अन्य

स्मृतिमा अल्भि्कएका काठमाडौंका अतीत

न म वा गि स्व रा य : य रा स्व गि वा म न : मेरो विद्या आर्जनको प्रारम्भ यिनै ७ अक्षर घोकेर सुरु भयो।
एकपटक सुल्टोबाट र अर्कोपल्ट उल्टोबाट। आँखा चिम्लेर उच्च आवाजमा कराउँदै पढ्थ्यौं। काठमाडौंको महाबौद्ध टोल।बौद्ध चैत्यको तीन नेत्र सधैं आँखा अगाडि हुन्थ्यो। बार्दलीजस्तो बाहिर निस्केको कौसीमा चार–पाँचजना पलेटी कसेर पढ्न बस्थ्यौं। हुक्कानली लिएर बुबा हामीलाई पढाउन बस्नुहुन्थ्यो। एकजना ब्राह्मण बालक हाम्रै कौसीमुनि आएर हाम्रो भाका छोप्दै भन्थे 'न म वा गि स्व रा ये : मेरो पेटमा भोक लागे।' केही खाने कुरा दिएपछि उनी त्यहाँबाट हिँड्थे र हामी रमाउँथ्यौं।
विक्रम सम्वत् २००० तिरको कुरा हुँदो हो। त्यसबेला म कालो स्लेटको पाटीमा लेखपढ गर्थें। मेरा केही मित्र काठको फल्याकमा लेख्थे। त्यसलाई गोरः (ग्वरः) भनिन्थ्यो। अचेलको क्रिकेट ब्याटले त्यही गोरः को सम्झना दिलाउँछ। दुई–तीन बित्ताको बाक्लो फल्याक र त्यसमा सानो हाते बिँड हुन्थ्यो। बिँडमा सानो प्वाल र प्वालमा धागोको मोटो सुतली गोरःलाई अरू बेला भित्तामा झुन्ड्याइराख्नुपर्थ्यो। खुट्टा पर्‍यो भने ढोग्नुपर्छ। माता सरस्वतीको आराधना त्यसमा लेखिएको जो थियो। रातो माटोले लिपिएको ग्वरःमा खरीको सेतो अक्षरले लेखिएको हुन्थ्यो–न म वा गि स्व रा य : । 
मेरा बुबा मुल्की अड्डाका खरिदार थिए। राज्यको अर्थ व्यवस्था मिलाउने कार्यालय। मेरो जन्मकालमा उहाँको जागिर थिएन। जुद्ध शमशेरको पजनीमा परेको रे। तैपनि बुबालाई खरिदार साहेब भनेरै सम्बोधन गरिन्थ्यो। उहाँ जीवनभर खरदार साहेब नै भएर बाँच्नुभयो र म खरदारको छोरो। बुबा वकालत र लेखनदासको काम गर्नुहुन्थ्यो। घरमा टाढाटाढाका झगडिया आउँथे। माटन चोटामा उनीहरूलाई बास पनि दिइन्थ्यो। लामो नेपाली कागजलाई घुँडामा अडाएर लेख्नुहुन्थ्यो। कागज एकपछि अर्को टाँसेर लामो लामो हुँदै जान्थ्यो। पाना छुट्टिएका हुँदैनथे। बेरिएर रोल, मुठा बन्थ्यो। निगालोको कलमले कालो मसिमा चोपेर लेख्नुहुन्थ्यो। मसी पनि आफैं बनाउनुहुन्थ्यो। भन्नुहुन्थ्यो– कागज बागलुङबाट आउँछ। तर, कलम भने डोटीको निगालोबाट बन्छ। फुर्सदमा हुक्का तान्दा त्यसको नली पनि डोटीकै निगालो हो भन्नुहुन्थ्यो। नलीमा राम्रो राम्रो बुट्टा कुँदिएको हुन्थ्यो। तासको बादशाह, मेम र गुलाम मेरो बुबाको नलीमा कुँदिएका थिए। पढ्नमा अल्छी गर्‍यो भने वा काममा बदमासी गर्‍यो भने त्यही नलीको कुटाइ खानु आफ्नो नियति बन्थ्यो। छोरालाई मात्र कुट्थे नलीले। छोरीलाई कहिल्यै कुटेनन् मेरा बुबाले। 
बुबाले जस्तो नेपाली कागजमा मैले लेख्नु परेन। हामी देशी कागजमा लेख्थ्यौं। हात्तीमार कापी थियो। त्यसबेला विदेशी माललाई देशी भन्ने चलन थियो। त्यस्तै विदेशी हाम्रो कलम थियो। पित्तलको निब र काठको होल्डर। निलो मसी किन्न पाउँथ्यो। स्वान इंक वा पार्कर इंक। त्यसो त हामी घरमा नै रङ किनेर ल्याई मसी बनाउँथ्यौं। कहिलेकाहीँ मसीदानी घोप्टिएर कोठामा ओछ्याइएका लम्पट र राडीमा दाग बस्थ्यो। त्यसो भए नलीको चोटले ढाडमा पनि निलै टाटो खानुपर्ने। त्यसपछि आमा र बुबाको झगडा सुरु हुन्थ्यो– छोरालाई कुट्यो भनेर। अलिअलि दुखेको ठाउँमा तेल घसिदिँदा पनि ठूलै आवाजले 'ऐया ऐया दुख्यो' भन्ने अभिनयले आमालाई अझ क्रोधित बनाउने हाम्रो 'ट्याक्टिस' पनि कम थिएन। 
स्कुल जान थालेपछि कमिजको बगलीमा फाउन्टेन पेन भिर्ने भैगएँ। मेरो गौरवको विषय थियो फाउन्टेन पेन। मसी लागेको औंला र मसी लागेको कमिजमा साथीमाझ खेल्न जाँदा महाबौद्ध बहालमा मेरो फूर्ति नै अर्को। आजभोलिको ५० हजार रुपैयाँ पर्ने स्मार्ट मोबाइल फोनको फूर्ति थियो मेरो फाउन्टेन पेनमा।
ड्रइङ गर्न अर्थात चित्र कोर्न सिसाकलम थियो। भिनस पेन्सिल राम्रो थियो। पेन्सिल ताछ्न मेरा बुबा सिपालु। पेन्सिल कटर थिएन। कर्दले वा चक्कुले पेन्सिल ताछ्नुपर्ने। ब्लेडले घाउ हुने डर। कक्षा ८, ९ र १० मा हाम्रा ड्रइङ मास्टर साहेब हुनुहुन्थ्यो तेजबहादुर चित्रकार। मलाई सिसाकलमको रङ साह्रै मन पर्न थाल्यो। सिसाकलमबाटै निलो आकाश, सेतो बादल वा रातो सूर्य कोर्न सक्ने भएँ। रुखलाई हरियो बनाउँथेँ र गुलाबलाई रातो। फगत सिसाकलमले कोरेर। किशोर अवस्थामा पुगेपछि लुकीलुकी फिल्मी हिरोइनका चित्र कोर्न थालेँ। 
सुरैयाको गालामा लाली रङ लगाइदिएँ। कामिनी कौशलको ओठमा लिपिस्टिक पोतिदिएँ। आशा पारेखको निधारमा रातो टीका लगाइदिएँ। मेरो सिसाकलमबाट सबै रङ पोतिन्थ्यो। 
भर्खरै मेरी एक नातिनी (भान्जी नातिनी) भारतबाट पढाइ सकेर काठमाडौं आइन्। मामा बाजेसँग गफ गर्ने भइछन्। केही समय माथिको कोठामा बसिन्। एकैछिनमा हातको मोबाइलले आफ्नै तस्बिर खिचेर देखाइन्। त्यसलाई 'सेल्फी' फोटो भनिँदो रहेछ। मेरो भिनस पेन्सिललाई माथ गरेर त्यसको सबै अधिकार हनन् गरेर जमानालाई नै चकित पार्दैछ सेल्फी पिक्चरले। सेल्फीको लत किशोर किशोरीलाई मत्र होइन, अमेरिकाका उपराष्ट्रपति र राष्ट्रपतिहरूलाई पनि बस्न थालेछ। छापाभरि त्यही छ। फेसबुकभरि त्यही। 
अर्की नातिनी मेरो स्लेटको पाटीजस्तै सानो ल्यापटपमा औंला चलाउँदै थिइन्। अक्षर लेख्दै थिइन्। अक्षर उही छन्। पाटी बदलियो। कलम हराए। मसी, मसीदानी बिलाए। समयले कोल्टो फेरेछ। बागलुङका स्लेटमा कोरिएका अक्षर र सिसाकलमले कोरेका चित्र आजभोलि जापानी ल्यापटप र डेस्कटपमा आफैं प्रकट हुन्छन्। हातहातको मोबाइल फोनमा देखा पर्छन्। सबै कुरा सजिलो भएजस्तो लाग्छ। सबैतिर सुविधा छ। मात्र बाँच्न गाह्रो छ आजभोलि काठमाडौंमा।
आजभोलि प्रत्येक बिहानी नेपाल डेरीको दूध लिन बिहान ७ बजे नै सानेपा चोक निस्कन्छु। प्लास्टिकका पोकामा दूध पाइन्छ। आधा लिटरको २८ रुपैयाँमा। सानोमा २००१।०२ सालतिर काँसको लोटा लिएर असन टोलमा दूध किन्न जानुपर्थ्यो। पसले काकाको नाम पनि जलकृष्ण थियो। पाँच पैसाको दूध एकचौथाइ लिएर घर आउँदा दूध पातलो देखेर जलकृष्णले पानी नहाली के दूध बेच्छ र भन्दै फनफन गर्नुहुन्थ्यो मेरो बुबा। त्यो दूध नि आफूले खान पाउने हैन। ज्वरो आएकी बहिनीलाई दूध खुवाउनुपर्थ्यो। दूध खाने लोभ गर्‍यो भने 'अश्वत्थामा' लाई जस्तै दूध पिलाइदेन भन्नुहुन्थ्यो। अश्वत्थामा सानो छँदा दूध पिउन माग्दा उसको आमाले कनिका पिँधेर सेतो पानी पिलाएको थियो रे भनी आमा कथा सुनाउनुहुन्थ्यो। काठमाडौंमा दूध पिउने औकातका मानिस कमै थिए। गाई पाल्नुपर्ने अवस्था थियो। त्यतिबेलाको सम्पूर्ण नेपालको जनसंख्या ५२ लाख अहिले काठमाडौंभित्रै खाँदिएको छ। अधिकांश काठमाडौंबासीलाई दूध पुर्‍याउने व्यवस्था छ। दुग्ध विकासको यो अवस्थाले आजभोलि काठमाडौंमा दूध सहज र सजिलो छ, तर गाउँहरूमा दूध पाउन गाह्रो छ। 
हिजो साँझ एकैछिन बिरामी कुर्न सर्वाङ अस्पताल कुपण्डोल पुगेँ। पिउने पानी चाहियो। एक बोतलको २० रुपैयाँमा लिएँ। प्लास्टिक बोतलले कति पैसा खायो। ढुवानीमा कति पर्‍यो। कम्पनीले कति नाफा खाए? पसले साहुनीले कति पाइन्? केही थाहा भएन। मात्र सम्भि्कबसेँ– मैले मेरो यही जुनीमा पानी पनि किनेर खानुपर्ला भनी कल्पनासम्म गरेको थिइनँ। वीरधाराको पानी खान्थ्यौं महाबौद्ध टोलमा। बिहानीको ६ बजे नै टोलभरिका महिला धारामा पुग्थे पित्तल र तामाका गाग्री बोकेर। अहिले जस्तो प्लास्टिक र टिनका हजारौं जर्किनको लाइन हुँदैनथ्यो हाम्रो टोलको धारामा। कम्मरमा पटुका बाँधेर गाग्रोमा पानी ओसार्ने काममा आमा, कान्छीआमा, भाउजू, दिदी र बहिनीहरू पनि प्रत्येक बिहानी र साँझ सार्वजनिक धारा र बुइँगलमा ओहोरदोहोर गर्थे। भर्‍याङमा चढ्दा पानीलाई कसैले नाघिदेला भनी 'विन्हा वि ...' (हट है हट ..., छोड है छोड ...) भन्दै आवतजावत गर्थे। मर्निङवाकको आवश्यकता नै पर्दैनथ्यो।
पछि घरघरमा धारा आउन थाल्यो। सम्बत २०३० सालताका सानेपामा घर बनाउँदा एउटा धारा लिएको थिएँ। वरपर छिमेकबाट पनि पानी लिन आउँथे महिला र केटाकेटीहरू। अचेल घरघरमा धारा छ, तर धारामा पानी छैन। पानी तान्ने मोटरपम्प पनि सबैसँग छ। तर, भनेको बेला बिजुली छैन। टैंकरबाट पानी किन्नुपरेको छ। करिब ८ हजार लिटरलाई १४/१५ सय रुपैयाँ तिर्छु। काठमाडौंका ५० लाखभन्दा धेरै मानिस कसरी प्यास बुझाउँदो हो? गगनचुम्बी भवन, विलासी जीवन र अकासिँदो जनसंख्या वृद्धिमाझ काठमाडौं उपत्यकाको आफ्नो जलस्रोतले कहिलेसम्म भ्याउने? जलस्रोतकै आधारमा जनसंख्या र विकास निर्माण नियन्त्रण गर्नुपर्ने हैन र? काठमाडौंको यो जल, जमिन र वातावरणले कति जनसंख्या धान्ने? यहाँका सडक यातायातले कति सवारी साधन धान्ने आदि प्राकृतिक एवं वातावरणीय सिमा हाम्रो दृष्टिमा छ वा छैन यसप्रति रनभुल्ल छु। 
मैले एसएलसी २०१० सालमा दिएँ रानीपोखरीको दरबार हाइ स्कुलबाट। त्यसबेला घरमा बिजुली बत्ती थियो, तर पढ्नलाई मट्टीतेलको टुकी नै बाल्नुपर्थ्यो। कम भोल्टेजले 'सलाई कोरेर' बत्तीको चिम बलेको छ कि छैन भनेर हेर्नुपर्ने अवस्था थियो। बत्ती उज्यालो पार्न कम भोल्टेजका चिम बाल्थ्यौं। २२० भोल्टको लाइनमा १२० भोल्टको चिम। काठमाडौंमा रेडियो भित्रिसकेको थियो। मेरा दाइ नन्दलाल (कान्छा बुबाका जेठा छोरा) कहाँ जिइसी रेडियो थियो। त्यसको निम्ति ट्रान्सफर्मरले सबै बत्ती खिचेर घर नै अँध्यारो हुन्थ्यो। हामी मरिहत्ते गरेर बिनाका गीतमाला सुन्न बस्थ्यौं। अहिले घरघरमा टिभी, रेफ्रिजेरेटर, ओभन र वासिङ मेसिन छन्। तर, अझै अधिक समय बिजुली छैन। यसपालि पनि एसएलसीका विद्यार्थीले मैनबत्ती बालेर परीक्षा तयारी गरेको समाचार पढ्न पर्‍यो। ६० वर्षपछिको परिवर्तन भन्नु मट्टीतेलको टुकी र मैनबत्तीको शिखा मात्र भएछ। 
जीवनशैलीको कुरा गर्दा परिवर्तनको पहाडले सगरमाथालाई उछिन्छ। हाम्रो लवाइखुवाइ, बोलाइ, हिँडाइ सबैमा गगनचुम्बी परिवर्तन भएको छ। दाउरा र भुसले बल्ने चुलो ग्यास र माइक्रो ओभनले जीवनशैली चल्ने भएको छ। ग्यास (एलपिजी) भन्दा पहिले मट्टीतेलको स्टोभ बालिन्थ्यो। अहिले त्यो पनि छैन। काठमाडौंको बजारमा दाउराका भारी हुन्थे। अहिले त्यो छैन। चुलोको ग्यास इन्धनले काठमाडौं वरिपरि वन हुर्केको छ। राम्रो भएको छ। ४० वर्ष पहिलेका नांगा पहाडमा हरियाली छाएको छ। सकारात्मक परिवर्तन भएको छ। चैतको चुलोमा बिहान आलु प्याज र साँझ प्याज आलु पाक्थ्यो। आजभोलि बाह्रै महिना साग, तरकारी र काउली, बन्दा र अझ च्याउ पनि छ्यासछ्यास्ती छन्। मासु माछाको खानपान पनि अकासिने गरी बढेको छ। उहिले संक्रान्तिको दिन र चाडपर्वमा मात्र खाइने मासु पछि आएर शनिबार पाक्ने भो। अचेल त प्रत्येक दिनझैं मासु खाइन्छ। माछा मासुको खपत बेहिसाब बढेको छ काठमाडौंमा। चिनी, चिल्लो, माछामासु र बोसोले काठमाडौंको स्वास्थ्य समस्याले कोल्टे फेरेको छ। बढी रक्तचाप, मुटु, मिर्गौला र मधुमेहका रोगी बढेका छन्। सरुवा रोगले होइन नसर्ने रोगले काठमाडौंलाई गाँजेको छ। अत्याधुनिक अस्पताल यत्रतत्र खुलेका छन्। समस्या पैसाको जोहो मात्र हो। मृत्युलाई मुल्तवीमा राखेर सर्वस्व स्वाहा गर्न सक्ने क्षमता भएका थुप्रै अस्पताल काठमाडौंमै छन्। 
काठमाडौं, काठमान्डू, काष्ठमण्डप वा क्याटम्यान्डु जे भनिए पनि इसाको १२ औं शताब्दीको पूर्वार्द्धमा काठैकाठले बनेको मण्डपाकार एक विशेष स्मारक काष्ठमण्डपलाई नै हामी नामको आधार मान्छौं। काष्ठमण्डप कुन राजाको पालामा बनेको थियो भन्ने कुनै प्रमाण भेटिएको छैन भनी डा. साफल्य अमात्य आफ्नो 'काठमाडौं नगरायण' पुस्तकमा लेख्छन्। काठमाडौं नगरीलाई कान्तिपुर पनि भनिन्छ। तर, काठमाडौं उपत्यका, नेपाल खाल्डो वा नेपाल मण्डलको कुरा कोटयाउँदा यो उपत्यका निश्चय नै एउटा ठूलो दह थियो भन्ने प्रमाणित हुन्छ। बोधिसत्व मञ्जुश्रीले तालको पानी बाहिर पठाउन गोकर्ण, पशुपति, चोभार आदि विभिन्न ठाउँमा चन्द्रहास खड्गले काटेका पौराणिक प्रसंगहरू जोडिएको छ। वैज्ञानिक अध्ययनले पनि तालको पानी विभिन्न समयमा तिनै छेडोहरूबाट बाहिरिएको प्रमाणित हुन्छ। एउटै घटनाले यो उपत्यका निर्माण भएको हैन। 
काठमाडौं खाल्डोका बासिन्दा यही उपत्यकामा सम्पन्न थिए र विशेष परिस्थितिबाहेक बाहिरिने काम पर्दैनथ्यो। थानकोट काटेर बाहिरिने अवस्था थिएन। त्यसो त राणाकालमा काठमाडौं बाहिर जान वा यहाँ भित्रिन राहदानी चाहिन्थ्यो। बेलुकी ९ बजे र बिहान ५ बजे तोप पड्काउने काम हुन्थ्यो। काठमाडौंको एक छेउबाट अर्को छेउसम्म त्यो आवाज सहजै सुनिन्थ्यो। त्यसैले बेलुकी ९ बजेदेखि बिहानी ५ बजेसम्म कर्फ्यु चल्थ्यो। सरकारी काम विशेषले हिँड्नेहरू 'प्यारोल' दिमागमा राखेर हिँड्नुपर्थ्यो। दिउँसो मध्याह्न पनि तोप पड्काइन्थ्यो। टुँडिखेल भद्रकालीनेर तोप पड्काउन त्रिचन्द्र कलेजको घन्टाघरले १२ बजाउनुपर्थ्यो। घन्टाघरले १२ हान्न थालेपछि रानीपोखरी छेउमा बस्ने सिपाहीले टाउकोमा लगाएको तोप हातमा लिएर हल्लाइ अलि परको सिपाहीलाई इसारा गर्थ्यो। त्यसले अर्कोलाई इसारा गर्दै ३–४ सिपाहीहरूको लहरे इसारापछि तोपमा मिलिक्क आगो देख्थ्यौं हामी रानीपोखरीतिरबाट। केही सेकेन्डपछि तोपको आवाज गड्याङ्ग गर्जन्थ्यो। 
काठमाडौंबासीका लागि समयको चेतना यिनै तोपको आवाजको आधारमा स्थापित हुन्थ्यो। घडी भिर्न सक्ने कत्ति नै थिए होला। तर, मैले २००९ सालमा मेरा दाइ परलोक भएपछि उहाँकै घडी भिरेर हिँडे। त्यसपछि २०१९ सालमा कोलम्बो प्लानअन्तर्गत पाएको छात्रवृत्तिबाट पैसा बचाएर भारतको अलिगढमा एउटा नाडी घडी किनेँ। घडी धेरैको आँखा लाग्ने र अधिक हराउने जिनिस पनि थियो। घडी, आजको स्मार्ट मोबाइल फोन जस्तै। 
काठमाडौं उपत्यकालाई चारवटा चुचुरो (शिवपुरी २६८९ मिटर, फुल्चोकी २७६५ मिटर, चन्द्रागिरी २५३५ मिटर र नागार्जुन २०८७ मिटर) तथा चारवटा भञ्ज्याङ (पाटी, साँगा, फर्पिङ र पाँचमाने) ले सिमाबद्ध गरेको छ। राणाकालमा चार भञ्ज्याङ कटाउनु भनेको देश निकाला गर्नु थियो। त्यति बेला काठमाडौं नै नेपाल थियो। आजभोलि नेपालै काठमाडौं बनेको छ। मेची महाकाली सबैतिरका मान्छे काठमाडौंमै बसोबास गर्छन्। रानीपोखरीमा छठ मनाइन्छ, टुँडिखेलमा लोसार, लोछार, उभौंली, उधौंली, माघी आदि सबै पर्व हर्ष उल्लाससाथ मनाइन्छ।
मैले एसएलसी पास गर्दा २०१० सालमा मात्र ४ लाख जनसंख्या भएको यो ६४० वर्गकिलोमिटरको उपत्यकामा अहिले ४० लाखभन्दा बढी जनसंख्याले बसोबास गर्छ। यहाँका सबै नदीनाला, बागमती, विष्णुमती आदिमा ढल बग्छ। पानी बग्दैन। हावा प्रदूषित छ। धुवाँ, धुलो र विषाक्त वायु सास फेर्दै काठमाडौं बाँचिरहेको छ। तर, कहिलेसम्म भन्ने प्रश्न बारम्बार मनमा उठ्छ। सयौं योजना र गुरुयोजना बनिसकेका छन्। तर, कुनै लागू हुँदैन। संसारमा कहीँ नभएको जात्रा काठमाडौंमै साकार छ।
भूपि शेरचनलाई सम्झँदै भन्न मन लाग्छ– मरेर सहिद हुनेहरू लोकधानी बनेको राजधानीमा बाँचेर त हेर बाँच्न झन् गाह्रो छ।

प्रकाशित: ११ वैशाख २०७१ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App