विचार

छठ पर्वमा जीवनको छाया

छठ पर्व नेपालको तराई, मधेस अर्थात् मिथिला क्षेत्रमा विशेष रूपमा मनाइने एक प्राचीन र पवित्र पर्व हो, जसमा सूर्य देव र छठी मैयाको पूजा गरिन्छ। चार दिनसम्म चल्ने यो पर्व शुद्धता, संयम, र कृतज्ञताको प्रतीक हो। नदीनालामा स्नान, उपवास, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर यो पर्व मनाइन्छ। छठ केवल धार्मिक अनुष्ठान मात्र होइन, यो मानव र प्रकृतिको सम्बन्धप्रतिको जागरण हो जसले हामीलाई सम्झाउँछ कि हाम्रो अस्तित्व सूर्यको ऊर्जासँग गहिरो रूपमा जोडिएको छ।

सूर्यः जीवनको मूल स्रोत

सूर्य सम्पूर्ण ब्रह्माण्डको केन्द्र र पृथ्वीको जीवनशक्ति हो। हामीले खाने अन्न, पिउने पानी, श्वास लिने हावा सबै सौर्य ऊर्जासँग सम्बन्धित छन्। सौर्य प्रकाशले बिरुवामा प्रकाश संश्लेषण गराउँछ, जसले सम्पूर्ण खाद्य शृंखलालाई चलायमान राख्छ। ऋग्वेद (१०.८५.३२) मा भनिएको छ - ‘सूर्यो आत्मा जगतस्तस्थुषश्च’ अर्थात् सूर्य चलायमान र अचल सबै प्राणहरूको आत्मा हो। सूर्यबिना पृथ्वीमा जीवन असम्भव छ। सूर्यको महत्त्वलाई केवल भौतिक रूपमा मात्र होइन, अस्तित्वको आत्मस्वरूपका रूपमा व्याख्या गरिएको छ।

वेदका ऋषिहरूले सूर्यलाई आकाशमा टाँसिएको आगोको गोला होइन, बरु जीवन चेतनाको केन्द्र मानेका छन्। यसको दार्शनिक अर्थ हेर्दा सूर्य आत्मा र विश्वचेतना हो। वेदले ‘आत्मा’ शब्दलाई केवल शरीरमा बस्ने प्राण मात्र होइन, सर्वव्यापी चेतनाका रूपमा लिन्छ। चलायमान जीवजन्तु, मानिस, पक्षी, वनस्पति वा अचल रूपका पहाड, नदी, माटो सबैमा सूर्यकै चेतना धड्किरहेको छ। सूर्यलाई आत्मा भन्नुको अर्थ ऊर्जा र चेतना दुवैको एकता हो। जसरी शरीर आत्माबिना निर्जीव हुन्छ, त्यस्तै पृथ्वी सूर्यबिना निष्क्रिय र निर्जीव हुन्छ।

वैज्ञानिक दृष्टिले पनि वेदको यो ज्ञान आज प्रमाणित भएको छ । सूर्यले पृथ्वीलाई ऊर्जा, ताप र प्रकाश प्रदान गर्छ। यसकै कारण बिरुवामा प्रकाशसंश्लेषण हुन्छ, जसले अन्न उत्पादन गर्छ। पृथ्वीमा जलचक्र सञ्चालनमा रहन्छ। मौसम, तापक्रम र हावाको प्रवाह सन्तुलित रहन्छ। सूर्य नहुने हो भने पृथ्वी चिसो र अन्धकारमय बन्थ्यो, जल जम्थ्यो, वनस्पति सुक्थे, अनि जीवनको कुनै स्वरूप सम्भव हुने थिएन। त्यसैले वैज्ञानिक हिसाबले पनि सूर्यबिना पृथ्वीमा जीवन असम्भव छ भन्ने वेदको वाणी आजको विज्ञानसँग पूर्णतः मेल खान्छ।

त्यसैगरी आध्यात्मिक दृष्टिले सूर्य आन्तरिक प्रकाशको प्रतीक हो। जसरी बाह्य सूर्यले अन्धकार हटाउँछ, त्यस्तै आत्मज्ञानको सूर्यले अज्ञान र भ्रमको अन्धकार हटाउँछ।

यसरी सूर्यलाई ‘आत्मा’ भनिएको कारण यो केवल वाह्य ऊर्जाको प्रतीक होइन, बरु प्रत्येक मानवभित्र विद्यमान प्रज्ञा, प्रेम र जीवनशक्तिको प्रतिनिधि हो। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा यसैको संकेत हो। अस्त सूर्य प्रतीक हो अन्तर्मनको मौन र समर्पणको, उदय सूर्य प्रतीक हो नवजागरण, चेतना र आशाको।

त्यसैगरी सूर्यलाई भगवान मानी पूजा आराधना गर्नुको मुख्य कारण अस्तित्व र सहअस्तित्वको सन्देश प्रष्ट्याउनु पनि हो। सूर्य सम्पूर्ण ग्रह, जीव र तत्त्वहरूको साझा जीवनधारा हो। यो कुनै धर्म, जात वा सीमाको विषय होइन, सूर्य सबैका लागि समान रूपमा उदाउँछ र अस्ताउँछ। यसबाट हामीले सिक्ने कुरा के हो भने मानव मात्र होइन, सम्पूर्ण जीवजगत् परस्पर निर्भर छन्। जब हामी सूर्य र प्रकृतिको सम्मान गर्छौं, तब हामी जीवन स्वयंप्रति कृतज्ञता प्रकट गर्छौं। त्यसैले त ‘सूर्यो आत्मा जगतस्तस्थुषश्च’ भन्ने वेदवाणीले सूर्यलाई केवल भौतिक सौर्यमंडल मात्र होइन, जीवन, चेतना र अस्तित्वको आत्माका रूपमा देखाएको छ। यसले हामीलाई स्मरण गराउँछ कि हाम्रो श्वास, हाम्रो अन्न, हाम्रो हृदयको धड्कन सबै सूर्यको ऊर्जासँग माला झैं गाँसिएको छ। सूर्यको सम्मान भनेको जीवनप्रतिको सम्मान हो। सूर्यको पूजा भनेको चेतनाको पूजा हो।

सूर्यपूजाको आध्यात्मिक अर्थ

छठ पर्वमा अस्त र उदाउँदो सूर्यलाई अर्घअर्पण गरी पूजा गरिन्छ। यो केवल आराधना होइन, एक आत्मिक साधना र कृतज्ञताको प्रतीक हो। जलमा उभिएर सूर्यतर्फ नमस्कार गर्दा मानवले प्रकृतिसँग साक्षात्कार गर्छ, जीवन दिने शक्तिप्रति विनम्रता प्रकट गर्छ। छठ पर्वले हामीलाई सन्तुलनको दर्शन सिकाउँछ - अस्त र उदय, अन्धकार र प्रकाश, मृत्यु र जीवनबिचको सामन्जस्य सिकाउँछ। अस्ताउँदो सूर्यलाई अर्घ दिनु भनेको अन्त्य र क्षयको स्वीकृति हो। हामी जीवनका उतार चढाव, दुःख, सुख, हानी लाभलाई समान भावले स्वीकार गर्छौं।

त्यस्तै, उदाउँदो सूर्यलाई अर्घ दिनु नवजागरण र पुनर्जन्मको प्रतीक हो, नयाँ आशा, नयाँ चेतना र नयाँ सम्भावनाको स्वागत हो। जब भक्तजन जलमा उभिएर सूर्यतर्फ नमस्कार गर्छन्, त्यो केवल बाहिरी कर्म होइन, त्यो क्षणमा मानव र प्रकृतिबिचको मौन संवाद हुन्छ। जल जीवनको स्रोत हो, सूर्य ऊर्जा र प्रकाशको प्रतीक हो। यी दुई तत्त्वबिचको मिलनमा मानवले आफ्नो अस्तित्वको जरो भेट्छ। उपवास, मौन र ध्यानद्वारा शरीरको अशुद्धता, मनको अस्थिरता र अहंकारको बोझ बिस्तारै पग्लिन्छ। शरीर हलुका हुन्छ, मन शान्त हुन्छ र आत्मा प्रकृतिको लयसँग तालमेलमा आउँछ।

यसरी छठ पर्व एक आध्यात्मिक अनुशासन हो। जहाँ भक्तिले ध्यानलाई छुन्छ र ध्यानले प्रेम र कृतज्ञतालाई उज्यालो बनाउँछ। सूर्यपूजाले हामीलाई प्रकाश र अन्धकार, जीवन र मृत्यु, उत्थान र पतन यी सबै प्रकृतिको स्वाभाविक चक्र हुन्। यो बुझाइले मानवमा सन्तुलन, सहिष्णुता र आन्तरिक शान्ति उत्पन्न गर्छ।

मानव स्वास्थ्यमा सूर्यको भूमिका

सूर्य केवल भगवान होइनन्, प्राकृतिक चिकित्सक पनि मानिन्छन्। सूर्यको किरणले शरीरमा ‘भिटामिन डी’ उत्पादन गर्छ, हड्डी बलियो बनाउँछ, रोग प्रतिरोधात्मक शक्ति बढाउँछ र मानसिक स्फूर्ति दिन्छ। बिहानको हल्का सूर्यकिरणले सेरोटोनिन नामक हर्मोनको उत्पादन बढाउँछ, जसले मानसिक स्फूर्ति, खुसी र प्रेरणा बढाउँछ।

त्यस्तै, दिन ढल्दै जाँदा सूर्यास्तको सौम्य प्रकाशले मेलाटोनिन स्रावित गर्न मद्दत गर्छ, जसले निद्राको गुणस्तर सुधार्छ र शरीरलाई विश्रामका लागि तयार पार्छ। यसरी सूर्यको किरणले हाम्रो जैविक घडी सन्तुलनमा राख्छ, जागरण र निद्रा, सक्रियता र विश्रामबिच प्राकृतिक तालमेल यही लयमा आधारित छ।

बिहानको घाममा केही क्षण बस्नु वा बिहानको ध्यान सूर्यको दिशातर्फ गर्नु, शरीर र मन दुवैका लागि अत्यन्त लाभदायक हुने सिद्ध भएको छ। योगमा सूर्यलाई प्राण अर्थात् जीवनशक्ति मानिन्छ। सूर्य नमस्कार योगको समग्र आसन मानिन्छ। यो केवल शारीरिक व्यायाम मात्र होइन शरीर, श्वास र चेतनाबिच एकताको ध्यानयोग हो। यो अभ्यासले स्नायु प्रणाली सक्रिय बनाउँछ, हृदय र फोक्सोको कार्यक्षमता बढाउँछ र मनलाई स्थिर र जागरूक बनाउँछ।

सूर्य र वातावरण

सूर्यले पृथ्वीको तापक्रम र मौसमी सन्तुलन कायम राखेको छ तर मानवले वातावरण प्रदूषण, वन विनाश र कार्बन उत्सर्जनद्वारा यो सन्तुलन भंग गरेको छ, जसको परिणामस्वरूप विश्व तापक्रम तीव्र भइरहेको छ। हिमनदी पग्लिनु, वर्षाको अनियमितता र चरम मौसमका घटनाहरू यसको संकेत हुन्। छठजस्ता पर्वले हामीलाई सम्झाउँछन् -साँचो पूजा भनेको प्रकृतिको संरक्षण र सम्मान हो। हामी नदीनाला प्रदूषित गर्छौं, वायु र जमिन बिगार्छौं भने हामीले पूजा गर्ने सूर्य र प्रकृतिलाई नै अपमान गर्दैछौं।

हाम्रा दैनिक क्रियाकलाप र आचरणले, हामीले प्रयोग गर्ने सामान र शैलीले प्रकृति र वातावरणमा नै असर गर्छ भने वर्षमा एकपटक व्रत, पूजा, आराधनाले वास्तविक जीवनशैली र अनुशासन दिन सक्दैन। त्यसैले हेक्का राख्नुपर्ने छ - हाम्रा धर्म, संस्कृति र संस्कार मार्फत वातावरण शुद्धता, स्वच्छता र संरक्षणमा हाम्रो एक एकजनाको भूमिका महत्त्वपूर्ण छ।

अस्तित्वप्रतिको कृतज्ञता र संरक्षण

सूर्यलाई अघ्र्य अर्पणको कर्म मानव अस्तित्वप्रतिको गहिरो धन्यवाद हो। हावा, पानी, अन्न, परिवार, प्रेम र जीवनका सबै वरदानप्रति आभार प्रकट गर्नु हो। यो शीलको अभ्यास हो, जसले हामीलाई प्रकृतिसँगको अन्तर्सम्बन्ध र निर्भरता सम्झाउँछ।

सूर्यपूजा भनेको केवल आशीर्वाद माग्नु होइन, बरु समग्र सृष्टि र मानव जातिको संरक्षण र पुनरुत्थानको कामना हो। अज्ञान, लोभ, र विनाशबाट मुक्ति अनि जीवन, चेतना, र करुणाको पुनर्जागरण गर्नु हो। ‘प्रकृति हाम्रो बाहिर मात्र होइन, हाम्रो भित्र पनि छ।’

यो बोध नै छठ पर्वबारेको आत्मगत बोध हो। आज पृथ्वीले चरम जलवायु संकट भोगिरहेको बेला, छठ पर्वको सन्देश अझ सान्दर्भिक बनेको छ। शुद्धता र संयमको जीवनशैली, प्राकृतिक तत्वहरूप्रतिको आदर ,जल, वायु, सूर्य, माटो बिचको सामुदायिक एकता र सहअस्तित्व यसको मर्म हो। त्यसैले छठ पर्व चेतनाको उत्सर्ग, आध्यात्मिक पर्यावरणको सोच अनि भक्ति र वातावरणीय सचेतनाको मिलन बन्नुपर्छ। ‘सूर्यको किरणले हाम्रो हृदय उज्यालो पारोस्, बुद्धि जागृत होस् र पृथ्वीमा सन्तुलन कायम रहोस्।’

प्रकाशित: ९ कार्तिक २०८२ ०८:०९ आइतबार