सार्कका राष्ट्राध्यक्ष/सरकार प्रमुखको स्वागतार्थ ती टोलीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गैरीगाउँ, तिनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालीमाटी र सोल्टीमोडलगायतका स्थानमा देख्न सकिन्थ्यो।
विमानस्थलदेखि सोल्टी होटलसम्मको सवारी मार्गका विभिन्न भागमा नेपालका विविध जातजाति र समुदायले आ–आफ्नो भेषभूषा झल्किने परम्परागत पहिरनमा विशिष्ट अतिथिको मुलुकका राष्ट्रिय झन्डा फहराउनुका साथै परम्परागत बाजा बजाएर स्वागत गर्ने व्यवस्था सरकारले मिलाएको हो।

ती टोलीमा खासगरी सुनुवार, नेवार, राई, लिम्बू, शेर्पा, थारु, तामाङलगायतका जाति तथा समूहले आफ्ना बाजागाजासहित विशिष्ट अतिथिहरुको स्वागत अभिवादन गरेका थिए।
सांस्कृतिक संस्थान र राष्ट्रिय नाचघरको संयोजनमा उक्त टोली परिचालन गरिएको हो। सार्क सम्मेलन मुलुकको पहिचानसँग जोडिएका कारण यसखालको प्रदर्शन गरिएको जनाइएको छ।
अतिथिहरुको स्वागतका लागि नेपाल सरकारले विभिन्न् स्थलमा स्वागतद्वार बनाउनुका साथै त्यसमा सार्क शिखर सम्मेलनको मूल नारा 'शान्ति र समृद्धिका लागि गहन सम्मिलन' लेखिएका तुल राखिएका छन्।

यस्तै, नेपालका विभिन्न पर्यटकीय स्थल, जनावर, हिमाल, तराई, पहाड, तालतलैया, मन्दिर गुम्बासहितका प्राकृतिक सम्पदा एवम् धार्मिक स्थलको पहिचान झल्कने तस्बिर पनि सडक किनारामा राखिएका छन्। रासस

तस्बिरहरु: विजय गजमेर
प्रकाशित: ९ मंसिर २०७१ ०६:४४ मंगलबार



