भारत, उत्तर प्रदेशमा एउटा विवाह रोचक कारणले तोडिएको छ। त्यहाँ दुलहीले विवाह गर्न नमानेपछि जन्ती फिर्ता पठाएको घटना बाहिर आएको हाे।
भारतीय सञ्चारमाध्यमका अनुसार केटीले दुलहाको परिवारमाथि झुट बोलेको आरोप लगाएकी छिन्। दुलहाको परिवारले केटा स्थायी सरकारी जागिरे रहेको बताएका थिए। तर उनी करारको कर्मचारी भएको खुलेपछि बिहे तोडिएको हो।
दुलहा आकाशदीप जलौन ओराइका बासिन्दा हुन्। उनको विवाह कडौराको उकुरुवा गाउँका रामप्रकाश अहिरवारकी छोरी किरण उर्फ सरितासँग तय भएको थियो। दुलहाको परिवारले दुलहीको परिवारलाई केटा स्थायी जागिरे भएको कुरा बताएका थिए। विवाह आइतबारका दिन तय भएको थियो। स्वंयम्बर पनि सम्पन्न भैसकेको थियो।
आज तकका अनुसार स्वंयम्बरकै बेला कसैले दुलही पक्षलाई दुलहाको जागिर स्थायी नभई करारमा काम गरिरहेको जानकारी गरायो। यो सुनेर सरिताले उनीहरूले झुट बोलेको आरोप लगाउँदै विवाह नगर्ने निर्णय सुनाइन्। त्यसपछि केही समय तनाव उत्पन्न भयो।
उनले विवाह नगर्ने भनेपछि दुलहीबिना नै जन्ती फर्कनुपर्यो। सोमबार आकाशदीप प्रहरी चौकी पुगेर घटनाबारे जानकारी गराए। तर प्रहरीले उजुरी पत्र माग्दा उनले पत्र लेखे पनि दिन मानेनन्।
समाचार अनुसार सोमबार साँझ नै दुई पक्षबिच कुराकानी भएकाे थियाे। विवाह कुनै न कुनै रूपमा गर्न प्रयास गरियो। तर समस्या समाधान नभएपछि दुवै पक्ष आ-आफ्नो बाटो लागे। कसैले पनि कसैकाविरुद्ध मुद्दा दायर नगरेको प्रहरीले जानकारी गराएको छ।
आकाशदीप स्थानीय अदालतमा क्लर्कको काम गर्छन्। उनले फाइल रेकर्ड राख्नेसहित सामान्य कार्यालयका कामहरू गर्छन्। आकाशदीप विभिन्न प्रशासनिक कार्यहरू पनि सम्हाल्छन्। एजेन्सी
प्रकाशित: १३ जेष्ठ २०८२ १३:५० मंगलबार