अन्य

तोरणविक्रम च्याम्पियन

काठमाडौं– तोरणविक्रम शाहीले शुक्रबार ७२ पारको गोकर्ण गल्फ कोर्समा २ ओभर ७४ खेल्दै सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्।चार दिनमा ७२ होल खेल्दा कुल ११ अन्डर २ सय ७७ स्कोर गरेका तोरणले नेपाल नम्बर एक शिवराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पारे। कुल स्कोर ९ अन्डर २ सय ७९ बनाउन शिवरामले पनि शुक्रबार अन्तिम दिन २ ओभरको प्रदर्शन गरे। यसैगरी १ अन्डर ७१ खेलेका नेपाल नम्बर दुई व्यावसायिक गल्फर रवि खड्काले ७ अन्डर २ सय ८१ स्कोरसहित तेस्रो स्थान पक्का गरे।
करियरमा दोस्रो तथा सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधिसँगै तोरणले शुक्रबार ९५ हजार रुपैयाँ पुरस्कार पाए। दोस्रो भएका शिवरामको भागमा ६० हजार तथा रविको भागमा ४४ हजार पर्‍यो। शिवराममाथि दुई स्ट्रोकको अग्रतामा दिनको खेल थालेका तोरणले फ्रन्ट नाइनको खेल सकिँदा अग्रता थप दुई सटले फराकिलो पारे। नयाँ दिल्लीमा व्यावसायिक गल्फ खेलिरहेका तोरणले शुक्रबार फ्रन्ट नाइनमा २ अन्डर ३४ खेले। तर, ५ पारको १५औं होलमा तोरणको लय बिग्रियो। उनले निराशाजनक टि्रपल बोगी खेलेपछि उक्त होलमा शिवरामले पार खेल्दै दूरी १ सटमा झारेका थिए। तर, लगत्तैको होलमा तीन फिटभन्दा कम दूरीबाट शीर्ष व्यावसायिक खेलाडीले पट गर्न नसक्दा तोरणको अग्रता पुनः फराकिलो बन्यो। दुवै गल्फरले अन्तिम दुई होलमा पार जोगाए। तोरणले ब्याक नाइनमा ४ ओभर ४० खेल्दा शिवरामले २ ओभर ३८ खेले।
तोरणले यसअघि २०६३ मा गोकर्ण गल्फ क्लबमै सम्पन्न कैलाश टी ओपनको उपाधि जितेका थिए। तोरणले दोस्रो र नवौं होलमा बर्डी खेल्दै फ्रन्ट नाइन स्कोर दुई अन्डर बनाए भने ब्याक नाइनका ११औं होलमा डबल बोगी खेपेका उनले १५ औं होलमा टि्रपल बोगी सामना गरे। त्यसविरुद्ध १२औं होलामा बर्डी खेलेका थिए।
यसैगरी शिवरामले फ्रन्ट नाइन इभन पारमा सम्पन्न गर्ने क्रममा तेस्रो होलमा बर्डी खेले भने पाँचौं होलमा एक सट खेर फाले। उनले ब्याक नाइनका १०, १४ र १६औं होलमा बोगी तथा ११औं होलमा बर्डी खेले।
गोकर्णका व्यावसायिक खेलाडी उमेश नगरकोटी कुल ६ अन्डर २ सय ८२ स्कोरबाट चौथो हुँदै ३६ हजार जिते। आर्मी क्लबका संजय लामा (२८५) पाँचौं भए। उनको ३२ हजार पाए। आरएनजिसीका भेट्रान दीपक थापामगर (२८८) छैटौं भए भने दीपक आचार्य र राम थापा समान २ सय ९१ स्कोरसहित संयुक्त सातौं भए। रमेश अधिकारी र सिबी भण्डारी समान २ सय ९४ स्कोरमा संयुक्त नवौं भए। कुल ५ लाख १४ हजार नगद पुरस्कार राशिको प्रतियोगितामा अन्तिम दुई चरणलाई छानिने सबै व्यावसायिक खेलाडी नगदको हकदार बनेका थिए।
एमेच्योरतर्फ शीर्ष वरियताका दिनेश प्रजापतिले विकास बोगटीलाई चार स्ट्रोकले पछि पार्दै उपाधिमा कब्जा जमाए। शुक्रबार इभन पार ७२ खेलेका दिनेशको कुल स्कोर ८ ओभर २ सय ९६ थियो भने अन्तिम दिन इभन पारकै प्रदर्शन गरेका विकासको स्कोर १२ ओभर ३ सय रह्यो। सूर्य नेपाल गल्फ टुर २०१३–१४ अन्तर्गत अन्तिम तथा १०औं प्रतियोगितामा ३४ व्यावसायिक तथा १७ एमेच्योर खेलाडी सहभागी थिए।
विजेतालाई मुख्य प्रायोजक सूर्य नेपालका ब्रान्ड म्यानेजर केशव प्रधान, आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका महासचिव टासी घलेलगायतले पुरस्कार वितरण गरे।
सूर्य नेपाल गल्फ टुरको आउँदो सिजन मंगलबार गोकर्णमा सूर्य नेपाल मास्टर्स प्रतियोगितासँगै सुरु हुने एनपिजिएका महासचिव दीपक आचार्यले जानकारी गराए। नेपाली गल्फमा हुने सबैभन्दा ठूलो सूर्य नेपाल मास्टर्स एनपिजिए तथा प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पिजिटिआई)को समेत मान्यताप्राप्त प्रतियोगिता हो। प्रतियोगिता पाँच दिनसम्म चल्नेछ।

प्रकाशित: ५ वैशाख २०७१ २०:३४ शुक्रबार