अन्य

देश चिनाउने खेलहरु

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी पदक मार्सल आर्टसबाट प्राप्त गरेको छ। घरेलु मैदानमा आठौं दक्षिण एसियाली खेलकुद हुँदा नेपालले तेक्वान्दो र करातेबाट मात्र १४–१४ स्वर्ण पदक जित्यो।मार्सल आर्टसबाट जितेको २८ स्वर्ण पदकको आडमा नेपालले सन् १९९९ मा सम्पन्न काठमाडौं साफमा ऐतिहासिक दोस्रो स्थान पाएको थियो। त्यसयता नेपाली खेलकुद यस्तो गौरवशाली क्षणको नजिकसम्म पुग्न सकेको छैन। नेपालले अन्तर्राष्ट्रियजगतमा व्यक्तिगत खेलमार्फत मात्र सफल नतिजा ल्याउन सक्ने विश्वास मार्सल आर्टसका विभिन्न विधा, बक्सिङ तथा एथलेटिक्सका उपलब्धिले प्रमाणित गरिरहेका थिए।
तर, टिम खेलले पनि नेपालीको गौरव बढाउन सक्छ भन्ने भर्खरै क्रिकेट टोलीले ट्वान्टी–२० विश्वकप खेलेर प्रमाणित गरेको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले पदक जित्न सक्ने खेलको सम्भावित सूची तयार गरेर प्राथमिकतामा समेत अघि सारेको छ।
क्रिकेटको यु–१९ विश्वकपमा नेपालले ६ पटक सहभागिता जनाएको छ। पछिल्लो समयको सफलताले क्रिकेट नेपालमा सम्भावना बोकेको खेलमा उदाएको राष्ट्रिय टोलीका पूर्व कप्तान एलबी क्षेत्री बताउँछन्। ‘नेपालले जति सफलता पाएको छ, त्यसमा खेलाडीको मिहिनेत बढी छ। हाम्रो घरेलु संरचना दयनीय छ,' क्षेत्री भन्छन्, ‘अब संघले क्रिकेटलाई व्यावसायिक बनाउन ढिला गर्नु हुन्न। नत्र पाएको उपलब्धि जोगाउन पनि अप्ठेरो पर्नेछ।' 
क्रिकेटले राष्ट्रको प्रतिष्ठालाई विश्वसामु चिनाउन सहयोग गरेकाले सरकारले यो खेललाई विशेष सहयोग गर्नुपर्ने क्षेत्री बताउँछन्। ‘सम्भावना बोकेका खेललाई राज्यले त्यहीअनुसार लगानी गर्नुपर्छ। त्यसो हुन सके राष्ट्रिय गौरवका थप अध्याय थपिने छन्,' उनले भने।
आठौं साफको नतिजाले नेपाललाई दक्षिण एसियामा मार्सल आर्टसको बादशाहकै रूपमा चिनायो। तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट ओलम्पिकमा छनोट भएर मार्सल आर्टसमा नेपालको सम्भावना झन् बढाए। नेपाली खेलकुदले सबैभन्दा ठूलो उपलब्धि मार्सल आर्टसबाटै प्राप्त गरेको छ। थाइल्यान्डमा सन् १९९८ मा भएको १३औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्। सविताको पदक अहिलेसम्म नेपालले पाएको ठूलो उपलब्धिमा गनिन्छ। हुन त विधान लामाले सिड्नी ओलम्पिकमा प्रदर्शनी खेलका रूपमा तेक्वान्दो समावेश गरिँदा त्यसमा कांस्य पदक जितेका थिए।
मार्सल आर्टसमा बादशाह छवि बनाएको नेपाल पछिल्ला वर्षहरूमा कमजोर बन्दै गएको छ। आठौं साफयता क्रमशः मार्सल आर्टसमा नेपालको पदकसंख्या घट्दो छ। करातेका कीर्तिमानी खेलाडी दीपक श्रेष्ठ नेपाल कमजोर नभएर मार्सल आर्टसमा अन्य राष्ट्र बलियो हुँदै गएको बताउँछन्। ‘आठौं साफपछि मार्सल आर्टसमा पदक घट्दै गएको हो। हामी आठौं साफमा पाएको सफलतामै रमायौं। व्यवस्थापन र खेललाई व्यावसायिकतातर्फ बढाउन सकेनौं,' उनले भने, ‘अरूले लगानी बढाउँदै गए, जसका कारण अहिले हामीलाई दक्षिण एसियामा पदक जित्नै संघर्ष गर्नुपरेको छ।'
नेपाली मार्सल आर्टसलाई अझै पनि एसियामा बलियो टिमका रूपमा हेरिने गरेको श्रेष्ठको दाबी छ। ‘विश्वमा दक्षिण कोरिया र जापान यसमा बलियो मानिन्छ। तर, हामीलाई पनि एसियामा बलियो टिमका रूपमा हेरिन्छ। नेपाली खेलाडीमा राम्रो गर्न सक्ने क्षमता छ,' उनले भने, ‘तर व्यवस्थापनमा कमजोर भएकाले नतिजा राम्रो हुन सकिरहेको छैन।' खेलाडीलाई प्रोत्साहन हुने कार्यक्रम र व्यवस्थापनमा ध्यान दिए अझै पनि एसियामा नेपालले पदक जित्न सक्ने सम्भावना रहेको श्रेष्ठ बताउँछन्। 
नेपालले पदक जित्ने बढी सम्भावना बोकेको अर्को खेल हो, एथलेटिक्स। नेपाली धावक बैकुण्ठ मानन्धरले म्याराथनमा राखेको दक्षिण एसियाली कीर्तिमान अझैसम्म कसैले भंग गर्न सकेको छैन। साफमा मानन्धरले लगातार तीन स्वर्ण जितेका थिए। उनले साफको पहिलोदेखि तेस्रो संस्करणसम्म म्याराथनमा स्वर्ण जितेका थिए। साफमा उनको नाममा २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमान छ। त्यस्तै उनको पथ पछ्याउने अर्का धावक हुन्, राजेन्द्र भण्डारी।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव तथा राष्ट्रिय कराते टोलीका प्रशिक्षक श्रेष्ठको विचारमा अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्न जुनसुकै खेल पनि प्रशिक्षण, खेल प्रशासन, खेलको नेतृत्व गर्ने संघबाट प्रभावित हुन्छ। समयसापेक्ष प्रशिक्षण शैलीमा सुधार गर्दै अगाडि बढ्ने अवसर नेतृत्वले जुटाउन नसकेको उनको आरोप छ। ‘नेपालमा खेलकुद क्षेत्र पनि राजनीतिबाट प्रभावित छ। खेलको व्यावसायिक विकास र राष्ट्रिय प्रतिष्ठालाई उच्च प्राथकितामा राखेर काम गर्ने नेतृत्व भए नेपालले अन्य खेलबाट पनि पदक जित्न सक्छ,' श्रेष्ठसँगै बिहीबार दशरथ रंगशालामा अभ्यासरत अर्का खेलाडीले भने।
खेलभावना बुझेको व्यवस्थापन र व्यावसायिक प्रयासले मात्र भविष्यमा नेपाली खेलकुदको सफलता निर्धारण गर्नेछ। सफलता खेलाडीको मेहनतमात्र नभई व्यवस्थापनको मिहिनेतसँग जोडिएको हुन्छ। त्यसैले व्यावसायिक खेलको विकासमा ध्यान दिए नेपालले मार्सल आर्टस, एथलेटिक्स, क्रिकेट र बक्सिङबाहेकका खेलबाट पनि पदक जित्न सक्छ।

प्रकाशित: १४ चैत्र २०७० २३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App