अन्य

चार युगका चार सारथि

आधुनिक एथ्लेटिक्समा महत्वका साथ हेरिने म्याराथन दौड कसरी सुरु भयो होला? उत्तर खोज्दै जाँदा एउटा ऐतिहासिक आहान फेला पर्छ। फैडिपिडेस नामका ग्रिसेली सैनिक युद्धमा विजयको खबर दिन म्याराथनदेखि एथेन्ससम्म दौडिएको सम्झनामा नै म्याराथन दौडको सुरुआत भएको मानिन्छ।यी दुई स्थानबीचको दुरी ४२.१९५ किलोमिटर थियो र आजसम्म पनि म्याराथन दौडलाई यही दुरीका आधारमा चिनाइन्छ।
नेपाली खेलकुद इतिहासमा भने म्याराथुनको अनुत्तरित प्रश्न अझै समयको कठेघरामा छ। 
नेपाली खेलकुद विकासको इतिहासलाई ‘दौड जित्नेलाई राजा बनाउने लिगलिगकोटको इतिहास' सँग जोड्दा त्यही कालदेखि यहाँ कुनै न कुनै रुपमा खेलकुदको अभ्यास हुन्थ्यो भन्न सकिन्छ। खेलकुदको आधुनिक परिभाषाभित्र रहेर इतिहास केलाउने हो भने यहाँ खेलकुदको अभ्यास भएको समयले सात दशक हाराहारी मात्र टेकेको देखिन्छ। 
दरबारबाट जनतातिर
सहिद धर्मभक्त माथेमा राजा त्रिभुवनलाई शारीरिक व्यायम सिकाउन दरबार जान्थे भन्ने इतिहास वा २००४ सालमा नेपाल क्रिकेट संघको गठन भएको इतिहासले पनि २००७ अघि नै नेपाली खेलकुदले प्रारम्भिक पाइला चालेको देखिन्छ। राणाशासन अन्त्यतिर उनीहरुकै पहलमा काठमाडौं केन्द्रित खेलकुद गतिविधि भएका देखिन्छन्। यद्यपि, नेपालमा खेलकुदको इतिहास अझै पनि खोज अन्वेषण नभएको क्षेत्रभित्रै पर्छ। तर जहानियाँ शासनको अन्त्यसँगै खेलकुद आमनेपालीको पहुँचमा पुग्न थाल्यो। 
जनरल नरशमशेरको निवासमा राजा त्रिभुवनसमेतको उपस्थितिमा विसं २००८ मा ‘नेपाली खेलकुदको भविष्य' विषयमा भएको अन्तर्त्रि्कया, २००९ सालमा हेलसिन्की ओलम्पिकमा पर्यवेक्षकको रुपमा नेपालको सहभागिता, २०१५ सालमा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद गठन, सन् १९६३ मा नेपालको ओलम्पिक प्रवेश र सन् १९६४ को टोक्यो ओलम्पिकमा नेपालको सहभागितालाई नेपाली खेलकुदका कोशेढुंगा मानिन्छ।
सुरुआती कालमा तत्कालीन राजसंस्थाको सक्रिय सहभागिता थियो खेलकुदमा। राजा महेन्द्र २०१३ सालमा नेपाल ब्याडमिन्टन संघको अध्यक्ष बनेको इतिहासले दरबारको खेल रुचि प्रस्ट पार्छ। औपचारिक प्रतियोगितामा भाग नलिए पनि त्यतिबेला दरबारको आफ्नै फुटबल टिम रहेको दाबी पनि गरिन्छ। 
तत्कालीन अधिराजकुमार बसुन्धराको संरक्षकत्वमा शिक्षामन्त्री परशुनारायण चौधरी अध्यक्ष र होराप्रसाद जोशी सदस्यसचिव रहेको राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद गठन भएकोमा दुई वर्षपछि त्यसलाई राष्ट्रिय खेलकुद परिषदमा परिणत गरिएको थियो।
एथ्लेटिक्स, बक्सिङ, फुटबल, ब्याडमिन्टन र टेबलटेनिस खेलका पाँच राष्ट्रिय संघलाई समेटेर सन् १९६३ मा ओलम्पिक कमिटी गठन हुँदा तत्कालीन अधिराजकुमार बसुन्धराले यसको अध्यक्षता गरेका थिए। उनी पछि कुमार खड्गविक्रम शाह र शरदचन्द्र शाह अध्यक्ष बनेको इतिहासले पनि खेलकुदमा दरबारको चासो झल्काउँछ। 
युवा परिचालन गर्न सकिने सशक्त माध्यम भएकाले नै पञ्चायती व्यवस्थाभर दरबारले खेलकुदमा आफ्नो पकड जमाइराख्यो। विसं २०६३ मा लोकतन्त्र स्थापना हुनुअघिसम्म पनि त्यो पकड पूर्णतया खुस्किसकेको थिएन। राखेपको संरक्षकत्व दरबारमा नै थियो। धीरेन्द्र शाह, तत्कालीन युवराजहरु दीपेन्द्र र पारसले राखेपको संरक्षकको भूमिका निभाएका थिए।
खड्गविक्रम शाह २०२४ देखि २०३४ एक दशक राखेपको सदस्य सचिव थिए भने शरदचन्द्र शाहले त्यसपछिको ११ वर्ष नेपाली खेलकुदको बागडोर सम्हालेका थिए। शरदचन्द्र राखेपको इतिहासमै सबैभन्दा लामो समय सदस्य सचिव रहेका व्यक्ति हुन्। उनले आफ्नो कार्यकालमा नेपाली खेलकुदमा भौतिक संरचना निर्माणलाई तीव्रता दिएका थिए। राष्ट्रिय खेलकुदको अवधारणा उनकै पालामा आएको थियो भने दक्षिण एसियाली खेलकुदका परिकल्पनाकार पनि उनैलाई मानिन्छ। उनी एसियाली ओलम्पिक कमिटीमा पनि शक्तिशाली भूमिकामा पुगेका थिए। पञ्चायतको बफादारका रुपमा शाहले दरबारलाई लामो समय रिझाउन सकेकाले नै उनले खेलकुदमा उल्लेख्य काम गर्न सकेका थिए। 
यद्यपि, उनका आलोचकहरु नेपाली खेलकुदमा राजनीतिलाई संस्थागत गर्ने परम्पराको सबैभन्दा ठूलो अपजस उनैलाई जाने बताउँछन्। खेलकुदभित्र चाकरीप्रथालाई मलजल गरेको आरोप उनैमाथि लाग्दै आएको छ।
२०४६ मा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि सरकार परिवर्तनसँगै राखेपको नेतृत्वमा परिवर्तन हुने समस्याले खेलकुदमा अस्थिरता ल्यायो। राजनीतिक नेतृत्वले खेलकुद विकासका वैज्ञानिक मार्ग समात्न नसक्दा आशातीत सफलता हात पार्न सकिएको छैन भने खेलकुदमा विवादले जरा गाड्दै गएको छ। विसं २०६० बाट सुरु नेपाल ओलम्पिक कमिटी विवाद अझै उल्भि्करहेकै छ।
नेपाली खेलकुदको संस्थागत विकासलाई राणाशासन अघि र पछि, पञ्चायतअघि र पछि अनि बहुदलीय प्रजातन्त्रपछिको कालखण्डमा बाँडेर हेर्न सकिन्छ। नेपालको अन्तर्राष्ट्रिय सहभागिता र खेलाडीलाई केन्द्रमा राख्ने हो भने यसलार्य चार युगमा बाँड्न सकिन्छ।
सामान्य हिसाबले नेपाली खेलकुदलाई भूपेन्द्र सिलवाल, वैकुण्ठ मानन्धर, दीपक विष्ट र पारस खड्का युगमा बाँडेर विश्लेषण गर्नु अत्युक्ति हुँदैन, यसमा बहस गर्ने ठाउँ भने रहला। 
भूपेन्द्र सिलवाल युग
नेपाली खेलकुद सन् १९५१ मा पहिलोपटक अन्तर्राष्ट्रिय एरेनामा उत्रिएको भेटिन्छ। सन् १९५१ मा छिमेकी राष्ट्र भारतमा भएको एसियाली खेलकुद प्रतियोगीतामा नेपालले पदाधिकारीसहित नौजनालाई सहभागी गराएको थियो। नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता त्यही थियो। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिएका धावक गजराज जोशी केही वर्षअघिसम्म जीवित थिए। 
ओलम्पिकमा भने नेपालको पहिलो सहभागिता सन् १९६४ मा जापानको टोक्योमा १८औं ओलम्पिकमा भएको थियो जसमा नेपालले एथ्लेटिक्सका २ र बक्सिङका ४ खेलाडीलाई सहभागी गराएको थियो। त्यो ओलम्पिकमा भूपेन्द्र सिलवाल र गंगाबहादुर थापाले म्याराथनमा भाग लिएका थिए भने नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर गुरुङले बक्सिङमा।
टोक्यो ओलम्पिकले सिलवालको चर्चा अन्तर्राष्ट्रिय स्तरमा चुलियो। उनी खाली खुट्टाले दौडिरहेका थिए, पाइतालाभरि अलकत्रा टाँसिएको थियो, एक जापानी महिलाले सजिलो बनाउन उनका खुट्टामा पानी खन्याइदिइन् जुन तस्बिरलाई फोटोपत्रकारहरुले विश्वव्यापी बनाइदिए। सिलवाल नेपाली खेलकुदको इतिहासका लागि भीष्म पितामह बने।
नेपाली खेलकुदको पहिलो पुस्ताका सबैभन्दा चर्चित खेलाडी भए पनि पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने श्रेय भने सिलवालका अनुज धावक जितबहादुर केसीले कमाए। पहिलो अन्तर्राष्ट्रिय सहभागिताको २२ वर्षपछि केसीले सन् १९७३ मा ट्र्याक एन्ड फिल्ड एसियन एमेच्योर च्याम्पियनसिपमा जितेको कास्यपदक नै नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक हो। 
वैकुन्ठ मानन्धर युग
सन् १९७६ को मन्ट्रिअल र सन् १९८० को मस्को ओलम्पिकमा सहभागी वैकुण्ठ मानन्धरले पहिलोदेखि तेस्रो संस्करणसम्म म्याराथनमा स्वर्ण जिते। उनले कोलकातामा सन् १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्णको कीर्तिमान मात्र बनाएनन्, दुई घन्टा १५ मिनेट ३ सेकन्डमा म्याराथन पूरा गर्दै दक्षिण एसियाली रेकर्ड नै बनाए, जुन अहिलेसम्म कसैले तोड्न सकेको छैन। मानन्धर दोस्रो संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी पनि थिए। मानन्धरको सक्रिय खेल जीवन सन् १९९० को दशकको सुरुआततिरै अन्त्य भए पनि उनको चर्चा भने सन् २००० सम्म पनि सेलाएन।
मानन्धरले सन् १९८४ को लसएन्जलस र सन् १९८८ को सिओल ओलम्पिक गरी चार ओलम्पिकमा सहभागिता जनाए। चारवटा ओलम्पिकमा भाग लिने उनी एक्लो नेपाली खेलाडी हुन्। यो सहभागिताले नै पुष्टि गर्छ, मानन्धरले करिब दुई दशक नेपाली खेलकुदको युग हाँकेका थिए।
मानन्धरको सफलता उचाइमा रहँदा दक्षिण एसियाली खेलकुदका स्वर्णविजेता बक्सिङका दलबहादुर राना, पुष्करध्वज शाही, चित्रबहादुर गुरुङ, सुटिङकी अनिता शाह, टेबलटेनिसकी गीता क्षेत्री, सिजरिन शाह र भारोत्तलनका सुरेन्द्र हमालजस्ता थुप्रै प्रतिभाशाली खेलाडी उदाए। 
सिओल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा तेक्वान्दोलाई पहिलोपटक समावेश गरिएको थियो। जुन प्रतियोगीतामा नेपालका विधान लामाले कास्यपदक जितेका थिए। औपचारिक गणनामा नआए पनि यो नेपालका लागि ओलम्पिकमा अहिलेसम्मकै उच्च सफलता हो।
सन् १९९५ मा मद्रासमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा टीका बोगटीले म्याराथनको स्वर्ण जितेर लामो दुरीमा नेपाली एथ्लेटको बर्चस्व जोगाएका थिए।
पहिलो एसियाली खेलकुददेखि नै सहभागिता जनाउँदै आए पनि नेपालले दसौं संस्करणमा पुगेर मात्र पदक जित्न सकेको थियो। नेपालले सन् १९८६ को सिओल एसियाडमा आठवटा कास्यपदक जितेको थियो जसमा चारवटा बक्सिङबाट थियो भने चारवटा तेक्वान्दोबाट।
धेरै प्रतिभाहरुबीच पनि मानन्धर निरन्तरता, चार ओलम्पिक सहभागिता, दक्षिण एसियाली तीन स्वर्णपदक विजेता र कीर्तिमानका कारण नेपाली खेलकुदमा अग्लो व्यक्तित्व बनिरहे।
दीपक विष्ट युग 
सन् १९९८ मा बैंककमा आयोजित एसियाली खेलकुदको १३औं संस्करणमा तेक्वान्दोकी सबिता राजभण्डारीले जितेको रजतपदक नै नेपालले एसियाडमा प्राप्त गरेको सबैभन्दा ठूलो उपाधि हो। यो सफलता अन्तर्राष्ट्रिय क्षेत्रमा पाएको सबैभन्दा ठूलो औपचारिक सफलता पनि हो।
सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना गरेको नेपालले सन् १९९९ मा आठौं संस्करण आयोजना गर्योह। आयोजनाका हिसाबले मात्र होइन, यो प्रतियोगितामा नेपालले नतिजामा पनि सफलता पायो। नेपालले यो प्रतियोगीतामा ३२ स्वर्ण जित्यो। तेक्वान्दो र करातेमा १४/१४ वटा स्वर्ण जितेको नेपालले बक्सिङमा २ र पौडीमा एक स्वर्ण जितेको थियो।
यही ऐतिहासिक सफलतासँगै उदाएका खेलाडी हुन्, दीपक विष्ट। आठौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका विष्टले त्यसपछि लगातार ११औं दक्षिण एसियाली खेलकुदसम्म स्वर्णपदक जिते। चार स्वर्णको यो दुर्लभ कीर्तिमानले विष्टलाई समकालीनबीच अग्लो बनाइदियो। 
उनी एसियाली खेलकुदमा दुई पदक जित्ने एकमात्र नेपाली खेलाडी पनि हुन्। उनले बुसान एसियाड, २००२ र दोहा एसियाड, २००६ मा कास्यपदक जितेका थिए। नेपालको ओलम्पिक सहभागिता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रदान गर्ने युनिभर्सल कोटामा सीमित रहँदै आएको थियो। विष्ट भने २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर सहभागी भएका थिए।
यसभन्दा अघि सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकै संगिना वैद्य पनि छनोट पार गरेर सहभागी भएकी थिइन्। नेपाली खेलाडी संसारकै ठूलो खेलमेलामा छनोट चरण पार गरेर पनि पुग्न सक्छन् भन्ने प्रमाणित गर्ने वैद्य पहिलो खेलाडी हुन्। सन् १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेर उदाएकी वैद्यले आठौं र नवौं दक्षिण एसियाली स्वर्ण पनि जितिन्। दक्षिण एसियाली खेलकुदको दसौं संस्करणमा भने कास्यमा सीमित भइन्। वैद्य नेपाली खेलकुदकी सर्वाधिक सफल महिला खेलाडी बनिन्। विष्टचाहिँ निरन्तर सफलताले समकालीनबीच सफलताको मानक नै बने। 
दक्षिण एसियाली खेलकुदका स्वर्णविजेता करातेका दीपक श्रेष्ठ, गंगाराम महर्जन, तेक्वान्दोकै मनिता शाही, आयशा शाक्य, रेणुका मगर, बक्सिङका प्रकाश थापामगर, रामचन्द्र थापामगर, पौडीकी नयना शाक्य, एथ्लेटिक्सका राजेन्द्र भण्डारी, भारोत्तलनका कमलबहादुर अधिकारी र उसुकी बिना लामा खड्का विष्टका समकालीन हुन्। 
पारस खड्का युग
नेपाली खेलकुदको वर्तमान युगलाई क्रिकेट कप्तान पारस खड्काको युग भन्नु अत्युक्ति नहोला। करातेकी गंगा अधिकारी, सुनिल लामा, उसुका आङबाबु लामा, विनिता महर्जन, घोडचडीका ध्रुवप्रसाद अर्याल, गल्फका शिवराम श्रेष्ठ पछिल्लो पाँच वर्षमा नेपाललाई अन्तर्राष्ट्रिय सफलता दिलाइरहेका केही नाम हुन्। 
समूहगत खेलमा ठूलो सफलता हासिल नगरेको विगतबीच नेपाली क्रिकेट टिमको उदय यही समयमा भयो जसले क्रिकेट कप्तान पारस खड्का चर्चाको शिखर चढाइदिएको छ।
सन् १९९६ मा एसियाली क्रिकेट काउन्सिलले मलेसियामा आयोजना गरेको एसिसी ट्रफीबाट नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय पाइला चालेको थियो। उत्तम कर्माचार्यको कप्तानीमा पहिलोपटक अन्तर्राष्ट्रिय एरेनामा उत्रिएको नेपाली क्रिकेट टोलीले त्यसयता एलबी क्षेत्री, पवन अग्रवाल, गणेश शाही, राजु खड्का, परेश लोहनी, विनोद दास र पारस खड्कालाई कप्तानको रुपमा पाइसकेको छ। ६ पटकसम्म १९ वर्षमुनिको विश्वकप खेलेको नेपालले सन् २००६ मा प्लेट च्याम्पियनसमेत बन्यो। यो पृष्ठभूमिमा नेपाली राष्ट्रिय टोलीले सफलताको फड्को भने पारस खड्काको कप्तानीमा हात पार्यो ।
सन् २००९ को एसिसी टी–ट्वान्टी कपदेखि कप्तानी पाइला चालेका पारसको नेतृत्वमा नेपालले आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन ५ देखि डिभिजन २ सम्मको यात्रा गर्योम। प्रशिक्षक पुबुदु दासानायकेको साथ पाएपछि पारसको टोलीले एसिसी ट्रफी एलिटको उपाधि मात्र जितेन, नेपाललाई टि–ट्वान्टी विश्व कपसम्मको गौरवशाली यात्रा पनि गरायो।
क्रिकेट समूहगत खेल हो, यो सफलता टिम कप्तानले मात्र दिलाए भन्नु सर्वथा गलत हुन्छ। उनीसँग शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मीजस्ता टिमभित्र मात्र होइन, सक्रिय क्रिकेट जीवन बाँच्न थालेका दर्जनौं खेलाडीको साथ छ। तर सबै खेलाडीलाई एकसूत्रमा बाँधेर टिम भावना जागृत गराउन पारसको नेतृत्व छ। स्पष्ट विचार र नेतृत्वदायी क्षमताले पारसलाई पछिल्लो समय सधैँ चर्चामा राखेको छ। पारस सेलिब्रेटी बनिसकेका छन्। यो समयमा नेपाली खेलकुद पारस खड्काको युगमा आइपुगेको छ। 
फुटबलको बेग्लै सान
जापानको टोक्योमा सन् १९७१ मा भएको यु–१९ एसिया च्याम्पियनसिप नेपालले खेलेको पहिलो औपचारिक र आधिकारिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो औपचारिक प्रतियोगिता भने सन् १९८२ मा भारतको नयाँदिल्लीमा भएको एसियाली खेलकुद नै हो। यो प्रतियोगिताका क्रममा कुबेतविरुद्ध वाइबी घलेले गरेको गोल नै नेपालले औपचारिक प्रतियोगितामा गरेको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। 
दक्षिण एसियाली खेलकुदको प्रारम्भमा नेपाली फुटबल टोली निकै दरिलो मानिन्थ्यो। पहिलो दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको नेपाली टोलीले छैटौं संस्करणमा पनि स्वर्ण जित्यो। छैटौं दक्षिण एसियाली खेलकुदमा फुटबलले दिलाएको पदक त्यो संस्करणमा नेपालले उचालेको एक्लो स्वर्ण थियो। 
पछिल्ला दिनमा भने नेपाल दक्षिण एसियाली फुटबल महासंघले गर्ने साफ च्याम्पियनसिपको फाइनलसम्म पनि पुग्न सकेको छैन। अन्तर्राष्ट्रिय उपलब्धि नेपाली फुटबलका लागि विरानो बन्दै गएको छ।
यद्यपि, नेपाली फुटबलर आफ्नो समयमा चर्चाको वृत्तबाहिर छैनन्। भीम थापा, कृष्ण थापा, रुपकराज शर्मा, गणेश थापा, उमेश प्रधान, मणि शाह, राजुकाजी शाक्य, देवनारायण चौधरी, बालगोपाल महर्जन, उपेन्द्रमान सिंह, निराजन रायमाझी, हरि खड्का, वसन्त थापा, वसन्त गौचन, राकेश श्रेष्ठजस्ता दर्जनौं स्टार नेपाली फुटबलमा उदाएका छन्। यी खेलाडीले भारत र बंगलादेशका चर्चित क्लबहरुबाट खेलकौशल प्रदर्शन गर्दा यी देशहरु क्रिकेटलाई मात्र खेल देख्ने स्थितिभन्दा बाहिरै थिए। त्यसैले दक्षिण एसियाली फुटबलबारे चर्चा हुँदा गणेश थापा, कृष्ण थापा, मणि शाह, राजुकाजी शाक्यजस्ता खेलाडीहरुको गर्वसाथ नाम लिइन्छ।
पछिल्ला दिन नेपाली फुटबलर आम्दानीका कारण पनि चर्चित छन्। अनिल गुरुङ, सन्तोष साहुखल, सागर थापा, सन्दीप राई, जगजित श्रेष्ठजस्ता चर्चित नाम मात्र होइन, घरेलु लिगमै खेलाडीहरुले २५ हजारदेखि १ लाखसम्मको तलब पाउन थालिसकेका छन्। राम्रो आम्दानीसँगै परिवर्तित जीवनशैलीका कारण पनि फुटबलरहरु समर्थक कमाउन सफल छन्। जुमानु राई, साहुखल, अनिल गुरुङहरु माल्दिभ्स र भारतका क्लबहरुबाट यदाकदा खेल्दै आएका छन्। रोहित चन्द त अहिले पनि इन्डोनेसियाको पर्सिजा जाकर्ताबाट खेलेर डलरमा आम्दानी गरिरहेका छन्।
खेल आफैंमा लोकप्रिय हुनु, निरन्तर प्रतियोगिता हुनु र राम्रो आम्दानी हुनुले नेपाली फुटबलरहरुलाई अहिले पनि चर्चाको केन्द्रमा राखेको छ, तर पछिल्ला दिन अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा नआएकाले नेपाली फुटबलरहरु सफलताको मानक भने हुन सकेका छैनन्।

प्रकाशित: १५ चैत्र २०७० ००:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App