अन्य

१० मुक्तक

मैयाँ सुवेदी

तिम्रो आँखाको मनोमानी, म दूर सम्झन्छु,
साउने झरीपछिको पुलकित, मयुर सम्झन्छु।
उपहार नै दिने भए, दिल दिएर जाऊ भन्छु,
जिन्दगीको यो सफरमा, कोहिनुर सम्झन्छु।

जीवन कहिले मझधार कहिले किनार भएको छ,
किन मान्छेलाई सधैं यस्तै हतार भएको छ।  
बुझ्नेहरूले मलाई कसरी बुझे होलान् थाहा छैन,
दुनियाँमा यो जिन्दगी किनबेचको बजार भएको छ।

कतिन्जेल म तिम्रो दास भएर बाँचूँ,  
भन यसरी ज्युँदो लास भएर बाँचूँ।  
जिउनुको मजा त्यतिबेला मात्रै हुन्छ,
जब म तिम्रो आफ्नै खास भएर बाँचू।

मनमा बस्यो निशानी नजर हो कि हतियार,  
हुरीसँगै टुकी दिन्छन् अँध्यारोको उपहार।
के देखिन्छ के भोगिन्छ नियति र भाग्यसँगै,
क्या तमासा देखायो नि जिन्दगीले बारम्बार।

वचन रोप्ने झिरसँग के गुनासो गरुँ अब,
दुःख पीडा पिरसँग के गुनासो गरूँ अब !
पहिले मरेर बाँचे अहिले बाँचेर मर्दै छु,  
भैगो यो तक्दिरसँग के गुनासो गरूँ अब !

हर क्षणको प्रावधान होस् भन्ने चाहन्छु म,
मायाको पनि संविधान होस् भन्ने चाहन्छु म।
किन स्वार्थी बन्छ मान्छे धोका दिएर यहाँ,
अदालतसँगै बयान होस् भन्ने चाहन्छु म।

न देखाऊ डर यहाँ डराउन्न रातबाट,
चिरिँदैन छाती अब घात अन्तरघातबाट।
जीवन जाओस् तर अब वचन जाने छैन,
पटकपटक मरेको छु आफन्तकै हातबाट।

दुःख लुकाएर खुसी हुन गाहे रैछ हजुर,
दुनियाँ मुस्कुराउँछ एक्लै रुन गाह्रो छ हजुर।
समयको ऐनासँगै नियाल्दै छु जिन्दगानी,
मनको पिर आफै धुन गाह्रो रै छ हजुर।

देशबाट कोको हराए सरकार खोज्दैन यहाँ,
मातृभूमि छाडेर कोही परदेश रोज्दैन यहाँ !
यति बुझ देश बचाउन सहिद भएको हो ऊ,  
आज उसका सपना के थिए कसैले सोच्दैन यहाँ !

अभाव छ र पो भोकसँग लडाइँ छ मेरो,
अस्तित्व छ र पो चोकसँग लडाइँ छ मेरो।
नांगा पैतालाका के कुरा भो र सडकमा आज,
बाध्य छु र पो सबथोकसँग लडाइँ छ मेरो।

प्रकाशित: २५ श्रावण २०७६ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App