स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाहुनाको स्वास्थ्य ख्याल गर्दै उनीहरू बस्ने सोल्टी होटल, सम्मेलनस्थल राष्ट्रिय सभागृह र सवारी आवागमनका क्रममा कार्गेटमा समेत चिकित्सकसहितको मेडिकल टिम खटाएको हो।मन्त्रालयका सचिव डा. शान्तबहादुर श्रेष्ठका अनुसार विशिष्ट अतिथिहरू रहने सोल्टी होटल परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीसहित १६ जनाको टिम खटाइएको छ। त्यहाँ वीर अस्पतालका विज्ञ चिकित्सकसहित टोली खटाइएको हो। उक्त टोलीमा चार मेडिकल कन्सलटेन्ट, दुई रेजिडेन्ट डाक्टर, दुई एनेस्थेसियोलेजिस्ट, पा“च नर्स र तीन पारामेडिक रहेका छन्।
होटल परिसरमा विशिष्ट अतिथिलगायत सार्क सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिको सहयोगका लागि आकस्मिक उपचार सुविधासहितको एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको टोलीमा सहभागी स्वास्थ्यकर्मी खुबराज आचार्यले जानकारी दिए। ‘उहाँहरूको उपचार र स्वास्थ्य परीक्षणका लागि सबै तयारी पूरा भइसकेको छ,' उनले भने, ‘जस्तोसुकै समस्या आइपरे पनि हामी उपचार सेवा प्रदान गर्ने अवस्थामा रहेका छौं।'
मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीका अनुसार सम्मेलनस्थल सभागृहमा निजामती अस्पतालका चिकित्सकको टोली खटिनेछ। ‘सम्मेलनस्थलमा समेत उपचारमा कुनै समस्या आउन नदिन विशेष टोली व्यवस्था गरिएको हो,' उनले भने, ‘सम्मेलनस्थलमा समेत विशेषज्ञ चिकित्सक, नर्ससहित अन्य स्वास्थ्यकर्मीको टोली रहनेछ।' उनका अनुसार सम्मेलनस्थलमा समेत सबै सेवासुविधाले भरिपूर्ण रहेको एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।
भिआइपी गुड्ने तथा आउजाउ गर्ने सडकमा समेत चिकित्सकसहितको एम्बुलेन्स गुडाउने तयारी छ। डा. लोहनीले पाहुनाको स्वास्थ्य सुरक्षाका लाागि तालिमप्राप्त चिकित्सकसहितको टोली र दक्ष प्राविधिकसहितको ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए। उनका अनुसार तीमध्ये ८ वटा एम्बुलेन्सलाई प्रत्येक देशका सवारीका क्रममा एक–एकवटाका दरले र बाँकी तीन एम्बुलेन्समध्ये एउटा होटलमा, एउटा सम्मेलनस्थलमा र अर्को एउटा अलर्ट बनाएर राखिनेछ। सबै एम्बुलेन्समा वरिष्ठ चिकित्सकसहित दक्ष प्राविधिक र आवश्यक पर्ने उपकरण राखिएको उनले जानकारी दिए।
यस्तै, विशिष्ट व्यक्तिको स्वास्थ्यमा आउन सक्ने समस्या उपचार गर्न शिक्षण अस्पताल पनि तयारी अवस्थामा राखिएको छ। अस्पतालले विशिष्ट व्यक्तिको उपचारका लागि भन्दै एउटा आइसियुमा एउटा बेड, चारवटा डिलक्स बेड तथा एउटा अपरेसन थियटर तयारी अवस्थामा राखेको जनाएको छ। अस्पतालले १२ गतेसम्म सार्क ओपिडी तथा इमर्जेन्सी सेवा दिने गरी सबै व्यवस्था गरेको अस्पतालका निर्देशक डा. दीपक महराले जानकारी दिए।
उनका अनुसार अस्पतालले इमर्जेन्सी वार्डमा एउटा ट्रली बेडसमेत छुट्ट्याएको छ। सेवामा खटिने डाक्टर, अति आवश्यक पर्न सक्ने औÈधि, इसिजी मेसिन, इकोलगायतका उपकरणसमेत व्यवस्था गरिएको छ। उपचारका क्रममा सबै विभागीय प्रमुख तथा विÈेशज्ञको सहयोग आवश्यक पर्ने भन्दै अस्पतालले सार्क अवधिभर चौबिसै घन्टा उपस्थित हुन सबै डाक्टरलाई निर्देशनसमेत दिइसकेको छ। यसका साथै मन्त्रालयले आर्मी, नर्भिक अस्पताललाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
प्रकाशित: ९ मंसिर २०७१ २३:०९ मंगलबार



