विचार

राज्यविहीनहरूको राष्ट्र

विश्व अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट भयावह र त्रासदीपूर्ण अवस्थामा छ । गत २०१९डिसेम्बर अन्त्यतिर पहिलोपटक चीनको उहानमा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म २ सय ८ राष्ट्रमा फैलिसकेको छ । जसबाट लाखौं मानिस संक्रमित भइसकेका छन् भने हजारौं जनाको मृत्युसमेत भइसकेको छ । हामीकहाँ अहिलेसम्म यसबाट थोरै मानिस मात्रै संक्रमित देखिएका छन् भने मृत्यु कसैको भएको छैन । तापनि खुला सिमाना जोडिएको छिमेकी राष्ट्र भारतमा संक्रमितको सँख्या बढी रहेको र मृतकसमेत सयौं पुग्न लागेको अवस्थाले त्रास बढाएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न सावधानी अपनाउने, लकडाउनको समयावधि थप्ने, सम्भावित संक्रमितको परीक्षण तथा रोकथामका अन्य उपाय लागू गरिएका छन् । आशा गरौं– यस्तै सामान्य अवस्था रहिरह्यो भने हामीले बाहिरी विश्वमा जस्तै कोरोना भाइरसका कारण दर्दनाक अवस्था बेहोर्न पर्ने छैन । 

यस्तो संकटका बेला,भारत, खाडीलगायत विश्वका विभिन्न मुलुकमा श्रम गरिरहेका तथा उच्च शिक्षा अध्ययन गरिरहेका नेपालीले आफ्नो देश फर्किने इच्छा राख्नु स्वाभाविकै हो । भनिन्छ नि–‘चरा पनि दिनभर जहाँ डुले पनिबास बस्न बेलुकी गुँडमै फर्किन्छ ।’ आपत्का बेलाआफ्नो घर (स्वदेश) फर्किन पाउनु नागरिकको नैसर्गिक अधिकार हो । यो राज्यमा कसैको बहुमतको जातीय सत्ता मनमौजी चलेको होला, तरराष्ट्र त राज्यविहीनहरूको पनि हो ।

विश्वमाप्राचीन–आदिमकालदेखि नै दुई खालका विभेद छन् । ती हुन्– वर्गीय र वर्णीय (जातीय) विभेद । माक्र्सवादका पिता कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा सन् १८४८ मा जारी विश्व चर्चित कम्युनिस्ट घोषणापत्र (द कम्युनिस्ट मेनिफेस्टो) मा भनिएको छ–‘विश्वको आजसम्मको सम्पूर्ण इतिहास वर्ग सँघर्षको इतिहास हो ।’ 

हेक्का रहोस्, यो राष्ट्र, नेपाल राज्यविहीनहरूको पनि हो । राज्य (सत्ता) जोसुकैले सम्हालोस्, तर राष्ट्र सबैको साझा हो ।

इतिहास भन्छ–वर्णभेदभन्दा वर्गीय विभेद जेठो हो । जब प्राचीन–आदिमकालमा मानिसघरबार,कृषि,उत्पादन,समाज र पशुपालनको युग वा अवस्थामा पुगे– बलियाले निर्धाको भाग खोसेर÷लुटेर खाने प्रचलन सुरु भयो । भनाइ नै छ–‘जसको शक्ति, उसैको भक्ति ।’ ताकतका भरमा खान,लुट्न,उपभोग गर्न,मोज गर्न,राज्य गर्न,सत्ता चलाउन र बलपूर्वक अन्यको राज्यमा हस्तक्षप गरी साम्राज्य स्थापना गर्न पाइने भयो । शास्त्रमा वर्णन गरिएअनुसार (पूर्वीय दर्शनमा इतिहास भनेकै वेद,पुराण,स्मृतिर धार्मिक शास्त्रआदि नै हुन् ।) ताकतका भरमा उपभोग गरिने वस्तु थिए–पशुपक्षी,कृषिउत्पादन, गाईवस्तुका चरण र स्त्री आदि । त्यही बेलाको अनुभवका आधारमा शास्त्रमा लेखिएको होला–‘वीर भोग्या वसुन्धरा ।’

प्राचीन–आदिमकालमै मानिस समुदायगत रूपमा विभाजन भए । त्यसपछि मात्रै वर्णभेदको सुरुवात भयो । महिला भने शारीरिक शक्तिका हिसाबले पनि पुरुषभन्दा कमजोर हुने हुनाले वर्ग र वर्ण दुवै खालका विभेदका सिकार भए । समुदाय– मानिसले मात्रै होइन,प्रकृतिले पनि विभाजन वा भिन्न बनाइदिएको कुरा हो । प्राकृतिक बनोट बमोजिमै कोही काला,कोही गोरा,कोही अग्ला,कोही होचा,कोही नाक चुच्चे त कोही थेप्चे इत्यादि भए । त्यति मात्रै होइन, छाला,अनुहार र शरीर तथा प्राकृतिक बनोटले फरक नभएका वा छुट्याउन नसकिने समुदायबीच पनि शासकले विभेदका कृत्रिम पर्खाल सिर्जना गरिदिए । भगवान्को काल्पनिक विम्ब र मिथक बनाउँदै छलपूर्वक आफ्ना वंश, भाषा,सँस्कृति,रीति र आफ्नो मात्रै सभ्यता उत्तम रहेको नाटकीय इतिहास निर्माण गर्नसमेत तिनले लाज मानेनन् । जसको नश्लीय(रेसियल ) पृथकता विज्ञानले समेत छुट्याउन नसक्नेभए तापनि मानिसबीच त्यस्ता कृत्रिम विभेद यथावतै छन् ।

शासक जाति वा वर्गले आफ्नो ताकत र बर्कतले राज्य–सत्ता निर्माण गरे । आजको विश्वमा सबैभन्दा बढी जनसहभागिता,जनाधार, जनबलद्वारा सञ्चालन गरिने सर्वाेत्तम व्यवस्था भनेर लोकतान्त्रिक शासनलाई मान्ने गरिन्छ । बहुमत नागरिकको मताधिकारको बलमा सरकार बनाइने र त्यस्तो निर्वाचन पनि अध्यावधिक भइरहने व्यवस्था हो–लोकतन्त्र । अर्थात् एकपटक मताधिकारसहित निर्माण भएको सरकार अनन्तकालका लागि हुँदैन । बरु सँविधानले तोकेको समयमा आवधिक निर्वाचन हुन्छ र त्यति बेला जनमत प्राप्त गर्न सक्नुपर्छ । अन्यथा, अन्य समूह÷दलले सत्ता नेतृत्व गर्न सक्छ । यसकारण पनि लोकतन्त्रमा दल– नागरिकप्रति बढी जिम्मेवार हुनैपर्ने हो । 

जनता भने सधैं बबुरा नै रहन्छन् ।किनभने उनीहरूसँग नागरिक हुन नागरिकताको प्रमाणपत्र हुँदैन, जसका कारण मताधिकार पाउँदैनन् । चुनावमा भोट नै हाल्न नपाउने जनता कसरी नागरिक ?ज्ञातव्य रहोस्, जनताको राज्य–सत्ता नहोला,तर राष्ट्र उनीहरूको पनि हो ।

लोकतन्त्रका नाउँमा त्यस्ता वर्गविभेदी,वर्णभेदी, लिंगभेदी, क्षेत्रीयवादी र जातिवादी व्यक्ति,समूह र राजनीतिक पार्टीनिवार्चित भई सत्ता भोग गरिरहन्छन् रनागरिकबाट निर्वाचत भएका आधारमा जनता र नागरिकका नैसर्गिक हकको बलि चढाइरन्छन् । नेपालमा मात्रै होइन, उन्नत कतन्त्र प्रयोगमा आइसकेका देशमा समेत यस्तै छ– यो युगको समानता,लोकतन्त्र र नागरिक स्वतन्त्रताको हालत !

जसरी पनि सत्ता !
वि.सँ.२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘असक्षम’ भनी प्रधानमन्त्री पदबाट हटाइएका कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवालाई २०६१ सालमा पुनः त्यही पदमा पुनर्बहाली गराए । सोही बेला प्रतिगमन आधा सच्चिएको भन्दै वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा देउवा नेतृत्वको ज्ञानेन्द्र सरकारमा एमालेपनि सहभागी भयो । स्मरणीय छ– ‘गोर्खाली राजाले न्याय दिएको’ बताउने देउवानेतृत्वको त्यो सरकारमा मूल कांग्रेसर सभापति गिरिजाप्रसाद कोइराला भने सहभागी हुन मानेनन् ।कांग्रेससँसद् पुनस्र्थापनाको मुद्दामा अडिग भइरह्यो ।

राष्ट्रमा माओवादी द्वन्द्वका कारण कांग्रेस र एमालेका ग्रामीण र स्थानीय  नेता÷कार्यकर्ता मारिँदै थिए । बचेका जति सबै जिल्ला सदरमुकाम र काठमाडौंतिर विस्थापित र केन्द्रित हुन विवश थिए । कांग्रेस,एमालेलगायत सँसदीय दल– राजाको निरंकुश सत्ता र माओवादी हत्या,हिंसाको जटिल राजनीतिबीच कुहिराको काग झैं रुमलिएका थिए । 

माओवादीको शीर्ष नेतृत्व पंक्ति पनि ‘मालिकसँग मात्रै निर्णायक वार्ता गर्ने’ भन्दै सँसदीय दललाई लत्याएरै राजासँग सत्ता साझेदारीको पहलमै ध्यान केन्द्रित गर्दै थियो । तर पिएलए तथा कार्यकर्ता भने नौलो जनवादी क्रान्ति पूरा गरी समानताको युग ल्याउने दिवास्वप्न देख्दै लडिरहेका÷मरिरहेका थिए । माओवादी नेतृत्वमा राजासँग मिलेर दललाई विस्थापन गर्दै दीर्घकालीन निरंकुश सत्ता सञ्चालन गर्ने गोप्य उद्देश्य रहेको भेद हाल खुलिसकेकै विषय हो । यसरी मुखले लोकतन्त्र÷गणतन्त्र भन्ने गरेका भए तापनि जसरी हुन्छ, सत्ता प्राप्ति माओवादी नेतृत्व पंक्तिको प्रमुख राजनीतिक÷रणनीतिक उद्देश्य रहेको बुझ्न कसैलाई कठिन भएन । आधा प्रतिगमन सच्चिएको भन्ने,एमालेका प्रमुख नेताहरूको पदका निम्ति राजासँग बिन्तीपत्र÷मोहर चढाएकोदेखि राजालाई खुसी पार्ने र माओवादीलाई देखाएर ‘पोलिटिकल थ्रेट’ प्रयोग गर्नेसम्मकाक्रियाकलापले एमालेको उद्देश्य जहिले र अहिले पनि ‘जसरी पनि सत्ता’ रहेको स्पष्टै छ ।

कोरोना भाइरसले विश्वभरझैं नेपालमा पनि गरिखाने वर्गका लागि कठिन चुनौती सिर्जना गरिदिएको छ । यतिबेला श्रमजीवी,गरिब र निमुखा जनतालाई रोगले भन्दा भोकले मर्ने डरले सताइरहेको छ ।  भनिएको छ–‘सामाजिक दूरी कायम राखौं ।’ लकडाउन वा बन्दाबन्दीले हुँदाखाने वर्गको निद्राभगाएको छ । सेवा,श्रम,पर्यटन,उद्योग,व्यापार,व्यवसाय,रोजगारदाता आदि क्षेत्र प्रायः ठप्प छन् । दिनभरि मजदुरी गरी साँझ–बिहान छाक टार्ने जनताको गाँस खोसिएको छ । यस्तो अवस्थामा सरकार भने भ्रष्टाचार र अनियमितता गर्ने अवसरको खोजीमा देखिएको छ । प्रधानमन्त्रीकै सचिवालयभित्रका व्यक्ति,मन्त्री आदि प्रत्यक्ष भ्रष्टाचारमा मुछिँदासमेत कार्बाही गनुको साटो प्रधानमन्त्रीले उल्टै बचाउ गर्नुले उनी आफैं भ्रष्टाचारका मुख्य नाइकेभएको रहस्य खुल्छ ।

जनता– कसले कति भ्रष्टाचार र अनियमितता गरे भन्ने कुरा तथा सत्ता स्वार्थ÷शक्तिको खेल पनिबुझ्दैनन् । आफूहरू किन गरिब,निमुखा र कमजोर भयौं, त्यो पनि बुझ्दैनन् । कोरोना भाइरसले निम्त्याएको विश्व शक्ति–राष्ट्रको स्वार्थ–संघर्ष र अर्थ–राजनीतिमा पनि उनीहरूलाई चासो हुँदैन । तर नागरिकको काम र कर्तव्य– नेतालाई भोट हाल्नु मात्रै होइन । सरकार– नेकपा,नेकपा अध्यक्ष केपी ओली नेतृत्वकै हो । अनि हो, राज्य– शक्तिशाली,शासक र कथित उच्च समुदायकै नेतृत्वको । तर हेक्कारहोस्, यो राष्ट्र,नेपाल राज्यविहीनहरूको पनि हो। राज्य (सत्ता) जोसुकैले सम्हालोस्, तर राष्ट्र सबैको साझा हो । यो सत्य ओली–पोखरेलहरूले मनन गरुन् । र, अप्ठेरो,महामारी,भोकमरी र संकटमा राज्यविहीनहरूका निम्ति पनि काम गरुन् ।

प्रकाशित: १५ वैशाख २०७७ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %