दक्षिण एसियाका चर्चित आत्मकथाका लेखक गान्धी, नेहरुदेखि बेन्जीर भुट्टोसम्मले पश्चिममा गएर अध्ययन गरेका कारण त्यहाँको प्रभावमा आत्मकथा लेखेको सहज अनुमान गर्न सकिन्छ। लोकराज बरालले उच्च अध्ययन पश्चिममा गएर नगरेको भएता पनि पश्चिमाहरुको प्रभाव बढी रहेको दिल्लीमा गएर गरेका हुन्।
बरालले एक लोमहर्षक जीवन बाँचे, बाँचिरहेका छन्। उनले २००७ सालमा डकोटा जहाजबाट नेपाली कांग्रेसको राणा विरोधी पर्चा खसालेका आफ्नै आँखाले देखेका थिए। उनी २०१७ पुष १ गते तरुण दलको आमसभाबाट बीपी कोइरालालाई गिरफ्तार गरिँदाका प्रत्यक्ष साक्षी थिए। यसपछिका नेपाली इतिहासका प्रत्येक साना–ठूला राजनीतिक घटनाक्रममा उनी केन्द्रमा छन्–एउटा प्राध्यापक र बुद्धिजीवीका रूपमा। उनी नेपालमा प्रतिष्ठाको विषयको रूपमा लिइने राजदुत हुने अवसर पाए, त्यो पनि भारतको। यसरी शास्त्रीबाट शास्त्रको प्रयोक्ता पनि बन्न पुगेका उनको छविले थप उचाइ लियो।
गणतन्त्रपछिका वर्षमा माओवादीप्रति आफ्ना राजनीतिक लेखमा आवश्यकताभन्दा बढी नरम भएकोमा उनी आलोचित पनि छन्। तर आफ्नो विश्वासबाट डगमगाएका छैनन्। उनको तर्क छ– सशस्त्र युद्ध गरेर आएको पार्टीलाई खुला राजनीतिमा रूपान्तरित हुँदा धेरै अप्ठ्यारो हुन्छ, त्यसकारण शंकाको सुविधा दिनुपर्छ। कुनै पनि कुराप्रति सम्यक दृष्टिले नहेर्ने नेपाली समाज कि अति तारिफ गर्छ, कि तल्लो स्तरको घटिया निन्दा गर्छ। बराल यसरी माओवादी समर्थक गनिन पुगे। प्राध्यापक बरालले २०४६ सालको जनआन्दोलनपछिको एमाले र २०६२/०६३ को जनआन्दोलनपछिको माओवादीको कार्यशैली र व्यवहार उस्तै भएको भनेर देखेका छन्। उनले यी पार्टीको ‘सडकदेखि सदनसम्मको नारा'को आचरणलाई ‘कुरूप प्रतिपक्ष'को संज्ञा दिएका छन्।
उनको आत्मकथा पढेपछि के थाहा हुन्छ भने उनी जीवनभर परिवर्तनको पक्षमा छन्– क्रान्तिको पक्षमा। उनलाई गतिशील पार्टीका गतिशील नेता मन पर्छ। यो उनको आदत हो। सधै व्यवस्थाभन्दा एक कदमअगाडि सोच्ने उनले २०४६ को परिवर्तनपछि क्रान्तिका उपलब्धि जोगाउन आफू अल्पावधिका लागि तत्कालीन सत्ताप्रति तटस्थ बसेर टिप्पणी नगरेको बताएका छन्। थाहा छैन, उनी यही अवधिमा किसुनजीको सिफारिसमा संयुक्त राष्ट्रसंघ महासभामा पुगेका छन्। गिरिजाप्रसादले बनाएको टनकपुरसम्बन्धी कार्यदलको अध्यक्ष भएका छन्। र, शेरबहादुर देउवाको कार्यकालमा राजदुत नियुक्त भएका छन्। कांग्रेस सत्ताबाट प्राप्त यी अवसर र ‘प्रतिपक्षको बुद्धिजीवी' नरहनाका कारणले यस्तो भएको हो या संयोगमात्र?
बरालले आत्मकथाको सुरुमा लेखेका छन्– ‘मानव स्वभाव नै हो, सामान्यतः सकारात्मक पक्षलाई मात्र उजागर गर्ने कोसिस गर्छ। यो उसको दुर्बलता हो। ममा पनि यस्ता दुर्बलता देखिन सक्छन्। किनभने मानिसले सबै कुरा जस्ताको तस्तै खुलस्त पनि त गर्न सक्ने अवस्था हुँदैन। त्यसैले मानिस र पशुमा भेद छ। चाहे व्यक्तिगत जीवनमा होस् या सामाजिक परिवेशमा उसले कुनै प्रकारका पर्दा राख्नैपर्ने हुन्छ। त्यसैले कतिपय तथ्य पूरै खोल्न मिल्दैन र कतिलाई भने अनावश्यक रूपमा आवश्यकता पनि पर्दैन।' उनको ‘रोमाञ्चित जीवन' यही सीमितताको बीचमा लेखिएको छ। बरालले व्यक्तिगत मामिलाका बालक कालका उट्पट्याङ् कार्यदेखि विश्वविद्यालयकालीन दिनसम्मका कुरा खुलस्त बताएका छन्। अन्तरजातीय विवाह गरेका बरालको प्रेमकथाले उनको आत्मकथ्यमा रङ भरेको छ। कोइराला परिवारवाट प्रभावित भएको बताउने बरालले बीपी कोइरालाको यत्रतत्र आलोचना गरेका छन्। उनको बीपीप्रतिको आलोचना सूर्यप्रसाद उपाध्यायको स्कुलिङबाट प्रभावित शंकर घिमिरे लगायतसँगको दोस्तीको प्रभाव हो भनेर बु‰नुपर्ने हुन्छ। तैपनि बरालले निष्कर्षमा भने बीपीलाई नेपालको आधुनिककालको सर्वोच्च नेताका रूपमा उल्लेख गरेका छन्।
आफू प्राध्यापक बन्दाको हन्डर, ठक्कर र सिनासमा नियुक्तिको लफडाबाट पञ्चायतकालमा कसरी ‘हाउगुजी'का भरमा विद्धत प्राध्यापकलाई सत्ताले उपयोग र दुरूपयोग गर्न खोज्थ्यो भन्ने प्रस्ट हुन्छ। आत्मविश्वासका साथ जीवनलाई सार्थक बनाउन अलिकति जोखिम मोलेको बताउने बरालले पुस्तकभरि एउटामात्र उद्धरण पेस गरेका छन्, दलाई लामा र ब्राजिलका धार्मिक सुधारक लियोनार्दो वोफबीचको संवाद, ‘आफ्नो विचारको ख्याल गर, किनभने ती कार्य बन्छन्। कार्यको ख्याल गर किनभने ती बानी बन्छन्। बानीको ख्याल गर किनभने ती चरित्र बन्छन्। चरित्रको ख्याल गर किनभने ती भाग्य बन्छन्, र भाग्य नै तिम्रो जीवन हुनेछ।'
समयअगावै विश्वविद्यालयबाट सेवा निवृत्ति लिएका बरालले नेपाल समसामयिक अध्ययन केन्द्र खोलेर नयाँ पुस्ताका समाजशास्त्री र राजनीतिशास्त्रीको प्रशिक्षणमा अमूल्य योगदान गरे। बरालको राजनीतिमा वैदेशिक हस्तक्षेपबारे निष्कर्ष यस्तो छ, ‘जनता बलिया र आत्मविश्वासी भए विदेशीले चाहेर मात्र जे पनि गर्न सक्ने होइन रहेछ।' वर्तमान अवस्थाका बारेमा टिप्पणी गर्दा बरालले अलिक बढी निराशाको कुरा गरेझैं लाग्छ, ‘नयाँ पिँढीको नेतृत्वमा पनि अब कुनै आशा राख्ने ठाउँ छैन किनभने सामाजिक, आर्थिक, राजनीतिक र बाह्य वातावरणले नै विखण्डित संस्कारको प्रभुत्व कायम गर्दै गएको छ।'
बरालको सार्वजनिक र निजी आचरण हेर्दा उनले कहीँ पनि लाजमर्दो ढंगको सम्झौता गरेको देखिँदैन। त्यही भएर उनको विद्रोही चरित्र बुढेसकालसम्म पनि लेखनीमा स्पष्ट देखा पर्छ। विदेशी प्रकाशकवाट सबैभन्दा बढी किताब प्रकाशित गर्ने नेपालीमा बराल अग्रपंक्तिमा पर्छन्। उनलेे ‘प्राज्ञिक मर्यादा' उच्च राख्न सकेको भएर नै यस्तो अवसर पाएका हुन्। प्राज्ञिक लेखनमा कायम गरेको उचाइ भने आत्मकथामा देखा परेको छैन। पुस्तक सम्पादनको टड्कारो अभाव पाठकले सजिलै महसुस गर्छन्। घटनालाई सिलसिलाबद्ध शैलीमा पेस गरिएको छैन भने पुनरावृत्ति ज्यादा छ। लेखकको लापरबाही या प्रकाशकको हतारो– दुवैले यो गल्ती स्वीकार्नैपर्छ।
युवावयमा साहित्यकार हुन भनेर नेपाली भाषा पढेका बराल राजनीतिशास्त्री बनेर पुनः आत्मकथामार्फत आएका छन्, तर जम्न भने सकेका छैनन्। तैपनि हाम्रा ‘गुरुहरूका गुरु' बरालको ‘रोमाञ्चित जीवन' नेपाली समाजका लागि प्रेमोपहार हो। यो आत्मकथा नेपाली समाजले विगत सात दशकमा पार गरेको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक उकाली–ओरालीको जीवन्त दस्तावेज बन्न पुगेको छ। यो पुस्तक रोमान्टिक प्राध्यापकको मर्मस्पर्शी जीवनगाथा हो।
प्रकाशित: ५ वैशाख २०७१ २२:२५ शुक्रबार