किशोर श्रेष्ठ लामो समयदेखि नेपालका सम्मानित पत्रकारका रूपमा परिचित छन्। वास्तवमा, सन् १९९० को दशकको सुरुवाती समयमा नेपाल पत्रकार महासंघले वीरगन्जमा पत्रकार आचारसंहितासम्बन्धी पहिलो छलफल आयोजना गर्दा नेपाली पत्रकारका लागि कस्तो आचारसंहिता हुनुपर्छ भन्ने विषयमा हामीसँगै लामो समयसम्म छलफल गरेको मलाई सम्झना छ तर उनै किशोर श्रेष्ठ पछिल्लो समय विभिन्न विवादमा मुछिएका छन्।
विशेषगरी उनले सम्पादन तथा प्रकाशनसँग जोडिएको ‘जनआस्था’मा प्रकाशित सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताका विभिन्न पक्ष उल्लंघन गरेको आरोप उनीमाथि लागेको छ। जनआस्थाविरुद्ध गोपनीयताको अधिकार उल्लंघनसम्बन्धी विभिन्न मुद्दासमेत रहेका छन्।
यस्ता धेरै घटनामध्ये श्रीशा कार्कीको घटना र हाल प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरसँग सम्बन्धित, जनआस्थाले सार्वजनिक गरेका प्रसंगले गोपनीयताको अधिकार र प्रेस स्वतन्त्रतासम्बन्धी गम्भीर प्रश्न उठाएका छन्।
अमेरिकी उखानमा भनिएझैं यी दुई घटनाले अन्य धेरै घटनासँगै ‘क्यान अफ वम्र्स’ अर्थात् जटिल र गम्भीर प्रश्नहरूको ढोका खोलेका छन्, जसको प्रभाव र असर देशभर फैलिरहेको छ। अब प्रेस स्वतन्त्रताको अधिकार र व्यक्तिको गोपनीयताको अधिकारबिचको सीमारेखा स्पष्ट रूपमा कोर्न आवश्यक छ, ताकि नीतिनिर्माता होऊन् वा अन्य कुनै पेसाकर्मी, आफूले खोजेको जुनसुकै फाइदाका लागि पनि कसैले त्यो सीमा ननाघोस्।
किशोर श्रेष्ठको गिरफ्तारी र रिहाइसँग सम्बन्धित पछिल्लो घटना यस देशमा प्रेस स्वतन्त्रतासँग जोडिएको एउटा महत्त्वपूर्ण प्रसंग हो। सर्वोच्च अदालतको निर्णयलाई प्रेस स्वतन्त्रताको संरक्षणका रूपमा प्रशंसा गरिँदै गर्दा अधिकारकर्मीहरूले अर्को प्रश्न पनि उठाइरहेका छन्– श्रीशा कार्की र रुबी ठाकुरजस्तै शारीरिक तथा भर्चुअल उत्पीडन भोगिरहेका र निरन्तर भोग्न बाध्य सयौं बालिका तथा महिलाले कहिले न्याय पाउने?
श्रीशा कार्कीको सन्दर्भमा, उनको निजी जीवनसँग सम्बन्धित विषयहरू जनआस्थामा प्रकाशित गरिनुले अन्ततः उनको मृत्यु निम्त्याउने परिस्थितिमा योगदान पुर्यायो। यस घटनापछि यस विषयमा विभिन्न समाचार तथा लेखहरू पनि प्रकाशित भए। २०५९ सालमा मञ्जु थापाले कान्तिपुरमा प्रकाशित गरेका दुई लेखले उदीयमान अभिनेत्री श्रीशा आफ्नो क्षेत्रका मानिसहरू तथा नेपाल प्रहरीका केही व्यक्तिसमेतबाट पीडित बनेको स्पष्ट प्रमाण प्रस्तुत गर्छन्।
किशोर श्रेष्ठ जनआस्थासँग आबद्ध रहेको अवस्थामा जिम्मेवार पत्रकारिताको अर्थ यस घटनाको वरिपरि भएका आपराधिक गतिविधिमाथि अनुसन्धान गर्नु र एक असुरक्षित तथा उदीयमान अभिनेत्रीमाथि भएका गलत कार्यका दोषीलाई जवाफदेही बनाउनुहुन्थ्यो। दुर्भाग्यवश, स्थापित सञ्चारमाध्यम जनआस्थाले त्यसको ठिक विपरीत बाटो रोज्यो, जसले अन्ततः ती अभिनेत्रीको दुःखद मृत्युमा पुग्ने परिस्थितिलाई बल पुर्यायो।
सूचना प्रविधिको दुरुपयोग गर्ने बढ्दो प्रवृत्तिले बिस्तारै व्यावसायिक पत्रकारिताको अस्तित्वमाथि नै खतरा सिर्जना गर्न थालेको छ। दुर्भाग्यवश, पुराना र नयाँ दुवै माध्यमको अस्तित्वको संघर्ष जारी रहँदा सूचना प्रवाह र मानिसहरूले त्यसलाई बुझ्ने तथा ग्रहण गर्ने तरिका यति तीव्र रूपमा परिवर्तन भइरहेको छ कि सत्य र असत्य समाचार छुट्याउन कहिलेकाहीं लगभग असम्भव बन्न थालेको छ। डिजिटल मिडिया मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा बन्दै जाँदा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको अधिकारको संरक्षण झन् चुनौतीपूर्ण बन्दै गएको छ।
पत्रकारिताको मुख्य उद्देश्य सत्य सूचना खोजी गरेर जनतासम्म पु¥याउनु हो, ताकि मानिसहरू सूचित रहन सकून्। तर विभिन्न डिजिटल प्लेटफर्मको आगमन र तीव्र विस्तारसँगै अहिले समाचार र सूचना व्यावसायिक पत्रकार तथा सञ्चारगृहबाट मात्र होइन, इन्टरनेटमा पहुँच भएका लगभग सबै व्यक्तिबाट प्रवाहित हुन थालेका छन्। यसले शक्तिशाली व्यक्तिहरूलाई आफ्ना अजेन्डा फैलाउने अवसर दिएको छ भने निश्चित विचार र धारणा प्रवर्धन गर्न पैसा लिएर काम गर्ने इन्टरनेटमा सक्रिय व्यक्तिहरूलाई जनमत प्रभावित गर्ने माध्यम पनि उपलब्ध गराएको छ।
डिजिटल प्रविधिको प्रयोग अहिले मानिसहरूविरुद्ध प्रतिशोध लिनका लागि पनि हुन थालेको छ, चाहे ती नीतिनिर्माता हुन् वा सामान्य नागरिक। महिलाहरूको सन्दर्भमा, विशेषगरी आफ्नो पेसा वा करियरमा अगाडि बढेका र आफ्नो समुदायमा उल्लेखनीय काम गरेका महिलाहरू प्रायः उत्पीडनको निसाना बन्ने गरेका छन्।
एआईको प्रयोग गरी महिलालाई विभिन्न व्यक्तिसँग जोडेर अशोभनीय तथा अन्तरंग अवस्थाका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसको उद्देश्य उनीहरूलाई निरुत्साहित गर्नु मात्र होइन, उनीहरूले अँगालेका सिद्धान्त र मूल्यप्रति विरोध प्रदर्शन गर्नु पनि देखिन्छ।
यसले सूचना प्रवाहलाई झन् खतरनाक बनाएको छ। पूर्ण रूपमा झुटा भए पनि वास्तविकजस्ता देखिने समाचार र तस्बिर बनाउन एआईको प्रयोगले मिथ्या सूचना र भ्रामक सूचना फैलाउन सहयोग पुर्याएको छ, जसका विभिन्न नकारात्मक परिणाम देखिन थालेका छन्। यसले व्यक्तिको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ र जनमत तथा सार्वजनिक निर्णयमा ठुलो उतारचढावसमेत ल्याउन सक्छ।
पत्रकारिता क्षेत्रले पत्रकारका अधिकारको समर्थन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ तर अब प्रेस स्वतन्त्रतामा अतिक्रमण नगरी व्यक्तिका व्यक्तिगत अधिकारको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि गम्भीर रूपमा सोच्ने समय आएको छ।
पत्रकारमाथि आक्रमण हुनु तथा पत्रकार र फोटो पत्रकारका उपकरण जफत गरिनु देशको लोकतन्त्रका लागि प्रतिकूल कार्य हुन् तर सञ्चारमाध्यमको सस्तो लोकप्रियताका लागि व्यक्तिमाथि, विशेषगरी महिलामाथि, आक्रमण गर्नु वास्तवमा पत्रकारिताका आधारभूत सिद्धान्त र सूचनाको स्वतन्त्र प्रवाहविपरीत हो। यसका लागि सन्तुलन आवश्यक छ, जुन शासन प्रणाली र सूचना प्रवाहका सबै पक्षमा उचित नियन्त्रण तथा सन्तुलन कायम गरेर हासिल गर्न सकिन्छ।
सार्वजनिक पदमा रहेका व्यक्तिहरू जनताप्रति जवाफदेही हुन्छन् र सूचनाको हकसम्बन्धी कानुनअनुसार आवश्यक सूचना उपलब्ध गराउनुपर्छ। तर कुनै व्यक्तिको निजी जानकारी खोज्ने क्रममा एउटा प्रश्न अनिवार्य रूपमा उठाउनुपर्छ - त्यो जानकारी जनताका लागि कति उपयोगी छ ? अथवा त्यसले कुनै निश्चित स्वार्थ समूहको स्वार्थ पूरा गर्न पीडित र बाँचेकाहरूलाई ध्वस्त पार्ने काम मात्र गरिरहेको छ?
यसको उद्देश्य सस्तो लोकप्रियता कमाउनु र व्यक्तिको जीवन ध्वस्त पार्नु हो, विशेषगरी महिलाहरूलाई निशाना बनाउनु हो भने यसलाई आपराधिक गतिविधिका रूपमा हेर्नुपर्छ। नेपाल सरकारसँग नागरिकको संरक्षणका लागि विभिन्न कानुनी व्यवस्था छन् र बालिका तथा महिलाको सुरक्षाका लागि विशेष प्रावधानसमेत रहेका छन् तर कार्यपालिका र न्यायपालिका दुवैलाई प्रायः शक्तिशालीको संरक्षणमा केन्द्रित भएको देखिँदा सबैभन्दा कमजोर र जोखिममा रहेका व्यक्तिहरूको संरक्षण गर्न केले रोकेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक छ।
आजको संसारमा सूचनामा पहुँच अत्यन्त सहज बनेको छ भने हानिकारक सूचनाको प्रवाह पनि उत्तिकै सजिलो भएको छ। त्यसैले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै, विशेषगरी बालिका र महिलामाथि भर्चुअल माध्यममार्फत हुने चरित्रहत्या र अपमानको संस्कृतिलाई कसरी अन्त्य गर्ने भन्ने विषयमा तत्काल राष्ट्रियस्तरको अभियान सञ्चालन गर्न आवश्यक छ।
हरेक दिन विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा एआईबाट सिर्जित अशोभनीय तस्बिरहरू प्रसारित भइरहेका छन्, जसले नैतिक सूचना प्रवाहका सिद्धान्तको उल्लंघन गर्छन्। लैंगिक हिंसाका पीडित तथा प्रभावितमाथि हुने दण्डहीनताको संस्कृति, विशेषगरी मानिसको निजी विषय सार्वजनिक गर्ने प्रवृत्ति र यसमा पनि बालिका तथा महिलालाई बढी निसाना बनाउने कार्यलाई अन्त्य गर्नुपर्छ। यो सिद्धान्त अनलाइन माध्यमबाट हुने उल्लंघनका घटनामा पनि समान रूपमा लागु हुनुपर्छ।
प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका महत्त्वपूर्ण आधारस्तम्भ हुन्। तर यी स्वतन्त्रता कसैको गोपनीयतामाथि हस्तक्षेप गर्ने, उसको मर्यादा र प्रतिष्ठा ध्वस्त पार्ने वा भर्चुअल उत्पीडनलाई दण्डहीनतासहित निरन्तरता दिने बहाना बन्न सक्दैनन्। अब सूचना दिने स्वतन्त्रता कसैलाई हानि पु¥याउने स्वतन्त्रतामा परिणत नहोस् भन्ने सुनिश्चित गर्ने समय आएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १०:२३ शुक्रबार