम्य भयो।
सन् २०१३ को नोभेम्बरमा संयुक्त अधिराज्य र स्कटिस सरकारबीच जनमतसंग्रह गराउनेमा सहमति भएको थियो। निर्वाचनमा ४३ लाख स्कटिसले मतदान गर्ने अनुमान गरिएको थियो।
स्कटल्यान्डलाई बेलायतबाट स्वतन्त्र बनाउने कि नबनाउने भन्ने विषयमा जनमतसंग्रह गराइएको थियो। यदि 'बनाउने' भन्नेमा बहुमत पुगेको भए संयुक्त अधिराज्यको मानचित्र परिवर्तन हुनुको साथै युरोपेली अर्थतन्त्रमै ठूलो फेरबदल आउनेथियो। 'यस स्कटल्यान्ड' र 'बेटर टुगेदर'को ब्यानरमा दुवै पक्षले भव्य प्रचारप्रसार गरेका थिए। तर, अन्त्यमा बहुसंख्यक स्कटिस जनताले संयुक्त अधिराज्यमै आफ्नो भविष्य खोजी गर्ने तय गरेर अलग राज्यको विपक्षमा मतदान गरेपछि संयुक्त अधिराज्य खण्डित हुनबाट जोगियो। ५५ दशमलव ३० प्रतिशतले अलग स्कटल्यान्डको विपक्षमा र बाँकी ४४ दशमलव ७० प्रतिशतले पक्षमा मतदान गरेका थिए। 'यदि संयुक्त अधिराज्य टुक्रिएको भए मेरो मनजस्तै हाम्रा समस्त जनता र समग्र विश्वकै मन छिया–छिया हुने थियो,' जनमतसंग्रहको परिणाम घोषणा भएपछि संयुक्त अधिराज्यका प्रधानमन्त्री डेभिड क्यामरुन भावुक हुँदै भनेका थिए।
रुसको पोल्टामा क्रिमिया

गत वर्ष विश्व राजनीतिको प्रवाह र गति निर्धारण गर्ने प्रमुख घटनामा पर्छ, रुस र युक्रेनबीच युक्रेनअन्तर्गत रहेको क्रिमिया क्षेत्रलाई लिएर भएको विवाद। युक्रेनका रुसपरस्त राष्ट्रपति भिक्टर यानुकोभ्येचले युरोपेली युनियनसँग युक्रेनले गरेका यावत सन्धिलाई बेवास्ता गर्दै रुससँग हिमचिम बढाएपछि बढेको विवादका बीच रुसले युक्रेनअन्तर्गत रहेको क्रिमिया क्षेत्रलाई आफ्नो मानचित्रमा मिलाएको थियो।
राष्ट्रपति भिक्टरले युरोपेली युनियनसँग गरिएका यावत सन्धि–सम्झौता भंग गरेपछि क्रिमियाको विपक्षी दल र जनताले रुसको इशारामा यस्तो गरिएको भन्दै भिक्टरविरुद्ध आन्दोलन सुरु गरे। आन्दोलन यतिबिघ्न चर्कियो कि उनी देश छोडेर रुसमा शरण लिन बाध्य भए। तर, भागेर रुस पुग्नुअघि उनको सरकारको आन्दोलन नियन्त्रण गर्ने प्रयासमा सयजनाजति प्रदर्शनकारीको मृत्यु भइसकेको थियो। युक्रेनमा बनेको नयाँ सरकारले सयजनाको मृत्युका लागि भिक्टरलाई दोषी ठहर्याउँदै उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्यो।
युक्रेनमा युरोपेली युनियनपरस्त नयाँ सरकार गठन भएपछि रुससँग सीमा जोडिएको युक्रेनको रुसीभाषीबहुल क्रिमिया क्षेत्रमा रुसको पक्षमा विद्रोह सुरु भयो। विद्रोह उठाउनमा रुसले अप्रत्यक्ष सहयोग गरेको थियो। विद्रोह दमन गर्न युक्रेनले बल प्रयोग गर्नसक्ने भन्दै रुसीभाषीहरूको सुरक्षाको बहाना देखाउँदै रुसले क्रिमियामा फेब्रुअरी २७ मा आफ्नो सेना पठायो। क्रिमियाका जनताले युक्रेनबाट अलग हुन चोहको भन्दै रुसले गराएको जनमतसंग्रहमा अलग हुनुपर्छ भन्ने पक्षमा ९७ प्रतिशत मत खस्यो। त्यसपछि युक्रेनको संसद्ले मार्च १७ मा स्वतन्त्र भएको घोषणा ग¥यो भने अप्रिल १५ मा तत्कालका लागि रुसी संघअधीनस्थ रहेको अर्को घोषणा ग¥यो। अमेरिका र युरोपेली युनियनले रुसलाई क्रिमियालाई आफूमा मिलाउने षडयन्त्र नबुन्न चेतावनी दिए पनि सबैखाले चेतावनीको बेवास्ता गर्दै रुसले क्रिमियालाई आफूमा मिलायो।
आईएसआईएसको त्रास

इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस) नामक नयाँ चरमपन्थी संगठनले गत वर्ष इराक र सिरियामा आफ्नो शक्ति प्रदर्शन ग¥यो। सिरियामा राष्ट्रपति बसर अल असदविरुद्ध लडिरहेका आईएसआईएस लडाकूहरूले इराकमा फर्किएर त्यहाँका विभिन्न क्षेत्रलाई कब्जामा लिई पश्चिमी नागरिकको हत्या गर्ने शृंखला चलाएपछि आईएसआईएस संसारभरिका सञ्चारमाध्यममा छाउन पुग्यो।
गत फेब्रुअरीमा अल कायदाको इराक शाखाबाट विद्रोह गरेका चरमपन्थीहरूले आईएसआईएस गठन गरेका थिए। इराक र सिरियामा विशुद्ध सरिया कानुनअनुसार चल्ने इस्लामिक राज्य स्थापना गर्ने लक्ष्य उसले लिएको छ। यसमा आबद्ध लडाकूहरू सुरुमा २० हजारको हाराहारीमा रहेकामा सेप्टेम्बरसम्ममा बढेर ३१ हजार ५ सयजति पुगेको अनुमानित तथ्यांक अमेरिकी गुप्चतर निकायले सार्वजनिक गरेको छ।
आईएसआईएसका चरमपन्थी गतिविधि बढ्दै गएपछि अगस्ट ८ मा अमरिकाले इराकमा क्रियाशील यस संगठनका विभन्नि अखडामा हवाई हमला गरेको थियो। जवाफमा आईएसआईएसका लडाकूले जेम्स फोले र स्टेभिन स्कटलफ नाम गरेका दुई अमेरिकी पत्रकारलाई पक्राउ गरेर उनीहरूको टाउको छेदन गरी यसको भिडियो अनलाइनमा राखिदिएका थिए। आईएसआईएसले सिरियाको कोबानी क्षेत्र र इराकको राजधानी बग्दादमा अझैसम्म बलियो पकड जमाइरहेको छ।
तहसनहस भयो प्यालेस्टाइन

इजरायल र प्यालेस्टाइनबीच गोलाबारी हुनु कुनै नौलो कुरा होइन। तर, गत वर्ष उनीहरूबीचको भिडन्तले भयानक रूप लियो। भिडन्त भन्दा पनि यसलाई धेरैले प्यालेस्टाइनमाथि इजरायलले मच्चाएको बर्बरताका रूपमा व्याख्या गरेका थिए। नेपालमा पनि इजरायली आक्रमणको विरोधमा प्रदर्शन भएको थियो।
विवादित पश्चिम किनारबाट तीन जना इजरायली किशोरहरू बेपत्ता भएपछि भिडन्त सुरु भएको थियो। प्यालेस्टाइनी पक्षले इजरायली किशोरहरूलाई अपहरण गरेर हत्या गरेको भन्दै इजरायली पक्षले पश्चिम किनारमा बमबारी गरेको थियो। तर, प्यालेस्टाइनको मुख्य संगठन हमासले अपहरण र हत्यामा आफूहरूको संलग्नता नरहेको प्रस्ट पारेको थियो। तर, इजरायलले एकपक्षीय बमबारीमा परी १७ सय ७७ प्यालेस्टाइनीहरूको मृत्यु भयो। इजरायली पक्षका भने ६८ जनाको मृत्यु भयो। साथै, इजरायली सैनिकले हमासको समर्थक भएको आशंकामा तीन सय प्यालेस्टाइनीलाई पक्राउ गरेको थियो।
इजरायलले विशेष गरी गाजापट्टीमा आक्रमण केन्द्रित गरेको थियो। गाजा र इजरायल जोड्नेगरी हमासले बनाएको सुरुङसमेत इजरायली सेनाले ध्वस्त गरिदिएको थियो। चर्को अन्तर्राष्ट्रिय दबाबका कारण ५१ दिन लामो आक्रमणपछि इजरायलले आक्रमण रोकेको थियो।
जर्मनीलाई विश्वकप

ब्राजिलमा आयोजना भएको २० औँ विश्वकपको उपाधि जर्मनीले जित्यो। फाइनलमा अर्जेन्टिनालाई हराउँदै जर्मनीले उपाधि जितेको थियो।
१२ जुनदेखि १३ जुलाइसम्म विश्वकप आयोजना भएको थियो। ३२ दिन सम्म चलेको विश्वकपमा ३२ देशले एकअर्काबीच प्रतिस्पर्धा गरेका थिए।
विश्वकपमा जम्मा ६४ वटा म्याच भएका थिए। ब्राजिलका १२ विभिन्न शहरमा खेल खेलाइएको थियो। विश्वकपमा ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन, इंग्ल्यान्ड, इटाली, उरुग्वे र जर्मनीजस्ता उपाधिविजेताहरूले स्पर्धा गरेका थिए। स्पेन, इटाली र इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिएका थिए। उरुग्वे राउन्ड १६ बाट र फ्रान्स क्वार्टरफाइनलबाट बाहिरिएको थियो। त्यस्तै, ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग हार बेहोरेको थियो। यसपटकको विश्वकपमा नेदरल्यान्ड्स तेस्रो र ब्राजिल चौथो भएको थियो।
इबोलाको महामारी

गत वर्ष इबोला नामक नयाँ रोगले संसारभरिका मानिसलाई ठूलो त्रासमा राख्यो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पश्चिम अफ्रिकामा इबोला भाइरसका कारण करिब पाँच हजार मानिसको मृत्यु भइसकेको छ। त्यसैगरी १० हजारभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित छन्। इबोलाको महामारीले पश्चिम अफ्रिकी मुलुकलाई बढी चपेटामा पारेको थियो। त्यस्तै, अमेरिका र स्पेनमा पनि इबोला रोगी फेला परेका थिए।
इबोला एक किसिमको भाइरस हो, जसले संक्रमित मानिसको मृत्यु गराउँछ। यो रोग कसरी उत्पन्न भयो भन्नेबारे यकिन जानकारी अझै प्राप्त भइसकेको छैन। इबोलाग्रस्त जनावरको शरीरमा रहेका रगतलगायत तरलपदार्थ मानिसको शरीरमा कुनै माध्यमबाट प्रवेश गरेपछि यो रोग उत्पत्ति भएको अनुमान गरिएको छ। यद्यपि, विश्व स्वास्थ्य संगठनले मानिसबीचको सम्पर्कबाट मात्रै यो रोग फैलिने स्पष्ट पारिसकको छ।
इबोला भाइरसबाट ग्रस्त मानिसको शरीरबाट निस्किने स्रावबाट यो भाइरस सर्ने गर्छ। त्यसैले स्वास्थ्यकर्मीलाई यो भाइरस सर्ने सम्भावना बढी हुन्छ। इबोला आतंक फैलिएको अफ्रिकी मुलुक लाइबेरियाका ५० स्वास्थ्यकर्मीमध्ये एकमा यस्तो भाइरस फेला परेको जनाएको छ।
इबोला भाइरसबाट मुक्त भएका बिरामीले निको भएको ९० दिनसम्म सेक्स गर्नु हुँदैन। इबोला भाइरस वीर्यमा लामो समयसम्म जीवित रहन सक्छ। त्यसैले इबोलाबाट मुक्ति पाएको ९० दिनसम्म सेक्स नगर्न डाक्टरहरूले सल्लाह दिने गरेका छन्। सेक्स गर्नै परे कन्डम अनिवार्य लगाउन उनीहरूले सार्वजनिक रूपमा सूचना जारी गरिसकेका छन्।
काश्मिरमा बाढीको उत्पात

बिरलै देखिने खालको ठूलो बाढी–पहिरोको चपेटामा गत वर्ष काश्मिर पर्यो। भारतअधीनस्थ जम्मु र काश्मिर क्षेत्र, पाकिस्तानअधीनस्थ आजाद काश्मिर, गिल्गिट–बाल्टिस्तान क्षेत्र, पाकिस्तानमा रहेको पञ्जाबलगायत क्षेत्रमा सेप्टेम्बर २ देखि बाढी–पहिरोको प्रकोप सुरु भएको थियो।
बाढी–पहिरोले हजारौँ गाउँ तहसनहस बनायो भने अन्य हजारौँ गाउँलाई आंशिक रूपमा क्षति पु¥यायो। बाढीपीडितहरूको उद्धारका लागि भारतीय सेनाको विशेष डफ्फा, ८२ वटा हेलिकोप्टर र विमान भारतले परिचालन गरेको थियो। भारतीय उद्धारकर्मीहरूले जम्मु र काश्मिर क्षेत्रबाट मात्रै दुई लाख मानिसको उद्धार गरेका थिए। बाढीबाट भारतमा २ सय ७७ र पाकिस्तानमा २ सय ८० मानिसको मृत्यु भयो।
टर्कीको कोइलाखानीमा विनाश

गत वर्षको मे १३ टर्कीको इतिहासको सबैभन्दा खराब दिन साबित भयो। टर्कीको सोमा क्षेत्रमा रहेको एउटा कोइलाखानीमा ३ सय १ श्रमिकको मृत्यु भयो भने ८० जना घाइते भए। यसअघि यति ठूलो संख्यामा श्रमिकहरूको ज्यान गएको थिएन।
खानीभित्र भएको विष्फोटपछि दुर्घटना निम्तिएको थियो। विष्फोटपछि खानीबाट बाहिर निस्कने एलिभेटर बन्द भयो। विष्फोटका कारण खानीभित्र कार्बन मोनोअक्साइडलगायत विषालु ग्यास फैलिन पुग्यो। विषालु ग्यासमा निसास्सिएर त्यति धेरै श्रमिकको सामूहिक मृत्यु भएको थियो। खानीमा ७ सय ८७ मजदुर काम गरिरहेकामा ४ सय ८६ जनालाई बचाउन सकिएको थियो।
हरायो मलेसिया एयरलाइन्सको विमान

मलेसिया एयरलाइन्सको एमएच ३७० विमान गत मार्च ८ मा बेपत्ता भयो। क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको सो विमान गन्तव्यमा नपुगी कहाँ पुग्यो भन्नेबारे अझैसम्म पत्ता लागेको छैन।
मार्च ८ मा स्थानीय समयअनुसार दिउँसो १२.४० मा उडेको सो विमानमा १४ देशका २ सय २७ यात्रु सवार थिए। विमानका कर्मचारी १२ जना थिए। क्वालालम्पुरबाट उडेको करिब एक घण्टापछि राडारसँग विमानको सम्पर्क विच्छेद भयो र एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क पनि टुट्यो। यसरी सम्पर्कविहीन भएको विमान बेपत्ता भएर कहाँ पुग्यो भन्ने जानकारी अझैसम्म प्राप्त हुन सकेको छैन। विमान थाइल्यान्डको खाडी क्षेत्रमा पुग्दासम्म यसको भेउ पाइएको थियो। त्यसपछि कहाँ पुग्यो, कसैलाई थाहा छैन। प्राविधिक त्रुटि, खराब मौसम केही नभएको बेलामा कसरी विमान हरायो भन्ने रहस्य अझै सुल्झिन सकेको छैन।
धूम्रकेतु पुग्यो युरोप

दशकौँ लामो प्रयत्नपछि युरोपेली वायुयान धूम्रकेतु (कोमेट) मा फन्को लगाएर त्यसमा अवतरण हुन सफल भएको छ। मार्च २ मा उडेको युरोपियन स्पेस एजेन्सीको यान ६ अगस्टमा धूम्रकेतुमा अवतरण गरेको थियो। यसअघि कुनै वायुयानले यसरी धूम्रकेतुमा अवतरण गर्न सकेको थिएन।
अवतरण गर्ने वायुयानलाई रोसेटा नाम दिइएको थियो। जर्मनीमा रहेको युरोपियन स्पेस अपरेसन सेन्टरले वायुयानलाई जमिनबाटै परिचालन गरेको थियो।
वायुयानले धूम्रकेतुबाट पानीको बाफ उडिरहेको तस्बिर र भिडियो खिचेको थियो। तर, त्यहाँको बाफ पृथ्वीमा पाइने बाफभन्दा भिन्न देखिएको छ।
पाकिस्तानमा बालबालिकामाथि हमला

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरस्थित एउटा सैनिक स्कुलमा डिसेम्बर १६ का दिन बन्दुकधारी तालिबान लडाकूले हमला गर्दा सयभन्दा बढी बालबालिकासहित कम्तीमा १ सय ५० जनाको मृत्यु भयो। आक्रमणमा परी २ सय ४५ भन्दा बढी विद्यार्थी घाइते भए। स्कुलमा करिब पाँच सय विद्यार्थी थिए।
स्कुलभित्र पसेर आतंक मच्चाउने आतंकवादीहरू सबैलाई पाकिस्तानी सैनिकले आठ घण्टा लामो कारबाही गरेर निर्मूल गरेको थियो। तालिवानले सेनाले आफूविरुद्ध चलाएको सैन्य अभियानको प्रतिशोधमा विद्यालयमा आक्रमण गरेको जनाएको थियो। सो घटनालाई तालिबानले पाकिस्तानमा गरेको अहिलेसम्मकै ठूलो आतंकवादी हमला मानिएको छ। तालिवानअन्तर्गत तहरिक–ए–तालिबान समूहले आक्रमणको जिम्मेवारी लिएको थियो।
स्थानीय समयअनुसार बिहान करिब साढे १० बजे सैनिक पोसाक लगाएका बन्दुकधारीले विद्यालय परिसरमा पसेर स–साना केटाकेटीमाथि अन्धाधुन्ध गोली चलाएका थिए। एक आत्मघाती चरमपन्थीले पढाइ भइरहको एउटा कक्षामा गएर आफैँलाई विष्फोट गराएका थिए।
तालिबान प्रवक्ता मुहम्मद उमर खुरासानीले विद्यालयमा हमला गर्न छजना आत्मघाती बन्दुकधारीलाई पठाएको जनाएका थिए। तालिबान लडाकूका परिवार र महिलामाथि सरकारले गरेको आक्रमणको बदला लिन लिन आफूहरूले सैनिक स्कुल छानेको उनले बताएका थिए। 'उनीहरूले पनि आफन्त गुमाउँदाको दुःख र पीडा महसुस गरून् भनेर हामीले आक्रमण गरायौँ,' उनले भने ।
आक्रमणपछि प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानमा तीनदिने शोक घोषणा गरेका थिए। यस आक्रमणपछि पाकिस्तानले आतंकवादमा लाग्नेलाई मृत्युदण्ड दिने नियम पुनः लागू गरेको छ।
बोको हरामद्वारा 'मास किडन्याप'

नाइजेरियामा क्रियाशील इस्लामिक चरमपन्थी संगठन बोको हरामले गत वर्ष २ सय ७६ छात्राको सामूहिक अपहरण गर्यो। नाइजेरियाको चिबोक शहरस्थित एउटा विद्यालयबाट बोको हरामले यति धेरै छात्रालाई एकैपटक अपहरण गरेको हो। बोको हरामले नाइजेरियामा सरिया कानुनअन्तर्गत चल्ने शासन लागू गर्ने उद्देश्य राखेको छ।
पश्चिमी मोडलको शिक्षा पद्धतिलाई 'आपराधिक कृत्य'को संज्ञा दिँदै आएको बोको हरामले यस्तै शिक्षा लिएको आरोपमा ती छात्राहरूको अपहरण गरेको थियो। सन् २००३ देखि नाइजेरियामा बढी क्रियाशील भएको बोको हरामलाई अमेरिकाले आतंकवादी संगठनको सूचिमा राखेको छ। अफगानिस्तानमा अमेरिकाविरुद्ध संघर्षरत तालिवानहरूसँग आफूहरूको भ्रातृत्व सम्बन्ध रहेको उसले यसअघि जनाइसकेको छ।
गत अप्रिल १४ मा चिबोक शहरमा रहेको सरकारी स्कुल परिसरमा बोको हरामका लडाकूहरू सुरक्षाकर्मीको भेषमा प्रवेश गरेका थिए। स्कुलभित्र पसेर उनीहरूले छात्राहरूलाई आफूहरूसँगै हिँड्न भने। सबै छात्रालाई ट्रकमा हालेर साम्बिसा जंगलक्षेत्रमा लगे। यस क्षेत्रलाई बोको हरामका लडाकूहरूले आश्रयस्थल बनाउँदै आएका थिए। छात्राहरूलाई लैजाने क्रममा बोको हरामका लडाकूहरूले बाटोमा पर्ने कतिपय घरमा लागो लगाइदिएका थिए।
यसरी अपहरणमा परेका छात्राहरू इसाईलगायत धर्म मान्ने परिवारका थिए। अपहरण गरेर लगिएका कतिपय छात्रालाई बोको हरामले आफ्ना सदस्यहरूसँग बिहे गर्न र इस्लाम कबुल गर्न दबाब दिएको थियो। प्रचलित संस्कृति नियमअनुरूप जनही साढे १२ डलर दाइजो दिएर बोको हरामका सदस्यले उनीहरूसँग जबर्जस्ती बिहे गरेका थिए। यद्यपि, कति छात्रालाई अपहरण गरिएको थियो, कति छात्रा मुक्त भए र कति बेपत्ता भए भन्ने यकिन जानकारी अझै आउन सकेको छैन।
प्रकाशित: १७ पुस २०७१ ११:२७ बिहीबार



