अन्य

साउने सरगम

साउनको झरी बनी तिमी आउन,

मेरो मनको अँधेरीमा जून छाउन।।

०००

झझल्को लिएर आएछ सावन फेरि आँखामा...

बिर्सिदिने कथा होइन सावनको गीत,

हार होइन जित मेरो जीवनको प्रीत।।

०००

साउने झरीको झल्को दिने थुप्रै गीत छन्, नेपाली सांगीतिक आकाशमा। भाषा, संस्कृति, संगीत, आर्थिक, धार्मिक धेरै हिसाबले महत्वपूर्ण महिना हो साउन, नेपालीका लागि।

किसानका लागि खेतीबाली गोडमेल, मनसुनका हिसाबले झरी र धार्मिक रूपमा महादेवको व्रत बस्ने महिना हो, साउन। यसै महिनादेखि सुरु हुन्छन्, हिन्दू धर्मावलम्बीका विभिन्न चाडबाड।

स्थायी बनेपछि बाँकी धुन तयार गर्न नारायणगोपाल लागे। जंगमलाई अन्तरा के लेख्ने भन्ने समस्याले पिरोल्यो। 'नारायणगोपालदाइ गीत मन परेन भने गीतकारकै अघि च्यातिदिनुहुन्थ्यो,' जंगम भन्छन्, 'त्यसको एक–दुई दिनमा अन्तरा लेखेँ– बाफिएर आज हिमाल किन रोएछ, कताकता मनभित्र घाउ दुखेछ।'

साउने झरीलाई प्रेम र वियोगसँग जोडेर थुप्रै गीत रचिएका छन्। भरिएका छन्, तिनमा सुमधुर संगीत र अलापिएका छन् कैयौँ राग। पूर्वीय संस्कृतिमा विशेष महŒव राख्ने भएरै होला, साउनेझरी हिन्दी र बंगाली भाषाका गीतमा समेत आउने गर्छ, प्रेम र वियोगको प्रतीक बनेर।

वर्षाले धुलोमैलो पखालेर सफा बनाएको साउनमा जताजतै हरियाली हुन्छ। तराईका खेतमा धानका हरिया गाभा लहलहाउँछन्, पहाडी पाखामा खर र खरेटोको हरियाली छाउँछ। यही मनमोहक दृश्यले तान्छ, सिर्जनशील मनहरूलाई। साउने हरियाली र झरीलाई गीतकारले शब्दको मालामा उन्छन्, तिनमा संगीतकारले राग भर्छन् र गायकले शब्दमा सुमधुर स्वर दिन्छन्।

शास्त्रीय गायनका साधक विष्णु अधिकारी साउनमा संगीतको राग मेघ मल्हार सक्रिय हुने बताउँछन्। 'यसलाई वर्षा ऋतु दर्श्ााउने राग मानिन्छ,' अधिकारी भन्छन्, 'मुगल सम्राट अकबरले आफ्ना संगीतकारबाट यही राग अलापेर सुक्खा दिनमा पनि पानी पार्थे भन्ने कथा संगीत क्षेत्रमा प्रख्यात छ।'

नेपाली संगीतमा साउन–भदौपछि विभिन्न पर्वका बेला मालश्री धुनको जत्तिकै महŒव छ, चाडबाड बोलाउने साउने संगीतको पनि। 'तर वर्षा रागमा गीत गाउन साह्रै गाह्रो हुन्छ,' उनले भने, 'शास्त्रीय संगीतमा पारंगतले मात्र गाउन र बजाउन सक्छन्, संगीतका नियमभित्र पस्नुपर्छ।'

उनले अचेल वर्षा रागमा साउनको गीत गाउने कोही गायक–गायिका नआएको बताए। वर्षा राग शुद्ध र कोमल संगीत संकेतमा भरिन्छ। उनका अनुसार शास्त्रीय संगीतका रागमध्ये सबैभन्दा जटिल वर्षा राग नै हो। 'आरोह–अवरोह सबै मिल्नुपर्छ। पानीको थोपा–थोपाले बोल्ने संगीतको धुनसँग गाउनेको स्वर मिल्नुपर्छ,' अधिकारी भन्छन्, 'धुनमा बाँधिएर गाउन नजाने गीतको मर्म नै आउँदैन।'

साउनको र वर्षात्को सबभन्दा महŒवपूर्ण पाटो रागरागिनी वसन्त बहार भनेर यसलाई बुझ्न सकिन्छ। साउनमा राग–रािगनी खुल्छन् भन्ने विश्वास गरिन्छ, जसले गर्दा गीत गाउनेको गला पनि खुल्छ।

साउन गाउने र संगीत भर्नेका लागि मात्र होइन, गीत रच्नेका लागि पनि उर्वर समय रहेको वरिष्ठ गीतकार यादव खरेल बताउँछन्। नेपालीका जनजीवन मौसमअनुसार नै चलेको मान्छन् उनी। उनका अनुसार सांस्कृतिक हिसाबले चाडपर्व साउनदेखि नै सुरु हुन्छ। नेपाली गीत–संगीतसँगै चाडपर्व मनाउने गर्छन्। ‘चाडपर्वसँगै गीत–संगीत नजोडिने कुरै भएन,’ उनले भने, ‘खेतबारीको काममा व्यस्त रहे पनि खेतमै असार–साउनमा लोकभाका गुन्जिने मौसम हो।’

पेसा, भूगोल, प्रकृतिले हरेकको जीवनशैलीमा प्रभाव पारेकै हुन्छ। नेपाल कृषिप्रधान देश हो। ‘त्यसैले  रोपाइँकै गीत अर्थात् असारे भाका आयो,’ खरेल भन्छन्, ‘रोप्दारोप्दै साउन लाग्छ, गोडमेल सुरु हुन्छ, अनि सुरु हुन्छ साउने रमाइला गीत।'

यस्तै माहोलले गीतसंगीतमा रम्नेलाई छुने गर्छ। जसले साउने झरी, भेल बाढी अनि माया प्रेमसँगै साउने भाकाका गीत रचना हुने गरेको उनको अनुभव छ।

वर्षायाममा शीतल हावा बहन्छ। प्रकृति सौम्य हुन्छ। यस्तो मौसमले सिर्जनशील मनलाई पुलकित नबनाउने कुरै भएन? यही मौसमले खरेललाई प्रेमपिण्ड चलचित्रका लागि गीत फुरायो। उनले २०५० सालमा प्रेमपिण्डका लागि लेखे– गैह्री खेतको शिरै हान्यो वर्षायामको दरौंदीले...।

साउनबाटै जन्मेको बाढी, भेल र प्रेम पीडाको मिश्रण उनको गीतमा छ। गीतका लागि लेखक–कविलाई मौसमले प्रोत्साहित गर्छ, मुड खुलाउँछ। साउन धार्मिक हिसाबले पनि पवित्र मानिन्छ। शास्त्रीय रागमा आधारित 'शिवहारा' एल्बम उनले यसै महिना ल्याउँदै छन्। संगीतमा पानी बर्साउने राग, आगो निकाल्ने रागजस्ता धेरै राग मौसमकै आधारमा बनेको छ। जसले साउने झरीको निरन्तरताजस्तै मीठो र निरन्तर संगीत दिने गर्छ।

गीतकार तथा संगीतकार दीपक जंगमलाई साउनको वर्षाले पखालेको निख्खर हरियाली वातावरण निकै मन पर्छ। शुद्ध प्राकृतिक रंग र माहोलले उनलाई आकर्षण गर्छ। हिलोमैलो, बाढीले जीवनलाई केही समस्या त हुन्छ नै, तर यो मौसमले कवि–गीतकारलाई फरक ऊर्जा दिने उनी बताउँछन्। भारतमा जस्तो नेपालमा साउनकै छुट्टै गीत गाइन्न। तर यो खेतीकिसानी र मेहनत गर्ने बेला भएकाले लोक परम्परामा आधारित भएर अनगिन्ती साहित्य रचना हुने गरेको उनले सुनाए।

बैँसालु उमेरमा हल्का पानीमा रुझ्न मन लाग्थ्यो उनलाई। ‘कल्पना गर्दै घन्टौँ भिजेर हिँड्थेँ,' उनले विगत सम्भि्कए, ‘त्यो बेला अनेक योजना यसरी नै बनाइन्थ्यो।’

उनले रचना गरेको 'साउनको झरी बनी' बोलको गीत लोकप्रिय छ। स्वरसम्राट नारायणगोपालको संगीत र स्वर रहेको यो गीत रचना गर्भको कथा उनलाई अझै ताजा छ। वैशाख–जेठमा साउन सम्झेर रचिएको थियो त्यो गीत। नारायणगोपाल र उनी गीतियात्रा भाग १ को अन्तिम तयारीमा थिए। सबैजसो गीत रेकर्ड भइसकेको थियो। २०४४ सालताका एल्बमका सातवटा गीत सकिए पनि आठौँ गीतको ट्युनिङ (सुरुको धुन) मात्रै बनेको थियो।

'पेमाला भाउजूले पनि त्यो ट्युनिङमा गीत बनाउन खुब जोड गर्दै हुनुहुन्थ्यो,' जंगम भन्छन्, 'गीतको अभ्यासमा नारायणदाइले मलाई पनि सुनाउनुभयो– यो ट्युनमा गीत लेख्ने गीतकार मैले भेटिनँ। कोही छ भने खोजिदेउ न धेरैले मैले लेख्छु भने तर फर्केर आएनन्। नारायणदाइले यति भनेपछि मैले मौका छोपिहालेँ–

विश्वास गर्नुहुन्छ भने म लेख्यौँ त?'

नारायणगोपालले लेख भनेपछि जंगम गीत लेख्न लागे। 'त्यो ट्युनिङले मौसमका कुरा माग्थ्यो,’ जंगम भन्छन्, ‘स्थायीमा मेलोडियस पनि माग्थ्यो, नयाँ रुपमा गर्नुपर्छ भनेँ। नारायणगोपालदाइ आफैँ भन्नुभयो– साउनको झरी बनी भन्ने चाहिँ परोस् है, यो शब्द मेरो मनमा झुन्डियाझुन्डियै छ, अरु तिमी आफैँ कल्पना गर।'

तत्कालै जंगमले रचे–

साउनको झरी बनी तिमी आउन,

मेरो मनको अँधरीमा जून छाउन।

स्थायी बनेपछि बाँकी धुन तयार गर्न नारायणगोपाल लागे। जंगमलाई अन्तरा के लेख्ने भन्ने समस्याले पिरोल्यो। 'नारायणगोपालदाइ गीत मन परेन भने गीतकारकै अघि च्यातिदिनुहुन्थ्यो,' जंगम भन्छन्, 'त्यसको एक–दुई दिनमा अन्तरा लेखेँ– बाफिएर आज हिमाल किन रोएछ,

कताकता मनभित्र घाउ दुखेछ।

बिहानीको किरणसँगै तिमी आउन,

छातीभित्र मुटु बोल्छ तिमी आउन।'

अब अर्को अन्तरा कहाँबाट ल्याउने? एकदिन जंगम कीर्तिपुरको डाँडामा जागिरे पत्नी कुरेर बसेका थिए। जंगमले शिवपुरी डाँडातिर धुवाँजस्तै तुँवालो लागेको देखे। पश्चिमतिर घाम डुब्दै थियो। त्यहीँ रचे अर्को अन्तरा–

निस्सासेको पारि पाखा कति धुमैलो,

डुब्दै जाने घामले हो कि डढेलो लाएको।

भञ्ज्याङ अनि पाखा भन्छ तिमी आउन,

फूलहरु रोई भन्छन् तिमी आउन।

‘गीत बनेपछि नारायणदाइ र भाउजू दुवैलाई खुब मन पर्‍यो,’ उनले भने, ‘रचनाको दुःख गीत बनेपछि सबै मेटियो।’ 

गीत–संगीतका अध्येता प्रकाश सायमी वर्षायाम गीतको पनि मौसम भएको सुनाउँछन्।

वर्षा लाग्यो म धाइरहन सक्दिनँ,

पानी पर्‍यो म आइरहन सक्दिनँ।

यो गीतले साउनेझरी सम्झाउने सायमी बताउँछन्। नेपाली जनजीवनमा बढी लोकगीतको प्रभाव परेको उनी खुलाउँछन्। सायमीका अनुसार २०१३ सालमा लामो खडेरी पर्दा गीत गाएरै पानी पारेका गायक तथा कवि नरराज ढकाललाई राजाले संगीत प्रवीण पद्वी दिएका थिए। 

'पानी नपरेर सुक्खा भएपछि राजाले नरराजलाई बोलाएर भने, तिमीले गीत गाएर पानी पार्न सक्छौ रे, लौ त पानी पार्देउ। डराएका नरराजले भनेछन्– खै सरकार, त्यस्तो कोसिस गर्‍या छैन, तर संगीतले मौसमलाई पनि केही असरचाहिँ पार्छ,’ सायमी भन्छन्, 'उनले वर्षा रागमा गीत गाए। त्यै दिन पानी नपरे पनि अर्को दिन बादल लाग्यो। तेस्रो दिनदेखि घनघोर वर्षात् भएको थियो।

मेलवादेवीले वर्षात्को गीत गाएरै भारतमा छाया किन्नर पद्वी पाउन सफल भएको सायमी बताउँछन्। ‘उनले वर्षा राग गाएपछि वर्षादेवी नामै दिइएको थियो,’ सायमीले भने, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले गाएको झरीको गीतबाटै आधुनिक गीतको सुरुवात भयो।’

सायमीका अनुसार जुनेबला घिमिरेलाई गीत लेख्न आउँदैनथ्यो, त्यो बेला मास्टर रत्नदास प्रकाशले गीत माग्दा लामो कविता दिएका थिए। गीतमा आठ लाइन आसपास मात्र हुने थाहा पाएपछि घिमिरेले रचे– झमझम पानी पर्‍यो...।

'तुलसी गजमेरले साउन निम्त्याउने 'असारै महिनामा पानी पर्‍यो रुझाउने' बोलको गीत गाएर चर्चा कमाए,' सायमी भन्छन्, 'रचना जिसीको पहिलो गीत साउनकै झरीको गीत थियो– साउने खोला उर्लेर आउँदा, माछा मार्नु दुवाली छेकेर... जुन गीत उपेन्द्र दुःखीले लेखेका थिए।'

लोकलयको यो गीतले उतिबेला निकै चर्चा बटुलेको थियो, अहिले पनि रेडियोमा बज्ने गर्छ।

लाहुरे फिल्ममा रन्जित गजमेरको 'साउने झरीमा यो गाउँको गोरेटो' बोलको गीतले उतिबेला निकै चर्चा कमाएको थियो।

सायमीका अनुसार त्यसपछि उनले अर्को गीत रचना गरे, झझल्को लिएर आएछ सावन...। सम्झना फिल्मको 'सुन भन न' बोलको गीतको एउटा अन्तरामा पनि उनले साउनकै उल्लेख गरेका छन्–

साउन–बादलको नाता वर्षे झरीजस्तै,

दिन र रात एक हुने सिन्दुरी साँझजस्तै।

यसले साउनेझरी बोल्ने गीत फिल्ममा हिट भएको उदाहरण सायमी दिन्छन्।

पूर्वराजा ज्ञानेन्द्रको 'साउन होइनन् यी आँखाहरु र साउनबिनाको गगन' गीतमा दीपक खरेलले स्वर भरेका छन्। यसको अर्थ वर्षात् र साउन गीतको पर्यायका रुपमा पनि देखिएको सायमी अर्थ्याउँछन्।

समाजशास्त्री मृगेन्द्रबहादुर कार्की साउनमा बज्ने र बन्ने गीतले मानिसलाई पुनर्ताजगी गर्ने बताउँछन्। ‘समाजले संस्कृति निर्माण गरेको हुन्छ। संस्कृतिमा मनोरञ्जन, नाचगान पनि हुन्छन्। साउन या वर्षात्मा खेतीपातीका कामले मानिसलाई भ्याइनभ्याई हुन्छ,’ कार्की भन्छन्, ‘कामसँगै रमाइलो गर्ने गीत–संगीतले नै त हो।’

थाकेको शरीर मानसिक अवस्थालाई आनन्दित बनाउन साउनमा गाउने झरीगीतले सघाउने उनको बुझाइ छ।

प्रकाशित: १४ श्रावण २०७४ ०४:४९ शनिबार

साउने सरगम