रैवार सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रिय शब्द हो। रैवारको वास्तविक अर्थ हुन्छ– खबर। राजनीतिमा भाषा र संस्कृतिले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। रैवार शब्द त्यस क्षेत्रको सर्वाधिक प्रिय शब्द भएकाले जनजिब्रोमा सहजै निस्कन्छ। यसमा असल–खराब सबैथरी खबरहरू अटाएका हुन्छन्। यो आलेखमा गत फागुन २१ गते शान्तिपूर्ण र सफल तरिकाले सम्पन्न राष्ट्रिय चुनावअन्तर्गत सुदूरपश्चिममा नेपाली कांग्रेसलगायतका दलहरूको उपस्थिति कस्तो रहन गयो, अझ विशेषगरी पूर्वप्रधानमन्त्री देउवाको अनुपस्थितिमा चुनावमा कस्तो मनोवैज्ञानिक असर पर्न गयो भन्नेबारे संक्षिप्त विवेचनाको प्रयास गरिनेछ।
सुदूरपश्चिमको भूगोल, भाषा र जनजीवनमा आधारित संस्कृति अत्यन्त फरक छ। देशका अन्य प्रान्तको राजनीतिभन्दा यो क्षेत्रको राजनीतिक संस्कार फरक भएका कारण देशभरको परिणाम राजनीतिक रूपमा जस्तो देखियो, यो प्रान्तमा सोहीमुताविक नदेखिनु स्वाभाविक छ। कुनै बेला राजनीतिक मियो मानिएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको जन्मभूमि र राजनीतिक आधारभूमि पनि सुदूरपश्चिममा भएकाले देशका अन्य प्रान्तभन्दा यहाँको राजनीतिक उतारचढाव फरक देखिनुलाई यो प्रदेशका आमनागरिक स्वाभाविक मान्ने गर्छन्।
दुई वर्षदेखि कांग्रेसमा देखापरेको आन्तरिक शीतयुद्ध, कलह र विग्रह चुनावको मुखमा आएर छताछुल्ल भएर देखियो । २०८२ पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट ध्वनिमतका आधारमा सर्वसम्मत सभापति चुनिएका गगनकुमार थापाको हस्ताक्षरसहित १६५ निर्वाचन क्षेत्रमा कांग्रेस पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिए।
नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दल पनि तयारीसाथ मैदानमा उत्रिए। राजनीतिक चहलपहल, संगीत, गायन, भाषण र संवाद सामाजिक सञ्जालमा धेरै नै देखियो तर जनमानसमा अन्य दलको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीमा केही दिन पहिले मात्र प्रवेश गरेका काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहको सुदूरपश्चिम प्रदेशमा उपस्थिति बढी देखियो।
यसैगरी कांग्रेसका सभापति गगनकुमार थापाको पक्षमा जनमत उर्लिएको देखियो। उनको तर्कपूर्ण र देशलाई गति दिने दमदार सम्बोधन सुन्न टाढाबाट हजारौं जनसमुदाय उनीतिर ओइरिए। विडम्बना ! यसपटकको घन्टीले ल्याएको हावाहुरीले सर्लाही–४ मा उनी पनि पराजित भए, जुन अस्वाभाविक परिणाम हो। बालेन शाहले झैं गगन थापाले पनि सुदूरपश्चिमी आँगनमा पाइला टेक्नुपर्थ्याे। चुनावको सम्मुखमा सुदूरपश्चिमका राजनीतिक सान मानिएका शेरबहादुर देउवा सिंगापुर जानुलाई सुदूरपश्चिमवासीले अर्थपूर्ण र उनीमाथिको अपमानको शैलीले यो चुनावलाई हेरेको संकेत पाएँ।
यसैगरी गगन थापाले सम्मानार्थ डडेलधुराबाट सांसद पदका लागि देउवालाई टिकट दिनुपथ्र्यो तर त्यसो भएन। कांग्रेसभित्रको शीतयुद्ध यति गहिरिएको देखियो कि टिकट लिएर हौसिएका सुदूरपश्चिममा शेरबहादुरपछिको उत्तराधिकारीका रूपमा आफूलाई उभ्याउन चाहने कांग्रेसवृत्त र अन्य पार्टीका उम्मेदवारहरूलाई आफ्नो धरातलमा उभिन पूर्ववत् चुनावजस्तै सहज भएन। यता राष्ट्रिय स्वतन्त्र पार्टीको आमसभामा उर्लिएको भिडले कैलाली, कञ्चनपुरवासीलाई राजनीतिक चाडझैं हौसिने मौका मिल्यो।
विशेषगरी स्वदेश र विदेशमा बसेका युवाहरू घन्टीबाहेक अन्य पार्टीको चुनाव चिह्न र राजनीतिक बहस सुन्न पटक्कै मन नपराउने पंक्तिमा उभिए, जुन कुरा मतपत्रको परिणामले देखायो। उनीहरूले कांग्रेस, नेकपा एमालेलगायतका दलहरूले शून्यबाट सुरु गरेको सुदूरपश्चिमको विकट भूगोलको भौतिक उन्नतिभन्दा सिधै ती नेताहरूले गरेको भ्रष्टाचार र कमाएको अकुत सम्पत्तिको खुलमखुला विरोध सडकदेखि चियापसल र चुल्होसम्म गरेको पनि सुनियो।
कांग्रेसको पालामा र शेरबहादुर देउवाको पालामा २०५१ सालमा शिलान्यास भएका कर्णाली नदीपारिका २२ वटा पुल, नौ वटै जिल्ला सदरमुकाममा सडक सञ्जाल, सुदूरपश्चिम विश्वविद्यालय, अत्तरिया–धनगढीमा मेडिकल कलेज, इन्स्टिच्युट, महाकालीपारिका चाँदनी–दोधारा जोड्ने हाँस आकारका पुल निर्माण, कमैया मुक्तिको विशेष कार्यक्रम, नौ वटै जिल्लामा द्रुत दूरसञ्चार सेवा, कक्षा १० सम्म निःशुल्क शिक्षा प्रणालीलगायत विकाससम्बन्धी कार्यहरूको थालनीबारे पछाडि फर्केर नवयुवाहरूले हेर्ने सोच नै नराखेको देखियो। यतिले मात्र जनतालाई गाँस, बास, कपास पुग्दैनथ्यो तर विकासको क्रम जारी थियो।
मनोवैज्ञानिक राजनीतिक प्रभाव
इतिहासका हरेक कालखण्डमा फुट्दै र जुट्दै आएको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र पछिल्लो कालखण्डमा यतिसम्म कांग्रेसीजनमा सम्बन्ध चिसियो कि तत्कालीन महामन्त्रीद्वय विशेष महाधिवेशनमा नयाँ नेतृत्वबाट चुनावमा भाग लिने पक्षमा चट्टानझैं उभिए। सभापति देउवा लचक देखिए तापनि उनका ‘रक्षा कवच’ भनिएका सात भाइबाट उनी नराम्ररी घेरिए। उनको मुख थुनियो, खुट्टामा साङ्लो बाँधियो। यो प्रपञ्च उनीहरूको देउवाको नाममा राजनीतिक दुनो आफूतिर सोझ्याउनुबाहेक अरू थिएन।
त्यसबेला नभएर गगन थापाको हस्ताक्षरसहितको टिकट लिएर व्यक्तिहरू जब चुनावी मैदानमा उभिए, बल्ल देउवाले उनीहरूको चाल बुझे। सायद यिनै विविध कारणले होला, चुनावको मुखैमा देउवा सिंगापुरतिर लागे, जसको मनोवैज्ञानिक राजनीतिक असर मेचीदेखि महाकालीसम्मका लाखौं कांग्रेसीजनमा देखापर्यो। सबैभन्दा बढी असर सुदूरपश्चिमका मतदातामा पर्यो। पाँच पटक प्रधानमन्त्री पद सम्हालेका, सात पटक डडेलधुराबाट भारी मतसाथ विजयी भएका व्यक्तिले यसरी बिदेसिनु हुँदैनथ्यो, जुन उनको अक्षम्य भुल हो।
देउवालाई टिकट नदिलाउनु गगन थापाको अर्को भुल थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेतबाहेक अन्त कतै नजानु पनि उनको भुल थियो। देउवाले एकपटक सुदूरको भूमिमा पाइला टेकेर बिपी, गणेशमान, किसुनजी, गिरिजाबाबुलाई सम्झँदै लोकतन्त्रका पक्षमा कांग्रेसीजन एक ठाउँमा उभिन आग्रह गरेका भए कांग्रेसको आधारशिला सुदूरपश्चिममा भत्किने थिएन तर त्यसो भएन। यतातिर देउवा र गगनको रिक्त स्थानमा गएर बालेनले ‘सुदूर अब दूर नाइ, झिक्क झिक्क माया तम्लाई’ भनी गीत गाउनसमेत भ्याए। संस्कृतिमा धनी सुदूरपश्चिमवासीलाई उक्त गीतले छोयो।
भदौ २३ गते जब देउवामाथि निजी निवास बुढानीलकण्ठमा जेनजी जाइलागे, उनी चुपचाप सहेर बसे, जुन उनको लोकतन्त्रप्रतिको निष्ठा थियो। घाइते भएका देउवा एकपटक पनि सुदूरको भूमिमा पुगेनन्। आरजु देउवाभन्दा शेरबहादुरप्रति जनमानस निकै सकारात्मक भए तापनि देउवाले सुदूरका चेहराहरूलाई घटनाक्रमपछि नियाल्न सकेनन्।
हिजोका दिनहरू इतिहास बने। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका आमचुनावमा देउवासँगै सुदूरपश्चिमका मालदेखि हिमाली जिल्लाका सदरमुकामसम्म मत माग्न देउडागीत गाउँदै हिँडेको सम्झना छ। जनलहर हजारौंको थियो, पूरै समाज लोकतन्त्रमय थियो। वर्तमानमा ती परिदृश्यहरू अतीत बने। अहिले कांग्रेस र नेकपा एमाले तीनतीन सिटमा सीमित रहनुपर्यो र ती सिटका पनि आफ्नै कथा र व्यथा छन्।
सुदूरपश्चिम पंक्तिकारको देउडा संस्कृति संरक्षणका लागि विगत चालीस वर्षदेखि लडिबुडी गरेको आफ्नो प्यारो भूमि हो । राजनीतिसँग पनि मेरो उत्तिकै गाढा सम्बन्ध छ। गत फागुन २१ गतेको राष्ट्रिय चुनावका बेला जन्मभूमि बझाङ पुग्ने क्रममा दुई दिन कैलालीको धनगढीमा बसें। राजनीतिका पाका व्यक्तिदेखि वरिष्ठ पत्रकार र बुद्धिजीवीहरूले नेपाली कांग्रेसको आन्तरिक कलह, देउवाको अनुपस्थिति, गगन थापाको मिसनलगायतका विषयमा गहिरो जिज्ञासा राखे।
कतिपयले देउवाको उपस्थिति अनिवार्य भएको बताए भने कतिपयले कांग्रेसलाई सिध्याउने कांग्रेस हो, भविष्य सुखद नहुने टिप्पणी गरे। डडेलधुरामा पनि यस्तै प्रतिक्रिया सुनियो। कांग्रेसको साख जोगाउन सुदूरपश्चिममा देउवालाई बोलाउनुपर्ने सुझाव धेरैले दिए। कतिपयले राष्ट्रियसभामा दिइएको टिकटप्रति असन्तुष्टि जनाउँदै जनताले यस्ता विषयको मूल्यांकन गर्ने बताएका थिए।
बझाङमा कांग्रेसका लागि प्रतिस्पर्धा गर्नु अब फलामको चिउरा चपाउनुजस्तै भएको छ। यो परिणाम अरूबाट नभई स्वयं कांग्रेसीजनको अहंकारको परिणाम हो। मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको जिल्लामा राजनीतिक चेत भए पनि संस्कारको कमी देखिन्छ। तलकोट गाउँपालिका–४ अन्तर्गत पर्ने लेकण्ड गाउँका आधा मतदाताले चुनाव बहिष्कार गर्नु सामान्य विषय होइन।
झन्डै दुईतिहाइको सरकार बन्ने तयारी छ। २०१५ सालको चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएर बिपी कोइरालाको नेतृत्वमा सरकार बनाएको इतिहास छ। बिपीले नेपालको भूबनोट र जनजीवनअनुसार विकासको खाका कोरेका थिए तर पछिल्ला अनुयायीहरूले व्यक्तिगत स्वार्थमा केन्द्रित भई बदनाम कमाए। यही परिणाम हालैको चुनावमा देखिएको छ। समग्रमा सुदूरपश्चिम प्रदेशको खुम्चिएको राजनीतिक रैवार स्पष्ट भएको छ।
प्रकाशित: ११ चैत्र २०८२ ०९:४९ बुधबार