अन्य

जे छ, ग्ल्यामर क्षेत्रमै छ

बेलुका फिट्नेस सेन्टरमा। दिउँसो मोडलिङ ओरिएन्टेसन कार्यक्रममा। अर्को दिन मेकअप क्लासमा। धरानकी मन्दिरा लामिछाने सक्रिय छिन्।
आफ्नै पारिवारिक व्यवसाय बराह ज्वेलरी इन्डस्ट्रिजका गहनाको मोडलिङ गरिसकेकी उनले भनिन्, 'ग्ल्यामर क्षेत्रलाई नजिकबाट बुझ्न चाहन्छु। यसमा ठूलो सम्भावना देखेकी छु।'पूर्वमा यतिबेला ग्ल्यामर क्षेत्रमा सम्भावना खोज्नेहरू बढिरहेका छन्। र्‍याम्प र फोटो सुट गरेर मोडलिङको अनुभव बटुलेकी विराटनगरकी पूजा श्रेष्ठ पनि यसै क्षेत्रमा केही गर्न चाहन्छिन्। पेशाले नर्स हुन् इटहरीकी सरु ढकाल। तर, उनलाई पनि ग्ल्यामर क्षेत्रमा करिअर बनाउने रुचि छ। भन्छिन्, 'यो क्षेत्रमा लागेर केही गर्न सकिन्छ कि भनेर सम्भावना खोजिरहेकी छु।'
पूर्वका धरान, इटहरी, विराटनगर, दमक, तेह्रथुमलगायत धेरै ठाउँका युवतीहरू ग्ल्यामर क्षेत्रमा भविष्य बनाउन चाहन्छन्। तर, अधिकांशको गुनासो छ, पूर्वमा अवसरै छैन। ग्ल्यामर क्षेत्रमा चम्किन कतिपय युवती काठमाडौँसम्म पुग्ने गरेका छन्। त्यहाँ संघर्ष गर्ने क्रममा कतिले अनेक दुख भोग्छन्, कति शोषणमा पर्छन्।
पूर्वमै बसेर यस क्षेत्रमा व्यवसायिक बन्न मुस्किल पर्ने बताउँछिन् धरानकी रेखा लिम्बू। भन्छिन्, 'पूर्वमा गर्न खोज्दा पनि अवसर कम छन्। एउटा राम्रो फोटो खिच्न पनि काठमाडौँ जानुपर्ने अवस्था छ।'
अवसरका कमीले गर्दा यस क्षेत्रमा रुचि भएकाहरू पनि पलायन हुन थालेपछि मिस पूर्वाञ्चलका आयोजक र मिस लिम्बूका आयोजक सदस्य मिलेर धरानमा दुई पटक ग्ल्यामर क्षेत्रसम्बन्धी ओरेन्टेसन कार्यक्रमको आयोजना गरिसकेका छन्। पछिल्लो पटकको कार्यक्रममा मिस पूर्वाञ्चल नेमिता आङ्बुहाङ, मिस नेपालका सहभागी वर्षा राई, नेहा बजाजलगायत पूर्वका २४ युवती सहभागी थिए। कार्यक्रम आयोजक मध्येकी एक मिना सिंगक भन्छिन्, 'कार्यक्रम आयोजना गरे पनि उनीहरूलाई राम्रो अवसर दिन सकेका छैनौँ। हामी पनि सम्भावनकै खोजीमा छौँ।'
पूर्वमा ग्ल्यामर क्षेत्रमा भविष्य बनाउन चाहनेलाई जम्मा गरी प्रशिक्षण दिने, त्यसपछि काठमाडौँबाट प्रोफेसनल ग्ल्यामर फोटोग्राफर ल्याएर फोटोसुट गराउने अनि उनीहरूको पर्सनल प्रोफाइल तयार पार्ने योजना रहेको बताउ"छन्, मिस पूर्वाञ्चलका क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमाल। 'ग्ल्यामर क्षेत्रमा लाग्न चाहनेहरूस"ग आफ्नो प्रोफाइलसम्म छैन, न राम्रो फोटो। उनीहरूको मार्केटिङ गर्नका लागि प्रोफाइल तयार पार्दैछौँ। त्यसलाई एजेन्सी, कम्पनी र आयोजकसम्म पुर्‍याउँछौँ,' उनी भन्छन्।
हालै मिस नेपालमा सहभागी भएर आएकी मिस पूर्वाञ्चल २०१३ नेहा बजाज पूर्वमै ग्ल्यामरको भविष्य खोज्न सके यही प्रशस्त सम्भावना रहेको बताउँछिन्। भन्छिन्, 'ग्ल्यामर क्षेत्रमा व्यावसायिक बन्न चाहेपछि बेसिक तयारी र ज्ञानको आवश्यकता पर्छ। सुरुमा त्यसैलाई सुधार गरेर अघि बढ्नुपर्छ।' ग्ल्यामर क्षेत्रमा लागेका र लाग्न चाहनेलाई समेटेर संस्थागत रूपमा अघि बढ्ने सोच भएको सुनाउँछन्, मिस पूर्वाञ्चलका कार्यक्रम संयोजक सौगात रिजाल। 'टिम बनाएर आफैँ पनि लगातार ब्युटिप्याजेन्ट गर्ने, म्युजिक भिडियो, स्टेज शोमा मोडलिङ गर्नेलाई व्यावसायिक बनाउने योजना छ। त्यसपछि पूर्वको ग्ल्यामर क्षेत्रले फड्को मार्छ,' उनी भन्छन्।

प्रकाशित: १५ जेष्ठ २०७१ ०९:२५ बिहीबार